गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा एनजी (नन ग्रेडेड) भएका परीक्षार्थीका लागि मौका (पूरक) परीक्षा यही असोज ७ र ८ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले समयतालिका संशोधन गर्दै मंंगलबार परीक्षाको सूचना सार्वजनिक गरेको हो ।
समय कार्यतालिकाअनुसार परीक्षा बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म हुनेछ ।
वैशाखको परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्नेले मौका परीक्षा दिन पाउँनेछन् ।
यस्तै, सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीले पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यसैगरी, सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी ल्याएका अथवा कुनै एक विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले सूचित गरेको छ ।
असोज ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषयमा जाँच हुनेछ । यस्तै, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा दिने विषयहरुमध्येको सानो कोड नं भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुबै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ ।
यसैगरी, असोज ८ गते हुने परीक्षामा दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नं भएकाहरुले जाँच दिनेछन् । यो दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा नहुने बोर्डले जनाएको छ ।
बोर्ड यही भदौ २८ र २९ गते तोकेको मौका परीक्षा जेन्जी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरेको थियो ।










