विविधविशेष

विपद्मा शिक्षाः सिकाइ निरन्तरताका लागि शिक्षा कार्यक्रममा अनुकूलन, नवप्रवर्तन र सिकाइ


सेभ द चिल्ड्रेनले विपद्मा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितताका लागि लामो समयदेखि कार्य गर्दै आइरहेको छ । नेपाल शिक्षा समूहको सह–नेतृत्व गर्दै विपद् पूर्व तयारी र प्रतिकार्य योजना निर्माण, कार्यान्वयन, क्षमता अभिवृद्धि, आदि जस्ता कार्यका लागि नेपाल सरकारलाई निरन्तर सहयोग गर्दै आइरहेकोे छ । बाढी, पहिरो, भूकम्प, आदि जस्ता विपद् प्रतिकार्यका लागि पूर्ण रुपमा कार्य गर्दैगर्दा विश्वकै लागि नयाँ मानिने विपद् कोभिड–१९ को महामारी फैलियो । सम्पूर्ण विश्व जीवन सुरक्षा उपाय खोज्दै सोहीअनुसार सहयोग गर्ने कार्यमा केन्द्रित भयो । विद्यालयहरू बन्द भए । कतिपयलाई आइसोलेसन र क्वारेन्टिनका रुपमा प्रयोग गरिए । शिक्षक र विद्यार्थी आ–आफ्नै घरमा थुनुवासरह भए । बालबालिकको सिकाइ त कसैको प्राथमिकतामा परेन ।

कोभिड प्रतिकार्यमा लाग्ने सबैलाई यो नयाँ अनुभव थियो र आफ्ना कार्यक्रमहरूलाई अनुकूलन गर्दै नवप्रवर्तनात्मक कार्यहरू गर्नुपर्ने अवस्था आयो । विश्वव्यापी एवं स्थानीय सिकाइ र परिवेश अनुसार सेभ द चिल्ड्रेनले पनि आफ्ना कार्यक्रमहरूलाई अनुकूलन गर्दै नवीनतम् ढङ्गले गरेका कार्यहरूलाई यहाँ बिस्तृत उल्लेख गरिएको छ । यी र यस्ता अधिकांश क्रियाकलापहरू जुनसुकै विपद्को समयमा पनि लागू गर्न सकिन्छ ।

मानवीय विपद्को समयमा रेडियोमार्फत् सूचना सम्प्रेषण

नेपाल मिडिया सर्भे २०१९ का अनुसार नेपालका ६० % भन्दा बढी घरपरिवारसँग रेडियो सेट छ र कोभिड–१९ पश्चात् उनीहरूले रेडियो सुन्ने क्रम बढेको छ । किनभने पहुँचबाहिर रहेका मानिसहरूका निम्ति रेडियो कोभिडसम्बन्धी समाचार, विचार एवं धारणा सुन्न र त्यसलाई विश्वास गर्ने माध्यम बन्यो । रेडियो त्यस्तो साधन हो जसलाई मानिसले समूहमा भन्दा व्यक्तिगत रुपमा सुन्न बढी चासो राख्छन् । त्यसैगरी, सूचना प्रविधिको विकाससँगै अधिकांश मानिसहरू आफ्नो मोबाइल फोनबाट पनि रेडियो सुन्छन् । मानवीय संकटको समयमा रेडियोको प्रभावकारितालाई महशूस गर्दै सेभ द चिल्ड्रेनले समुदायहरूलाई, विशेषगरी बालबालिका एवं अभिभावकहरूलाई घरमा आधारित शिक्षाको अवधारणा बुझ्न र हेरचाहकर्ताहरूलाई संवेदनशील बनाउनका लागि कार्यक्रम सञ्चालन तथा सूचना प्रसारण गर्न रेडियोहरूको प्रयोग गर्‍यो ।

रेडियो कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिले सेभ द चिल्ड्रेनले मिडियामा पहुँचसम्बन्धी सर्भे गरेको थियो । उक्त सर्भे सप्तरी, महोत्तरी, सर्लाही, दैलेख, कालिकोट, जाजरकोट, रोल्पा, अछाम, बाँके, बाजुरा र काभ्रेपलाञ्चोक जिल्लाहरूमा गरिएको थियो । सन् २०२० मा गरिएको उक्त सर्भे नतिजा अनुसार ४० प्रतिशत घरमा रेडियो, ९२ प्रतिशत घरमा मोबाइल र ५३ प्रतिशत घरमा टेलिभिजनको पहुँच रहेको पाइयो ।

क. चेतनामूलक सूचना सम्प्रेषण

विपद्को समयमा सिकाइलाई निरन्तरता दिन पैरवी गर्ने उद्देश्यका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षा समूहको समन्वयमा सन्देशमूलक सूचनाहरू तयार पारिए । ती सूचनाहरू आमाबाबु, बालबालिकाहरू र शिक्षकहरूलाई लक्षित गरी विकास गरिएका थिए । घरमा अनुकूल सिकाइ वातावरण सिर्जना गर्न तिनीहरूको भूमिका र जिम्मेवारीहरू स्पष्ट पारिएको थियो । यसका साथै ती सन्देशहरूमा घरमा शिक्षाको अवधारणा, सकारात्मक अभिभावकीय सीपहरू, बालबालिका र अभिभावकहरूका लागि जीवन–उपयोगी सीपहरूका साथै महामारीबाट आएको परिवर्तनबाट उत्पन्न हुने डर तथा चिन्तालाई सामना गर्ने सीपहरू समावेश गरिएका थिए । उक्त सन्देशहरूलाई नेपालीका साथै मैथिली र अवधी भाषामा समेत तयार पारी स्थानीय तथा राष्ट्रिय एफएमहरूबाट प्रसारण गरिएको थियो । त्यसबाट १ करोड ५० लाख मानिसहरू लाभान्वित भएका थिए । त्यसैगरी, सेभ द चिल्ड्रेनले सामुदायिक सूचना केन्द्र (सीआईएन) सँगको साझेदारीमा ३०० सामुदायिक एफएम स्टेशनहरूमार्फत् सन्देशहरू प्रसारण गरेको थियो । यसका साथै सेभ द चिल्ड्रेनले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सांकेतिक भाषा समावेश गरी घरमा सिकाइ निरन्तरता दिने उद्देश्यका साथ दुईवटा भिडियो सन्देशहरू तयार गरी सामाजिक सञ्जालहरूबाट प्रसारण गरेको थियो ।

ख. रेडियो स्कूल–शिक्षण सिकाइका लागि एक नवीनतम् प्रयास

सिकाइमा भएको क्षतिलाई केही हदसम्म सहयोग गर्न, नवीनतम् साधन र विधि प्रयोग गरेर बालबालिकाको सिकाइ निरन्तरता गर्न सकिन्छ भनी अभिभावक तथा सरोकारवालाहरूलाई सचेतीकरणका लागि सेभ द चिल्ड्रेनले रेडियोमा आधारित सिकाइका कार्यक्रमहरू स्थानीय एफएमहरूमार्फत् प्रसारण गर्‍यो । सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा स्थानीय शिक्षकहरू, स्थानीय तह र सञ्चारमाध्यमको नेतृत्वमा रेडियोमा आधारित सिकाइका लागि ‘रेडियो स्कूल’ सञ्चालन गरियो । उक्त रेडियो कार्यक्रमहरू स्थानीय भाषामा समेत तयार गरी प्रसारण गरियो । प्रारम्भिक बाल हेरचाह र विकास, प्रारम्भिक कक्षा सिकाइ, प्राथमिक तहदेखि माध्यमिक तहका विद्यार्थीका लागि सुधारात्मक कक्षा, माध्यमिक शिक्षा परीक्षा (एसइइ) तयारी कक्षा र अभिभावकका लागि सूचनाका साथै सकारात्मक अभिभावकत्वसम्बन्धी रेडियो कक्षाहरू तयार गरी प्रसारण गरिएको थियो ।

कोभिड–१९ को समयमा भएको सिकाइ क्षतिलाई आपूरण गर्नका लागि तयार गरी प्रसारण गरिएका रेडियो कार्यक्रमहरूः

अ. घरमा आधारित प्रारम्भिक साक्षरतार गणित (ELM) – यो रेडियो श्रृंखला ३ देखि ५ वर्षका बालबालिकालाई लक्षित गरी तयार गरिएको हो । जसमा १० रेडियो शत्रहरू विकास गरी प्रसारण गरिएको थियो । जाजरकोट, सप्तरी, सर्लाही र महोत्तरीका स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण भएका रेडियो एपिसोडहरू नवप्रवर्तनशील र स्थानीय रूपमा उपलब्ध स्रोतहरू प्रयोग गरेर बालबालिकामा प्रारम्भिक साक्षरता एवं गणित सीपहरूलाई बलियो बनाउने उद्देश्यका साथ तयार पारिएको थियो । रेडियो श्रृंखलाहरू नेपाली र मैथिली दुबै भाषामा तयार गरी प्रसारण गरिएको थियो ।
आ. ‘गृह विद्यालय’ रेडियो श्रृंखला – कक्षा १ देखि ३ सम्मका बालबालिकाको शिक्षालाई घरमै निरन्तरता दिन अभिभावक र हेरचाहकर्ताहरूलाई उनीहरूको सीप र ज्ञानलाई चरणबद्ध रूपमा विकास गर्ने उद्देश्यका साथ यो रेडियो श्रृंखला तयार गरिएको थियो । बालबालिका र अभिभावकहरूको लागि क्रमिक रुपमा स्व–निर्देशित सिकाइ सामग्री विकास गर्ने लक्ष्यका साथ रेडियो कक्षाहरू तयार गरिएका थिए । लक्षित रेडियो श्रृंखला, ‘गृह विद्यालय’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय/शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल शिक्षा समूहले तयार पारेको कक्षागत स्व–अध्ययन सामग्रीको आधारमा तयार पारिएको थियो । यो रेडियो श्रृंखला काभ्रेको स्थानीय एफएमबाट प्रसारण गरेको थियो, जसमा आसपासका १५ जिल्लाहरू समेटिएका थिए । कक्षा १ देखि ३ सम्म ४०५ गतिविधिहरू समेटेर कूल १३५ रेडियो पाठहरू उत्पादन गरिएका थिए ।
इ. ‘रमाउँदै सिक्दै’ रेडियो श्रृंखला – सेभ द चिल्ड्रेनले घरमै विभिन्न पारिवारिक सिकाइ गतिविधि सञ्चालन गर्न अभिभावक र हेरचाहकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शैक्षिक रेडियो कार्यक्रम ’रमाउँदै सिक्दै’ उत्पादन गरेको थियो । यसका १० वटा श्रृंखलाहरू थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (MOEST) सँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (CIN) मार्फत् ३०० भन्दा बढी सामुदायिक एफएम स्टेशनहरूमा प्रसारण गरिएको थियो ।
ई. प्रारम्भिक उत्प्रेरणा, स्वास्थ्य र पोषण तथा सकारात्मक अभिभावकत्वसम्बन्धी ०–३ वर्षका बालबालिकाका अभिभावकहरू, आमाबाबु एवं हेरचाहकर्ताहरूलाई लक्षित रेडियो श्रृंखला– यो रेडियो श्रृंखला शुभारम्भ परियोजनाअन्तर्गत कालिकोटमा प्रसारण गरिएको थियो । रेडियो श्रृंखलामा प्रारम्भिक उत्प्रेरणा, स्वास्थ्य र पोषण, सकारात्मक अभिभावकत्वका विषयवस्तु एकीकरण गरिएको थियो । सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा स्थानीय रेडियो र साझेदार संस्थाका प्रतिनिधिहरूले तयार गरी हप्ताको २ पटक यो रेडियो श्रृंखला प्रसारण गरिएको थियो ।

सामाजिक परिचालक र शिक्षकहरूको सहयोगमा शिक्षण सिकाइ निरन्तरता

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोभिड–१९ फैलिनुबाट रोक्नका लागि शारीरिक दूरी कायम गरी अन्य सावधानीका उपायहरू पालना गर्न दिएको निर्देशन कार्यान्वयन गर्न सेभ द चिल्ड्रेनले पनि आफ्ना कार्यक्रमहरूलाई अनुकूलन गर्दै लग्ने निर्णय गर्‍यो । यसैले सेभ द चिल्ड्रेनले आफ्ना कार्यक्रमहरू कतिलाई परीक्षणका रुपमा त कतिलाई नवीनतम्सम्बन्धी दिशानिर्देश हुनेगरी कार्यक्रम अघि बढायो । सेभ द चिल्ड्रेन कार्यक्रम कार्यान्वयनमा आविष्कारको सहयोगविना सफल हुन सकिँदैन भन्ने तथ्यलाई स्वीकार गर्दछ । तसर्थ, हाम्रा पाइलटहरू र शिक्षा कार्यक्रम निरन्तरताको दृष्टिकोणको नवीनतामा सामाजिक परिचालकहरू, शिक्षकहरू र शैक्षिक व्यवसायीहरुसँग सम्बन्धित रही कार्यक्रम सञ्चालन गरिए । डिजिटल ह्याङ्गआउट्स, फोन परामर्श तथा सामाजिक परिचालक र शिक्षकहरूको क्षमता विकासलाई प्राथमिकता दिइएको थियो, जसले शिक्षण सिकाइमा शिक्षक र बालबालिकाको पहुँच बढाउन सहयोग गरेको थियो ।

क. मोबाइल फोनमार्फत् दूर शिक्षा

सप्तरी जिल्लामा ७० भन्दा बढी प्रारम्भिक बालहेरचाह र विकास (ECCD) शिक्षकहरूले सकारात्मक अभिभावकत्वसम्बन्धी महत्वपूर्ण ज्ञान र सीप प्रदान गर्न प्रत्येक हप्ता मोबाइल फोनमार्फत् अभिभावकहरूसँग सम्पर्क गर्थे । सहजकर्ताहरूले अभिभावकहरूलाई सकारात्मक अभिभावकत्व, बालबालिकाको भलाई र घरमा अनुकूल वातावरण तयार गर्नका लागि नवीनतम् उपायहरूका बारेमा जानकारी गराउँथे । बालविकास शिक्षक, सामाजिक परिचालक र स्थानीय तहका प्रतिनिधिहरूले तीन वर्षमुनिका बालबालिका भएका घर–परिवारको नक्साङ्कन, हेरचाहकर्ताको मोबाइल नम्बर संकलन तथा कार्यक्रम उनीहरूलाई दूरी कायम गरी गराउँथे । त्यसपछि ती हेरचाहकर्ताहरूलाई साप्ताहिक छलफल समूहमा आबद्ध गराई बालबालिकाको सर्वाङ्गिण विकासका लागि उनीहरूको भूमिका अभिमुखीकरण गरिन्थ्यो ।

सामाजिक परिचालकले मोबाइलमार्फत् बालविकास शिक्षकहरूलाई विषयवस्तुबारे जानकारी गराउने र सो कुराको अभिमुखीकरण ५ देखि ७ जना हेरचाहकर्तालाई एक ठाउँमा जम्मा गरी स्वास्थ्य मापदण्ड पूरा गरेर बालविकास शिक्षकले गराउँथे । पछि यो नवप्रवर्तनलाई जाजरकोट जिल्लामा पनि बिस्तार गरिएको थियो ।

ख. ‘गृह शिक्षक’मार्फत् सिकाइ निरन्तरता

‘गृह शिक्षक’ सेभ द चिल्ड्रेनको कोभिड महामारीको समयमा शुरुवात गरिएको एक नवीनतम् अभ्यास हो । जसका लागि सामाजिक परिचालकले घरको सबैभन्दा बढी शिक्षित सदस्यलाई गृह शिक्षक छनौट गर्ने, उसको काम कर्तव्यका बारेमा अभिमुखीकरण गर्ने र घरमा आधारित सिकाइ सामग्री उपलब्ध गराउने कार्य स्वास्थ्य मापदण्ड पूरा गरी गर्थे । गृह शिक्षकले घरमा बालाबलिकाको सिकाइ निरन्तरताका लागि समय तालिका निर्माण, सिकाइ कुनाको व्यवस्थापन, सामग्री संकलन गर्नुका साथै बालबालिकाको सिकाइमा सहजीकरण गर्ने गर्थे । यदि उनीहरूलाई विषयवस्तुमा कठिनाई भएमा शिक्षकलाई सम्पर्क गरी समाधान गरिदिन्थे ।

यो नवीनतम् प्रयासको महत्वलाई आत्मसात गर्दै नेपाल सरकारबाट अपनत्व लिएर एउटा कार्यविधिसमेत तयार गरी यसको नामकरण ‘गृह विद्यालय’ राखियो । महामारीको समयमा मात्र यो प्रभावकारी नभई सामान्य समयमा पनि घरमा सिकाइ प्रबद्र्धन गर्न यो अति प्रभावकारी रह्यो । २०२३ को जुलाईसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले पनि सेभ द चिल्ड्रेनको कार्यक्षेत्रमा १२ हजारभन्दा बढी बालबालिका गृह विद्यालयबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

ग. समुदायमा आधारित ट्युटोरियल कक्षाहरू

कोभिड–१९ का कारण बालबालिकाले भोगेका शैक्षिक अभावलाई सम्बोधन गर्न, सप्तरीका स्थानीय समुदायका बालबालिकालाई सिकाउन स्थानीय साझेदार संस्थाका कर्मचारी, सामुदायिक स्वयंसेवक र अभिभावकहरूद्वारा स्वयंसेवक शिक्षकहरूलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । स्वयंसेवक शिक्षकद्वारा दुई घण्टा ट्युसन कक्षा सञ्चालन गरिन्थ्यो । जम्मा १७ वटा कक्षाहरू स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गरिएका थिए ।

स्वः अध्ययन सिकाइ सामग्रीहरुको निर्माण र वितरण

सेभ द चिल्ड्रेनले नेपाल शिक्षा समूहको सह–नेतृत्वको रुपमा युनिसेफ नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल शिक्षा समूहसँगको सहकार्यमा बालविकासदेखि कक्षा ८ सम्मका बालबालिकाहरुका लागि स्वः अध्ययन सामग्री निर्माण गर्नका लागि सहयोग गरेको थियो । स्वःअध्ययन सामग्रीहरुले कोभिड–१९ को समयमा अनिश्चितकालीन लामो समय विद्यालयहरु बन्द रहँदा पनि बालबालिकाहरुको सिकाइ निरन्तरताका लागि अत्यावश्यक ज्ञान, सीप प्रदान गर्ने उद्देश्यका साथ यी सामग्रीहरु तयार पारिएका थिए । सेभ द चिल्ड्रेनले विशेषगरी कक्षा ४ का लागि स्वःअध्ययन सामग्री निर्माण गर्नुका साथै अन्य कक्षाका स्रोत–सामग्रीहरु तयार गर्न प्राविधिक सहयोगसमेत उपलब्ध गराएको थियो ।
स्वःअध्ययन सामग्रीहरु विशेषगरी बढी जोखिममा परेका र पिछडिएको समुदायका बालबालिकाहरुलाई लक्षित गरी तयार पारिएको थियो । यी सामग्रीहरुमा पाठ्यक्रमसँग सम्बन्धित अभ्यासहरु, क्रियाकलापहरु र कोभिड–१९ बाट कसरी सुरक्षित रहने भन्ने जानकारीमूलक सामग्रीहरुका साथै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि आवश्यक जानकारीसमेत समावेश गरिएको थियो । स्वःअध्ययन सिकाइ सामग्रीहरुबाट कूल ९९ हजार ५०१ बालबालिका लाभान्वित भएका थिए । यसका साथै कर्णाली र मधेश प्रदेशका स्रोत विद्यालयहरूमा अध्यनरत ३२७ जना दृष्टि अपाङ्गता भएका बालबालिकालाई ब्रेल लिपीमा भएका सन्दर्भ सामग्रीहरू उपलव्ध गराइएको थियो । यसरी तयार पारिएका सामग्रीहरूलाई अन्य सम्भावित विपद्को समयमा पानि प्रयोगमा ल्याउन सकिन्छ ।

शिक्षकहरुसँग डजिटल हयाङ्गआउट (भर्चुअल सम्मेलन)

सेभ द चिल्ड्रेनले आधारभूत तहदेखि माध्यमिक तहका शिक्षकहरुसँग कोभिड–१९ ले शिक्षाका क्षेत्रमा ल्याएका चुनौतीहरु र ती चुनौतीहरुलाई सामना गर्नका लागि अवसरहरुका साथै भए गरेका नमूना अभ्यासहरु पहिचान गरी बालबालिकाहरुको निरन्तर सिकाइलाई सुनिश्चित गर्नका लागि भर्चुअल सम्मेलनको आयोजना गर्‍यो । यस भर्चुअल सम्मेलनले विभिन्न भौगोलिक पृष्ठभूमिका शिक्षकहरुलाई एउटै फोरममा ल्याई कोभिड–१९ र शिक्षाको वर्तमान अवस्था, कोभिड–१९ को समयमा बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिनको लागि शिक्षा क्षेत्रमा गर्नुपर्ने क्रियाकलापहरुका साथै अवलम्बन गर्न सकिने फरक रणनीति र अभ्यासहरुका बारेमा छलफल गरी तपशिलका मुख्य निचोडहरुमा कार्यक्रमको निष्कर्ष निकालिएको थियो ।

१) नयाँ प्रविधि र तौरतरिकासँग शिक्षकहरु परिचित नहुँदा शिक्षकहरुले प्रविधि प्रयोग गरी शिक्षण सिकाइ गर्न सकिरहेका छैनन् । त्यसैले, शिक्षकहरुलाई प्रविधि, मिडिया र नयाँ शिक्षण विधिबारे क्षमता विकासका कार्यक्रम सञ्चालन प्राथमिकताका साथ गर्नुपर्ने ।
२) संघीय र प्रादेशिक सरकारलाई प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलापहरुमार्फत् शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षकहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै निजी संस्थाहरु र इन्टरनेटप्रदायक संस्थाहरुसँगको साझेदारीमा विद्यालयमा इन्टरनेटको व्यवस्था गर्नका लागि भेटघाट, छलफल र दबाब सिर्जना गर्ने ।
३) शिक्षाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुसँग समन्वय र सहकार्य गरी दूर शिक्षा र प्रविधिमैत्री सिकाइ सामग्री निर्माण गर्नुका साथै निर्माण गरिएका सामग्रीहरु अपाङ्गतामैत्री भएको सुनिश्चित गर्ने ।
४) कोभिड–१९ को सामना गर्नका लागि शिक्षक भलाई योजना निर्माण गरी शिक्षकको स्वास्थ्य र भलाईलाई प्राथमिकता दिने ।
५) दूर शिक्षण सिकाइमा भए गरेका राम्रा अभ्यासहरु, उपलब्धिहरु, सिकाइहरु र अवसरहरु शिक्षकहरुका बीचमा आदानप्रदान गर्नका लागि विभिन्न फोरमहरु सिर्जना गर्नुका साथै भएका राम्रा अभ्यास र तौरतरिकाहरुलाई अनुशरण गर्ने ।

शिक्षकहरुका लागि डिजिटल साक्षेरता सम्बन्धी भर्चुअल तालिम

बालबालिकाको सिकाइ निरन्तरताका लागि शिक्षकले भर्चुअल रुपमा पनि सहयोग गर्न सक्ने मान्यतालाई आत्मसाथ गर्दै शिक्षकहरूलाई डिजिटल साक्षरतको तालिमा प्रदान गरियो । सर्वप्रथम कर्णाली प्रदेशका ३७ जना शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरियो । तत्पश्चात् ५०० भन्दा बढी शिक्षकहरूलाई ५ दिने भर्चुअल डिजिटल साक्षरता तालिम प्रदान गरियो । तालिम प्रदेशस्थित शैक्षिक तालिम केन्द्रको समन्वयमा सञ्चालन गरिएको थियो । सम्भाव्य विपद्हरूलाई लक्षित गरी सेभ द चिल्ड्रेनले हाल पनि शिक्षक तयारीका लागि हरेक वर्ष शिक्षकहरूलाई डिजिटल साक्षरताको तालिम दिइरहेको छ ।

बालबालिकाहरूसंग डिजिटल हयाङ्गआउट (भर्चुअल सम्मेलन)
विद्यालयहरु कहिले खुल्लान् ?

सेभ द चिल्ड्रेनले बालबालिकाहरुसँग कोभिड–१९ ले उनीहरुको शिक्षामा पारेका असर सम्बन्धमा उनीहरुको विचार, चासो, प्रश्न र सवालहरु सिर्जजन गर्जका लागि भर्चुअल सम्मेलन आयोजना गर्‍यो । देशका विभिन्न ठाउँबाट बालबालिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रविधिले शिक्षामा ल्याएको विभाजन, शैक्षिक स्रोतहरुको कमी, विद्यालय पुनः खुल्ने अनिश्चितता र भ्रामक सूचनाहरु आदिका बारेमा छलफल भएको थियो । कालिकोट जिल्लाबाट कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले सरकारको शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने सन्दर्भमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका एक सहभागीले भन्नुभयो, ‘हाम्रोमा इन्टरनेट नै छैन, इन्टरनेट भएकाले पनि काम गर्दैन । शिक्षकहरु पनि यसको प्रयोगबारे त्यति जानकार छैनन् । त्यसैले इन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन गर्ने कुरा हाम्रो सन्दर्भमा सान्र्दभिक छैन ।’ यस्तैखालको भावना महोत्तरीका एक सहभागीले पनि व्यक्त गर्नुभयो । रेडियो र टेलिभिजनमार्फत् स्थानीय भाषामा पनि सिकाइसँग सम्बन्धित थुप्रै क्रियाकलापहरु सञ्चालन भएको समेत बताउनुभयो ।

कालिकोटका एकजना सहभागीले शिक्षकहरुमा आफूलाई समयानकूल अद्यावधिक गर्दै नयाँ कुराको खोजी गर्ने र सिक्ने जोश–जाँगर नभएको धारणा राख्नुभयो । कोभिडको समयमा लामो समय विद्यालयहरु बन्द हुँदा त्यसलाई शिक्षकहरुले विदाको रुपमा लिएको र बालबालिकाको भविष्यप्रति कति पनि चिन्तित नभएको उहाँको गुनासो थियो । काठमाडौंका एकजना विद्यार्थीले जुम एप्स प्रयोग गरी शिक्षण सिकाइ गर्दा सिकाइ अन्तक्र्रियात्मक, प्रभावकारी हुनुका साथै उपलब्धिमूलक भएको विचार व्यक्त गर्नुभयो । औपचारिक कक्षाकोठाको वातावरणबाट यो प्रविधिमा सिक्न पाउँदा शिक्षण पनि सहभागितामूलक रहनुका साथै प्रभावकारी भएको उहाँले सुनाउनुभयो । करिव ६७ प्रतिशत विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएकाले बालबालिकाहरुमा त्यसको डर–त्रास रहिरहेकाले विद्यालयलाई पूर्ण रुपमा निर्मुलिकरण गरेर मात्रै पुनः सञ्चालन गर्नुपर्ने पनि सहभागीले जानकारी गराउनुभयो ।

कालिकोट, महोत्तरी र काठमाडौंका सहभागीले गर्नुभएको छलफलअनुसार ग्रामीण र शहरी क्षेत्रमा बालबालिकाहरुको प्रविधिमा पहुँचका कारण शैक्षिक दूरी अझै बढ्ने प्रष्ट देखायो । सिकाइलाई निरन्तरता दिनका लागि अवलम्बन गरिएका वैकल्पिक सिकाइहरुले विपन्न र जोखिममा रहेका बालबालिकाहरुको सिकाइमा मद्दत पुर्‍याएको छ त ? यसको समीक्षा र विश्लेषण गर्नुपर्ने भएको छ ।

‘म आत्तिन्छु, कतै शिक्षाबाट बञ्चित हुनुपर्ने हो कि भनेर । किनकि, म छोरी भएकीले घरको कामहरु पनि धेरै नै गर्नुपर्ने हुन्छ, विद्यालय चलिरहँदा कम्तिमा विद्यालय गएर पढ्ने अवसर हुन्थ्यो । तर, लकडाउनका कारण विद्यालय बन्द हुँदा त्यो अवसरबाट पनि बञ्चित छु,’ कालिकोटकी १७ वर्षीय एक बालिकाले पवनकली कार्यक्रममार्फत् सुनाउनुभयो । सेभ द चिल्ड्रेनले कोभिडका लामो समयदेखि विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको चासो र उनीहरूको शिक्षासँग सम्बन्धित सवाललाई बुलन्द गर्न लोकप्रिय कमेडी कार्यक्रम पवनकलीसँग साझेदारी गरेको थियो । कमेडीमार्फत् कार्यक्रमले महामारीको समयमा बालबालिकाले सामना गर्नुपरेको महत्वपूर्ण समस्याहरूका बारेमा छलफल गरी उनीहरूको चासो र चिन्तालाई सम्बोधन गर्नका लागि प्रभावकारी माध्यमबाट सरोकारवाला र निर्णयकर्ताहरूसँग जोड्ने गरेको थियो । कार्यक्रमको पहुँचलाई धेरैभन्दा धेरैमाझ पुर्‍याउनका लागि, कमेडी शो हरेक हप्ता ३०० सामुदायिक एफएम स्टेशनहरू, युट्युब र डिस होम टेलिभिजनबाट प्रसारण गरिएको थियो ।
‘पवनकली’ कार्यक्रमको एउटा एपिसोडमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग कोभिड–१९ को समयमा शिक्षामा बालबालिकाले सोधेका प्रश्न, प्रविधिमैत्री शिक्षाका सन्दर्भमा सरकारको योजना र चुनौतीबारे विशेष अन्तर्वार्ता प्रस्तुत गरिएको थियो । कोभिड–१९ पछि विद्यालयहरू फेरि सुरक्षित रुपमा विद्यालय सञ्चालन गरी नियमित शिक्षण सिकाइ प्रक्रियालाई सुनिश्चित गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

शिक्षा र बालसंरक्षणका क्षेत्रमा कोभिडले पारेको प्रभावको तीब्र लेखाजोखा
कोभिड–१९ महामारीले विश्वलाइ नै आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो विचलन ल्यायो । मानिसहरु कोभिड–१९ को सामना गर्नका लागि यसबीच पनि बालबालिकाहरु अझै मनोसामाजिक स्वास्थ्यबाट प्रताडित भएका छन् जसले उनीहरुको दैनिक जीवन प्रभावित भएको थियो ।
बालबालिकाहरुमा कोभिडले पारेको प्रभावको अध्ययन गर्नका लागि सेभ द चिल्ड्रेनले स्थानीय साझेदार संस्थाहरुसँग समन्वय गरी कर्णाली र मधेश प्रदेशमा अध्ययन गरेको थियो । यस अध्ययनबाट भएका मुख्य निचोडहरुलाई तल प्रस्तुत गरिएको छ ।
१) सर्भेमा सहभागीमध्ये ८० प्रतिशत बालबालिकाहरुले कोभिडको समयमा सूचना तथा जानकारी प्रदान गर्नका लागि रेडियो प्रभावकारी माध्यम रहेको बताए ।
२) १४ प्रतिशत बालबालिकाहरुले मात्रै आफूहरु शिक्षकहरुसँग नियमित सम्पर्कमा रहेको र दूर शिक्षाका लागि टेलिभिजन तथा रेडियो प्रभावकारी सिकाइ साधन रहेको बताए ।

माथि उल्लिखित नवीनतम् र असल अभ्यास सँगसँगै सेभ द चिल्ड्रेनले जनसुकै विपद्को समयमा पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्ने गर्दछ । बालबालिकाको सिकाइ निरन्तरताका लागि उनीहरुलाई कक्षागत सिकाइ सामग्री सहयोग गरिँदै आएको छ । कक्षाकोठामा सिकाइ सामग्रीको व्यवस्थापन एवं शिक्षक तालिमको व्यवस्थासमेत सेभ द चिल्ड्रेनले गर्दै आइरहेको छ । बाढी, पहिरो, भूकम्प जस्ता विपद् जोखिमपश्चात् सिकाइ निरन्तरताका लागि आवश्यकताअनुसार अस्थायी सिकाइ केन्द्रहरूको स्थापना, विद्यालय भवन निर्माण तथा मर्मत, विद्यालयमा खानेपानी तथा सरसफाई सुनिश्चितताका लागि धारा र शौचालय मर्मत निर्माणका कार्यहरूसमेत गर्दै आइरहेको छ । यी सम्पूर्ण कार्यका लागि सेभ द चिल्ड्रेनले नेपाल शिक्षा समूह र केही प्रदेश शिक्षा समितिहरूको सह–नेतृत्व गरिरहेको छ ।

Facebook Comments

‘समावेशीकरणका लागि सहजीकरण’ : पिपुल इन नीडले समावेशी शिक्षामा सामाजिक रूपान्तरण गर्दै

Previous article

विपदमा सिकाइ निरन्तरताः पहिलो प्राथमिकता

Next article