कपिलवस्तुमा कक्षा १० मा विद्यालय छाड्ने विद्यार्थीको तथ्यांक डरलाग्दो देखिएको छ । जिल्लामा सात महिनामा ४ सय १९ विद्यार्थी कक्षा १० बाट हराएका छन् । यो परीक्षा दिनका लागि असार महिनामा फारम भरेका कुल विद्यार्थी संख्याको ६ दशमलव ३९ प्रतिशत हो ।
जिल्ला शिक्षा कार्यालय, कपिलवस्तुका अनुसार असार महिनामा जिल्लाका १ सय ८ विद्यालयबाट ६ हजार ५ सय ८७ जना विद्यार्थीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि फारम भरेका थिए । त्यसमध्ये ४ सय १९ जनाले विद्यालय छाडेको जानकारी शिक्षा कार्यालयमा आएको छ । यो २०७३ असारदेखि फागुन महिनाको ५ गतेभित्रको रेकर्ड हो । कुनै–कुनै विद्यालयबाट अत्यधिक संख्यामा विद्यार्थीले कक्षा १० को पढाइ छाडेको देखिएको छ । गौतमबुद्ध मावि, गोरुसिंङेबाट मात्रै ५६ जना विद्यार्थीले कक्षा १० छाडेका छन् । कक्षा १० को परीक्षाका लागि १६८ जना विद्यार्थीले फारम भरेकोमा १ सय १२ जना मात्रै माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदै गरेको प्रधानाध्यापक रामप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यस विद्यालयको कक्षा १० छाड्ने विद्यार्थीको प्रतिशत ३३ दशमलव ३३ हुन आउँछ । छात्राहरु विवाह भएर र छात्रहरु रोजगारी र गलत संगतका कारण कक्षा छाडेको प्रधानाध्यापक अर्यालले बताउनुभयो । त्यस विद्यालयबाट विद्यार्थीले कक्षा छाड्ने गरेको घटना यो पटक मात्र होइन । प्रधानाध्यापक अर्यालका अनुसार २०७० सालमा करिव ३५ जना, २०७१ मा ५० जना र २०७२ सालमा ३२ जनाले कक्षा छाडेका थिए ।
अर्को विद्यालय छत्रपाली मावि पकडीबाट पनि २१ जना विद्यार्थीले कक्षा १० पढ्न छाडेका छन् । विद्यालयका लेखापाल शम्भुप्रसाद कुर्मीले १ सय ७९ जनाले फारम भरेकोमा १५८ जनाले मात्र कक्षा १० को परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । उहाँले फारम भरेकामध्ये अद्र्धवार्षिक परीक्षासम्म १ सय ६८ विद्यार्थी रहेकोमा अहिले तीमध्ये पनि १० जनाले विद्यालय छाडेको जनाउनुभयो । ती १० जनामा ४ जना छात्र र ६ जना छात्रा छन् । कक्षा १० को परीक्षामा विगतका सालहरुमा पनि विद्यार्थीहरुले बीचमै कक्षा छाडेका कारण सहभागी नहुने गरेको कुर्मीको भनाइ छ ।
विद्यालय छाड्नेमा छात्राको संख्या अत्यधिक छ भने थारु र कक्षा छाड्नेमा जनजातिका विद्यार्थीको संख्या बढी छ । छात्राहरुले विवाह र घरायसी कारणले विद्यालय छाडेका छन् भने छात्रहरुले वैदेशिक रोजगार, कुलत र गलत संगतका कारण विद्यालय छाड्ने गरेको शिक्षकहरु बताउँछन् । अभिभावकको गैरजिम्मेवारीपन, शिक्षकबाट विद्यार्थी केन्द्रित कक्षा क्रियाकलापको अभाव, मोबाइलको गलत प्रयोग पनि विद्यालय छाड्नुका कारण रहेकोे शिक्षाकर्मीको भनाइ छ ।
शिक्षा कार्यालय, कपिलवस्तुका उप जिल्ला शिक्षा अधिकारी तथा परीक्षा शाखा प्रमुख थानेश्वर ज्ञवालीले जिल्लाका १ सय ८ विद्यालयबाट कुल ६ हजार १ सय ६८ जना कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । उहाँले जिल्लामा कक्षा १० को फारम भरेका मध्ये ४ सय १९ विद्यार्थी ड्रप आउट भएको देखिएको र ती विद्यार्थी कहाँ गए भन्ने विषयमा सोधखोज गर्दा र रेकर्ड हेर्दा विवाह, रोजगारी र घरायसीमा अल्झिएको तथ्य दोखाउनुभयो । ज्ञवालीका अनुसार ड्रप आउट हुनेमा थारु जातिका बालबालिका बढी देखिएका छन् । देशभर कक्षा कक्षा १० को परीक्षा आउँदो ३ चैतदेखि सञ्चालन हुँदैछ ।
कपिलवस्तुमा गैरसरकारी संघ–संस्थाहरुले शिक्षा क्षेत्रमा विभिन्न नामको कार्यक्रममा ठूलो रकम खर्च गरेपनि यस विषयमा चासो पुगेको देखिँदैन । त्यस्ता संस्थाहरु न यस विषयमा सोधी–खोजी गर्छन्, न त कार्यक्रमलाई नै लक्षित गर्ने गरेका छन् ।