विविध

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल)


मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) एक राष्ट्रियस्तरको गैरसरकारी संस्था हो । यो संस्था सन् २००३ को मे महिनामा स्थापना भएको हो । स्थापनाकालदेखि यो संस्था नेपालमा मानसिक स्वास्थ्यको प्रबद्र्धनको क्षेत्रमा अनवरत रुपमा काम गर्दै आइरहेको छ । सीएमसी नेपालको मुख्य उद्देश्य बालबालिका तथा किशोरकिशोरीहरु, अभिभावक तथा समुदायका विभिन्न उमेर समूहका मानिसहरुको मनोसामाजिक सुस्वास्थ्यको प्रबद्र्धन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाको स्थानीय तहसम्म पहुँचमा वृद्धि, अपाङ्गता भएका मानिसहरु तथा बालबालिका एवं किशोर–किशोरीहरुको सम्मानजनक जीवनयापन एवं समावेशी सहभागिताको वातावरणको प्रबद्र्धनमा जोड दिनु हो । हाल सीएमसी विभिन्न कार्यक्रमहरुमार्फत् नेपालका ५३ वटा जिल्ला तथा २०६ स्थानीय तहमा काम गर्दै आइरहेको छ । हाल सीएमसी नेपालमा निम्नानुसार परियोजनाहरु सञ्चालनमा छन् ।

0 विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम
0 सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रम
0 आप्रबासी कामदार तथा तिनका परिवारका सदस्यहरुको मानसिक स्वास्थ्य तथा मनोसामजिक सु–स्वास्थ्यको प्रबद्र्र्धन कार्यक्रम
0 कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम
0 समुदायस्तरमा बालबालिकाको मानसिक सु–स्वास्थ्य प्रबद्र्र्धन कार्यक्रम
0 सुरक्षित आप्रवासनमा मनोसामाजिक सहयोग कार्यक्रम
0 लैङ्गितामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना
0 द्वन्द प्रभावित व्यक्तिहरु तथा तिनीहरुको परिवारहरुका लागि मानसिक तथा मनोसामाजिक सहयोग कार्यक्रम
0 मानसिक स्वास्थ्य र मनोसामाजिक सेवाका लागि प्रादेशिक स्वास्थ्य सेवा प्रणाली सुदृढिकरण परियोजना

विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम
फेल्म, फिनल्याण्डको आर्थिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग कार्यक्रम कार्यान्वयन समझदारी सम्झौता गरी विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ । सीएमसी–नेपालमार्फत् सञ्चालित विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम हाल कर्णाली प्रदेशको कालीकोट र जाजरकोट गरी २ वटा जिल्लाका ४ वटा नगरपालिकाहरुमा सञ्चालनमा छन् । जसअन्तर्गत कालीकोट जिल्लाका रास्कोट न.पा. तथा खाँडाचक्र न.पा. का २८ वटा विद्यालय, ४ वटा स्थानीय स्वास्थ्य संस्था र जाजरकोट जिल्लाका भेरी तथा नलगाड न.पा.का. ३२ वटा विद्यालय तथा ४ वटा स्वास्थ्य संस्थामा सञ्चालनमा छन् ।
विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको मुख्य उदेश्य बालबालिकाहरुको मनोसामाजिक सुस्वास्थ्यमार्फत् गुणस्तरीय सिकाइमा सहयोग पुर्‍याउनु हो । यो कार्यक्रम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षकहरुको पेशागत विकास प्रारुप २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सँग सम्बन्धित रही विद्यालयहरुमा बालमैत्री तथा समावेशी सिकाइ वातावरण एवं बालबालिकाहरु र किशोरकिशोरीहरुको मनोसामाजिक सुस्वास्थ्यको प्रबद्र्धनमार्फत् गुणस्तरीय सिकाइका निम्ति सघाउनु रहेको छ । यस्तै, दिगो विकास लक्ष्यअन्तर्गत ४ नम्बर लक्ष्यको उद्देश्यअनुरुप समावेशी तथा गुणस्तरीय सिकाइको प्रबद्र्धनमा सहयोग गरिरहेको छ ।
विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम ३ वटा प्रबद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक पद्धतिमा आधारित भएर सञ्चालन भइरहेको छ । प्रबद्र्धनात्मक पद्धतिअन्तर्गत कक्षाकोठामा आधारित मनोसामाजिक प्रबद्र्धनात्मक क्रियाकलापहरु, बालक्लब तथा किशोरकिशोरी स्वास्थ्य सचेतनाका क्रियाकलापहरु एवं जीवनउपयोगी सीपसम्बन्धी सिकाइमा जोड दिइएको छ । निरोधानात्मक पद्धतिअन्तर्गत कार्यक्रम लागू भएका विद्यालयहरुमा २/२ जना मनोसामाजिक फोकल शिक्षकहरुको व्यवस्था गरिएको छ । विद्यालयमा भावनात्मक तथा व्यवहारिक समस्या भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई विद्यालयस्तरमा नै मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने अभ्यास र जटिल समस्या भएका बालबालिकाहरुलाई विज्ञस्तरको सेवाका लागि स्थानीय स्वास्थ्य संस्थामा रिफर गर्ने अभ्यास गरिएको छ ।
विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमले बालबालिकाहरु बीचमै विद्यालय छाड्ने तथा उनीहरुको मनोसामाजिक समस्याको न्यूनिकरणमा निकै सहयोग पुर्‍याएको छ भने कार्यक्रमको अभ्यासले बालबालिकाहरुको सिकाइ उपलब्धि, विद्यालय उपस्थिति तथा खुशीको स्तर बढाउनमा निकै उपयोगी देखिएको छ ।

Facebook Comments

चाइल्डफण्ड जापानः एक परिचय

Previous article

अभियन्ता सीमा थापाको उदाहरणीय नेतृत्वमा : बझाङ र बाजुरामा छेडिँदै छाउपडीविरुद्धको अभियान

Next article