फिचरसमाचार

इसीडीमा सिकाउने कि पढाउने ?


काठमाडौं – प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी)मा बालबालिकालाई सिकाउने हो कि पढाउने भन्नेमै शिक्षकहरु अनविज्ञ रहेका विज्ञहरुले बताएका छन् ।

इसीडीमा बालबालिकाहरुलाई पाठ्यपुस्तक पढाउने, गृहकार्य दिने, अंग्रेजी घोकाउने कार्य भइरहेको भन्दै उनीहरुले त्यो इसीडीको मर्म विपरीत भएको बताएका छन् ।

इसीडीे पाठ्यक्रमको परिकल्पना बालबालिकहरुलाई सिकेको भन्ने थाहै नपाई खेल्दै, रमाउँदै अंक अक्षर सिक्नुपर्ने भएपनि उनीहरुलाई अंक र अक्षर रटाउने र घोकाउने गरिएको भन्दै उनीहरुले आपत्ति जनाए । इसीडीमा अध्यापन गर्ने शिक्षक तालिम प्राप्त र दक्ष नहुँदा विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी हुन नसकेको उनीहरुको दावी थियो ।

विना प्रतिस्पर्धा इसीडीका शिक्षक नियुक्त गरिएका कारण कक्षामा बालबालिकाको सिकाईमा समस्या आएको भन्दै विज्ञहरुले इसीडी शिक्षकलाई कक्षाम जानभन्दा पहिले कम्तीमा तीन या छ महिनाको बाल स्वाभाव मनोविज्ञानबारे तालिम आवश्यक भएको बताए ।

शिक्षा पत्रकार समूह र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मंगलवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले बालबालिका शिक्षाको प्रवेशद्वार नै इसीडी भएको हुँदा राज्य समुदाय, स्थानीय तह र अभिभावक समेतको संयुक्त प्रयासमा यसलाई अगाडि लैजानु पर्ने औंल्याए ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरि लम्सालले सरकार, स्थानीय तह, अभिभावकको संयुक्त प्रयासबाट इसीडीको कक्षा सञ्चालन गर्न सकिए त्यो दिगो र प्रभावकारी हुने बताउनुभयो । मुख्य विषय इसीडीलाई कसरी गाउँ गाउँ पुर्याउन सकिन्छ भन्ने नै हो भन्दै लम्सालले त्यसका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयका बीच समन्य र एकीकृत स्वरुप बारे ठोस कार्यनीति बनाउन बाँकी रहेको बताउनुभयो ।

सहसचिव लम्सालले मुलुक संघीय संरचना गइसकेको अवस्थामा इसीडीका बालबालिकाको शिक्षा र समग्र व्यक्तित्व विकासका लागि गाउँपालिका र नगरपालिकाको भूमिका मुख्य हुने भन्दै लम्सालले नगरपालिका र गाउँपालिकाबाट यस खालको सेवा कसरी प्रवाह गर्ने भन्ने नै अवको मुख्य चुनौतीका रुपमा रहेको बताउनुभयो ।

शिक्षा विभागका इसीडी शाखाका प्रमुख हरि खनालले प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी) लाई विद्यालय र स्थानीय निकायले पनि स्वामित्व लिन नसक्दा समस्या आएको बताउनुभयो । इसीडीमा बालबालिकाको सर्वाङ्गिण विकास हुनुपर्नेमा अभिभावकहरुले भने धेरै भन्दा धेरै कुरा सिकाउन दबाब दिँदा समस्य आएको बताउनुभयो ।

इसीडी विज्ञ डा.किशोर श्रेष्ठले शिक्षाको प्रवेश द्वार नै इसीडी भएको र सामुदायिक विद्यालयले विगतमा यसको सञ्चालनमा ध्यान नदिएका कारण हाल ती विद्यालयमा विद्यार्थीको उपस्थिति न्युन हुन गएको बताउनुभयो । विद्यालयमा औपचारिक अध्ययनको अवधिभन्दा अगाडिको अवधिका रुपमा लिइने भएकोले इसीडीलाई महत्व दिनुपर्नेमा उहाँको जोड थियो ।

इसीडी विज्ञ डा. बाबुराम अधिकारी इसीडीमा बालमैत्री वातावरणमा बालबालिकाहरुलाई रमाउन दिनुपर्नेमा अभिभावकको दवाव र शिक्षकहरुको अज्ञानताका कारण अनावश्यक गृहकार्यको बोझ दिइने गरिएको बताउनुहुन्छ । यसले उनीहरुमा विकास भन्दा तनाव बढेको उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका फणिन्द्र पौडेलले शिक्षा मन्त्रालय एक्लैले इसीडीको स्वामित्व लिन नसक्ने भन्दै यो १६ मन्त्रालयसँग सम्बन्धित रहेको बताउनुभयो । शिक्ष्, स्वास्थ्य, स्थानीय विकास, कृषि, महिला तथा बालबालिकालगायतका १६ मन्त्रालयको सहकार्य र आपसी सहयोगमा मात्रै इसीडीको विकास र विस्तार सम्भव हुने उहाँको भनाई थियो । विद्यलय सुशासन कमजोर हुँदा इसीडी पनि कमजोर भएको भन्दै उहाँले इसीडीमा नयाँ कानुन भन्दा पनि भइरहेको कानूनकै सहि कार्यान्वयन अवश्यक रहेको बाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रकी सांसद निशा साह, नेपाली कांग्रेसकी सांसद जीवन परियार, नेकपा एमालेका सांसद सिन्धु जलेसा, एनसीई नेपालका अध्यक्ष कुमार भट्टराइ, सामुदायिक विद्यालय व्यवस्थापन महासंघका देवि खड्का, काठमाडौं महानगरपालिकाका उमेशकुमार मेहता, शिक्षा पत्रकार सुदर्शन सिग्देल लगायतले इसीडीको प्रभावकारी व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मिनाक्षी दाहालले इसीडी सम्बन्धमा प्रस्तुती दिनुभएको थियो ।

मुलुकभरका इसीडीमा हाल ३८ हजार ८८४ जना अध्यापक कार्यरत रहेका छन् उनीहरूले मासिक छ हजारमा अध्यापन गर्दै आएका छन् ।

Facebook Comments

दुबै हातमा औंला नभए के भो र !

Previous article

प्रधानमन्त्रीले चाहे मात्रै शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने

Next article