आर्थिक अवस्था अति कमजोर भएकै कारण पढाइलाई निरन्तरता दिन नसकिरहेका बालबालिकालाई निजीक्षेत्रमा संलग्न व्यावसायीहरूले सहयोग गर्नाले उनीहरू विद्यालयको पहुँचमा पुनः जोडिन पाएका छन् ।
सेभ द चिल्ड्रेन तथा उसको साझेदार संस्थाहरूको पहलमा स्थानीय तह, बालबालिकाको अभिभावक र निजीक्षेत्रका व्यावसायीबीच सम्झौता गरी यस प्रकारको सहयोग गर्ने गरिएको छ । यसमा दैलेखको आठबीस नगरपालिकामा आधारभूत तहका विद्यार्थीलाई र अरु पालिकाहरूमा माध्यमिक तह तथा त्यसभन्दा माथिको शिक्षा पढ्न सहयोग गरिँदै आएको छ ।
यतिबेला कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पालिकाहरूमा पढाइमा निजीक्षेत्रको सहयोग गर्ने कार्यक्रम शुरु गरिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण, दुल्लु र आठबीस नगरपालिका तथा अछामको मंगलसेन नगरपालिकामा यो प्रकारको बर्सरी छात्रवृत्ति कार्यक्रम शुरु गरिएको हो ।
निम्न आर्थिक अवस्था भएका बालबालिकाको विद्यालयमा पहुँच पुर्याउन उनीहरूको शिक्षालाई निरन्तरताका निम्ति सेभ द चिल्ड्रेनले आफ्नो अतिरिक्त अन्य स्रोतहरूको जोहो गराउने रणनीति अनुरुप यो कार्यक्रम अघि सारेको देखिन्छ । निजीक्षेत्रसँग साझेदारी गरी त्यस प्रकारका बालबालिकालाई शिक्षा दिलाउनु सो कार्यक्रमको मुख्य लक्ष्य हो ।
विद्यार्थीलाई दाताबाट वार्षिक ४ हजारदेखि १२ हजार रुपैयाँसम्म प्रदान गरिन्छ । यस्तो सहयोग आठबीस नगरपालिकामा छजनाले पाएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा तीनजनाले । नगरपालिकाले विद्यार्थीले पाएको रकम उचित ठाउँमा खर्च भए/नभएको अनुगमन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
निजी रुपमा व्यापार–व्यावसाय चलाइरहेकालाई ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत सहयोग गर्न आग्रह गरिन्छ । विद्यालय एवं साझेदार संस्थाका प्रतिनिधिहरूले सो आग्रह गरेपछि निजीक्षेत्रका व्यावसायी सहयोगका लागि सहमत हुन्छन् र सम्झौता प्रक्रिया अघि बढ्ने गर्छ ।
नारायण नगरपालिका–८, दैलेखका सरोज बोहराले तीनवर्षे इञ्जिनियरिङ डिप्लोमा पढ्न सहयोग पाएका छन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । एसइइपछि पढ्न सक्ने अवस्था थिएन । बोहोरा भन्छन्, ‘मलाई सहयोग गरिएको रकमले पढ्न सहज भएको छ । कमसेकम किताब, कापी, ड्रेसका लागि यो सहयोगले पुगेको छ ।’ यस्तै, नेपालगञ्ज निवासी शान्ति चिढिमारलाई कक्षा ११–१२ पढ्नका निम्ति सहयोग गरिएको थियो ।
विद्यालयले आर्थिक रुपमा कमजोर परिवारलाई पहिचान गर्छ । बाँकेमा विद्यालय र सेभ द चिल्ड्रेन एवंसाझेदार सामाजिक विकास मञ्च तथा दैलेखको नारायण र दुल्लु नगरपालिकामा सेभसँगै एभरेष्ट क्लब र सुर्खेतमा स्याक नेपाल जस्ता संस्थाहरूको अनुरोधमा माध्यमिक तहका लागि निजीक्षेत्रबाट सहयोग भइरहेको छ । यस्तै, आठबीस नगरपालिकामा आधारभूत तहका विद्यार्थीलाई सहयोग हुँदै आएको छ । खासगरी, बालबालिकाको पोशाक, पाठ्यपुस्तक, खाजा र ट्युसनलगायतमा यस्ता सहयोग खर्च हुँदै आएको छ । दाताहरूले अक्षयकोषमार्फत् पनि विद्यार्थीलाई सहयोग गर्ने रुचि देखाएका छन् ।
पालिकाहरूले संघ सरकारबाटै प्राप्त रकमबाट छात्रवृत्तिस्वरुप जनही ४ सय मात्र दिँदै आएका छन् । तर, यो रकमले गरीब परिवारका बालबालिकालाई खासै सम्बोधन गर्न सकेको देखिँदैन । त्यसैले छात्रवृत्तिका लागि निजीक्षेत्रसँगको सहकार्य बढ्ने हो भने निम्न आय भएका परिवारका विद्यार्थीलाई ठूलो सघाऊ पुग्ने बताउँछन् नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख गोर्खबहादुर थापा । विद्यार्थी भर्ना भएर पनि घरको नाजुक अवस्थाका कारण विद्यालय नियमित आउँदैनन् । यस्तो स्थितिमा छात्रवृत्ति पाएकाहरू भने नियमित विद्यालय आउन थालेका छन् । छात्रवृत्तिका निम्ति विद्यालयमा अक्षयकोष नै स्थापना गर्नुपर्ने आवश्यकता आफूले देखेकाले यसका निम्ति उपमहानगरपालिकाले निर्देशिका पनि बनाइसकेको थापाले जानकारी दिए । कोषमा सहयोग गर्न दाताहरूलाई सार्वजनिक रुपमै आह्वान गर्ने तयारीमा उपमहानगरपालिका रहेको छ । सेभ द चिल्ड्रेनले विभिन्न जिल्लाका ६० भन्दा बढी विद्यालयमा कोष स्थापना गर्न सहयोग गरिसकेको बताएको छ ।
सेभ द चिल्ड्रेनका अनुसार यो परियोजनाअन्तर्गत सन् २०२२ देखि २०२३ सम्म जम्मा १३ जना विद्यार्थीले १३५,६०० रुपैयाँ प्राप्त गरेका छन् । यो अनुसार सन् २०२२ मा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको नारायण नगरपालिकाका १/१ जनाले १२ हजारका दरले २४ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, सन् २०२३ मा नेपालगञ्ज उपमहानगरपालिकामा ३ जनाले ३६ हजार, वीरेन्द्रनगर नगरपालिकामा १ जनाले १२ हजार, नारायण नगरपालिकामा १ जनाले १२ हजार, दुल्लु नगरपालिकामा १ जनाले १२ हजार, आठबीस नगरपालिकामा ६ जनाले २७ हजार ६ सय र मंगलसेन नगरपालिकामा १ जनाले १२ हजार रुपैयाँ निजीक्षेत्रका तर्फबाट प्राप्त गरेका थिए ।
सबैभन्दा पहिले सहयोग चाहिने बालबालिकाको घरायसी स्थिति, आर्थिक एवं शैक्षिक अवस्था पहिचान हुनुपर्ने र सोका लागि सम्भावित निजी क्षेत्र पहिचान गर्नुपर्ने सामाजिक विकास मञ्च (एसडिएफ)का कार्यक्रम संयोजक राम श्रेष्ठ बताउँछन् । ‘समय–समयमा सहयोगी दातालाई बालबालिकाको घर भ्रमण गराउने गरिएको छ । बालबालिकाको अवस्थाबारे जानकारी गराउने गरिन्छ । सहयोगपश्चात् बालबालिकामा आएको परिवर्तन जानकारी गरायो भने दाताहरूमा थप सहयोग गर्न प्रोत्साहन हुने रहेछ,’ श्रेष्ठ भन्छन्, ‘संस्थाका वा स्थानीय तहका वार्षिक कार्यक्रमहरूमा दाताहरूलाई सम्झने वा सम्मान गर्ने परिपाटीले त उहाँहरु झन् अभिप्रेरित हुनुभएको छ नै, अरूलाई पनि यस्ता सहयोग गर्नका लागि अभिप्रेरणा मिल्दोरहेछ ।’
बीचैमा कक्षा छाडेपनि फेरि पढ्न पाउँदा…
नेपालगञ्जका निबासी लल्लु चिढिमार शान्तिका बुवा हुन् । उनको आर्थिक अवस्था निकै नाजुक छ । बिहान–बेलुका छाक टार्न ज्यालादारी काम गर्न जानुपर्छ । उनका दुई छोरी र एक छोरा छन् । चिढिमारकी जेठी छोरी शान्ति चिढिमारले धम्बोजी माविबाट भर्खरै कक्षा १२ सकिन् । तर, कठिन संघर्ष गरेर उनले विद्यालय शिक्षा पूरा गरिन् । कक्षा ८ कक्षा पढ्दापढ्दै उनको बालविवाह भयो । त्यहाँभन्दा माथि पढाउने बुवा लल्लुसँग आर्थिक क्षमता थिएन । ज्याला नगरे चुलो नबल्ने स्थितिमा बरु उनी कि छोरीलाई काममा लगाउन कि त विवाह गरेर पठाउन चाहन्थे । हुन पनि त्यस्तै भयो, चिढिमारले ८ कक्षा पढ्दापढ्दैकी छोरीलाई विवाह गरेर पठाइदिए । विवाहको केही समय नबित्दै श्रीमान्ले अर्कै विवाह गरे । शान्तिलाई घरमा पनि राम्रो व्यवहार गरिएन । यस्तो स्थितिमा उनी माइतीमै बसिन् । बीचैमा पढाइ छाड्नु प¥यो । आर्थिक अभावका कारण त्यहाँभन्दा माथि पढ्ने उपाय पनि रहेन । यस्तो स्थितिमा सेभ द चिल्ड्रेन र सामाजिक विकास मञ्चका सामाजिक कार्यकर्ताहरूले शान्ति चिढिमारलाई पढाइदिन निजीस्तरका साझेदारहरूबाट सहयोग गराउन सकिन्छ कि भनेर सम्भाव्यता खोजे । यही बेला एकजना होटल व्यावसायी घनश्याम थापा सम्पर्कमा आए । उनलाई चिढिमारकी छोरीको पढाइमा सहयोग गर्न प्रस्ताव गरियो । थापा पनि सहयोगका निम्ति सहमत भए । शान्ति चिढिमारको कक्षा ९ र १० का निम्ति सेभ द चिल्ड्रेन र एसडिएफबाट सहयोग भयो भने कक्षा ११ र १२ मा पढ्ने बेला थापाले आर्थिक सहयोग गरे । यसरी शान्तिले आफ्नो विद्यालय शिक्षाको पढाइ पूरा गरिन् । शान्ति भन्छिन्, ‘म पढाइ छोडेर निराश भएकी थिएँ । सबै अभाव मात्र थियो । यस्तो अवस्थामा मलाई पढ्ने वातावरण मिलाइदिने संस्था र सहयोग गर्नुहुने दाताप्रति म अति नै खुशी छु । उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।’
अहिले शान्तिले सामाजिक विकास मञ्चकै सहयोगमा सिलाई–बुनाई पनि सिकिरहेकी छन् । अब टेलर खोलेर बस्ने उनको योजना छ । शान्तिले धम्बोजी माध्यमिक विद्यालयबाट कक्षा १२ को पढाइ सकेकी हुन् । यो विद्यालयमा अहिले ३ हजार हाराहारीमा विद्यार्थी संख्या रहेको छ । यस विद्यालयमा २० प्रतिशत विद्यार्थी अति निम्न आर्थिक अवस्थाका परिवारबाट आउने गरेकाले उनीहरूलाई कतैबाट सहयोग नभए पढ्न नसक्ने स्थिति रहेको धम्बोजी माविका प्रधानाध्यापक वामदेव सुवेदी बताउँछन् । गरीब विद्यार्थी को छन् भनेर विद्यालयका प्रधानाध्यापक वा शिक्षकले घरमै गएर बुझ्ने गरिएको उनी सुनाउँछन् । अहिले पनि विद्यालयले गरीब विद्यार्थी पढाउनका लागि निजी क्षेत्रका दाताहरू खोजिरहेको छ । अहिले एक सय बालबालिकाको पढाइका निम्ति विद्यालय दाताको खोजीमा रहेको सुवेदीले बताए ।
‘अक्षयकोष स्थापना मोडालिटीलाई अघि बढाउँनेछ’
तरुणकुमार बज्राचार्य, वडा अध्यक्ष, वडा नं १२, नेपालगञ्ज उपमहानगरपालिका, बाँके
हाम्रो १२ नं वडामा चिढिमार समुदायको बस्ति छ । नेपालको अल्पसंख्यकमध्ये एक यो समुदायमा गरिबी र बेरोजगारीले पिरोलेको छ । बिहान–बेलुका छाक टार्न ज्यालादारी मजदूरीमा बिताउनुपर्दा यो समुदायमा शिक्षाको महत्व कम हुने गरेको छ । वडामा दुईवटा सामुदायिक विद्यालय छन् । कक्षा ७ सम्म अध्ययन हुने वागेश्वरी आधारभूत विद्यालय र कक्षा ३ सम्मको वाल्मीकि आधारभूत विद्यालय । यी विद्यालयमा चिढिमारका साथै गोडिया, धोवी समुदायका बालबालिका पनि पढ्न जान्छन् । विद्यालयमा विद्यालय छोड्ने दर बढी छ । यसलाई कम गर्न सेभ द चिल्ड्रेन लगायतसँग साझेदारिता गरियो । त्यसरी ड्रपआउट भएका करिव १५ जना विद्यार्थीलाई ५–६ वर्ष यता फेरि विद्यालयमै फर्कायौं र उनीहरू अहिले उच्च शिक्षा पढ्न जान थालेका छन् । वडामा निजी लगानीकर्ताहरू शिक्षाका लागि बालबालिकाहरूको अभिभावकत्व लिन तयार नै देखिनुभएको हामीले पाएका छौं । ‘नहुनेलाई हुनेले सहयोग गरौं’ भन्ने सोंचमा शिक्षामा लगानीका लागि आग्रह गर्न वडाले ४/५ महिना अघि उद्योगी र व्यापारीहरूलाई भेला पारेको थियो । भेरी प्राविधिक शिक्षालयबाट २/२ जना लाई माध्यमिक शिक्षा दिने प्रतिबद्धता पनि आयो ।
अब पालिकाले सबैको एकीकृत सहयोग जुटाउन अक्षयकोष स्थापना मोडालिटीलाई अघि बढाउँनेछ । यसका लागि नियमावली बनाउने क्रममा छौं । वडामा अक्षयकोषका निम्ति वडाध्यक्षको संयोजकत्वमा तदर्थ समितिसमेत गठन भइसकेको छ । यो नै दिगोपनाको विधि हो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा यो काम पनि सम्पन्न भइसक्नेछ । साझेदार संस्थाले गरेका लगानीको उपलब्धिलाई पनि अनुगमन गर्ने सोंचमा हामी रहेका छौं ।
‘सहयोगका लागि स्कूलहरूले अपील गरुन्’
घनश्याम थापा, होटल सञ्चालक, होटल इन्द्रेणी, नेपालगञ्ज, बाँके
म पनि समयमा पढ्न नपाएको मान्छे थिएँ । त्यहीँ कुरा मेरो मनमा गडिरहेको थियो । मलाई प्लस टु पढ्ने इच्छा थियो तर पढ्न पाइनँ । होटल लाइनमा लागेँ । सेभ द चिल्ड्रेन र एसडिएफका प्रतिनिधिहरूले एकजना छात्राले बीचैमा पढाइ छोडेको र उनलाई निजीक्षेत्रका तर्फबाट सहयोग गर्न प्रस्ताव राख्नुभयो । पढ्न नपाएकालाई पढाउनु पर्छ भन्ने मेरो धारणा हो । मैले पनि सहमति जनाएँ ।
यसका लागि नगरपालिका, विद्यालय र मबीच सम्झौता पनि भयो । मैले सम्झौताबमोजिम सहयोग गरेँ । ती छात्राको घरको अवस्था हेर्दा रकम सही ठाउँमा सहयोग गरिएछ भन्ने लाग्छ । आर्थिक, सामाजिक रुपमा पछि परेका विद्यार्थी भेटिए भने अरु साथीहरूलाई पनि सहयोगका लागि सल्लाह दिन्छु । स्कूलहरूले पनि सहयोगका लागि अपील नै गरुन् भन्न चाहन्छु । यसो भयो भने दाताहरू सहयोग गर्न तयार हुन्छन् । परियोजनाभन्दा पनि विद्यालयबाटै आह्वान गरी रकम जुटाउँदा दिगो हुन्छ ।