यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षालाई सघाउन राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरुलाई पुनः आह्वान गर्ने तयारी गर्दैछ ।
जारी शिक्षक आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले विकसित नयाँ परिस्थितिमा बोर्डको आज बसेको बैठकले परीक्षा निर्धारित मितिमै हुने निर्णय गरेको थियो । यद्यपि, परीक्षा गराउने मुख्य कर्ता शिक्षकहरु आन्दोलनमै रहेकाले बोर्डले सघाउन आजै साँझसम्म विज्ञप्ति जारी गरी पुनः आग्रह गर्ने भएको छ ।
नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल गर्दै आन्दोलनलाई तीब्रता दिइरहेका बेला परीक्षा निर्धारित समयमै गर्ने बोर्डको निर्णयलाई कार्यान्वयन गरेर देखाउन शिक्षकहरुले चुनौती दिएका छन् । परीक्षा गराउने निर्णयलाई बोर्डले अहिलेसम्म विज्ञप्ति जारी गरी सार्वजनिक गरिसकेको छैन । विद्यालयका शिक्षक संलग्न नभएमा निजामती कर्मचारी, क्याम्पसका शिक्षक तथा जिल्ला परीक्षा समन्वय समितिमार्फत् परीक्षा सञ्चालन गरिने समाचार आएपनि बोर्ड त्यो पक्षमा नरहेको अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
‘हामी शिक्षकहरुकै सहयोगमा परीक्षा सम्पन्न गर्ने योजनामा छौं, यसबारे भरेसम्म विज्ञप्तिमार्फत् आह्वान गर्नेछौं,’ उनले आजको शिक्षासित भने ।
‘हामी शिक्षकहरुकै सहयोगमा परीक्षा सम्पन्न गर्ने योजनामा छौं, यसबारे भरेसम्म विज्ञप्तिमार्फत् आह्वान गर्नेछौं ।’
डा. महाश्रम शर्मा, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
बोर्डले प्रधानमन्त्रीसित सहयोग माग्यो
शिक्षकहरु आन्दोलनमा रहिरहेका बेला परीक्षा गराउने निर्णयमा पुग्नुमा बोर्डकै जोडबलमा भन्दा पनि सरकारका मुख्य सचिवलगायतले परिस्थितिको सही आँकलन नगरी परीक्षा सञ्चालन गर्नैपर्ने मत राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारी भन्छन्, ‘शिक्षा मन्त्रालयका अधिकारीहरु पनि शिक्षकको मद्दतविनै परीक्षा लिनैपर्ने पक्षमा देखिएपछि बोर्डले पनि परीक्षा लिने निर्णयमा जानुपरेको हो ।’
निर्धारित समयमै परीक्षा गराउने निर्णय लिइसकेपछि बोर्डले अहिले प्रधानमन्त्री तथा गृह मन्त्रालयसँग सहयोग मागिरहेको बताइएको छ । परीक्षा सञ्चालन कसरी गर्ने भन्ने सम्बन्धमा बोर्डले प्रधानमन्त्रीको वचन पर्खिरहेको पनि स्रोतले बतायो ।

‘हामी शिक्षकहरुकै सहयोगमा परीक्षा सम्पन्न गर्ने योजनामा छौं, यसबारे भरेसम्म विज्ञप्तिमार्फत् आह्वान गर्नेछौं ।’








