शम्भु यादव/लहान
सिरहाको उत्तरवर्ती गाविस गोविन्दपुर–५ का झुटकीटोल । जंगलको छेउमै छ । त्यहीँ टोलको धार्मिक स्थल मानकदहमा ४०/५० घरपरिवार मुसहर समुदायको बसोबास छ । नजिकै आधारभूत विद्यालय रहेको छ । यो समुदायको केही बालबालिका विद्यालय गएपनि तर अधिकांशले चाहिँ स्कूलको मुख देख्न पाएका थिएनन् ।
अब भने अवस्था फरक देख्न थालिएको छ । एक गैरसरकारी संस्थाको सहयोग पढ्न थालेका छन् । एक्सन एड नेपालको सहयोग र दलित जन कल्याण युवा क्लब लहानको स्थानीय अधिकार कार्यक्रममार्फत् ३७ घर सदाय समुदायको बालबालिका र अभिभावकलाई एक ठाउँमा राखेर शिक्षाको महत्व के हो ? भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।
अहिले ३० घर परिवारका बालबालिका नियमित विद्यालय आइरहेका प्रअ कुशेश्वर यादवले जानकारी दिनुभयो । पहिले यस समुदायको १० जना बालबालिका मात्र स्कूल जाने गर्थे । अब दलित जन कल्याण युवा क्लबले सहयोग गरेपश्चात् ‘शिक्षा हामी र हाम्रो बालबालिकाहरुलाई किन आवश्यक छ, शिक्षाले हाम्रो जीवनमा केही परिवर्तन ल्याउँछ/ल्याउँदैन ? बालबालिका अशिक्षित भए भने के कस्ता समस्याहरु आउँछन् ? लगायतका प्रश्नमा छलफल गर्दा अभिभावकहरु सचेत हुन पाए । शिक्षाप्रतिको साेंच सकारात्मक भएको स्थानीय अभिभावक घुरण सदायले सुनाउनुभयो ।
अहिले यही सदाय समुदायको ४० जना बालबालिका नियमित स्कूल जान थालेका छन् । ‘रिफ्लेक्टको माध्यमबाट पनि यस ठाउँका बालबालिकाको जन्म दर्ता र विद्यालय भर्ना अभियान गर्ने गरेका छौं,’ क्लबका कार्यकारी निर्देशक विनोद विसुन्केले भन्नुभयो । सदाय समुदायमा प्रत्येक घरपरिवारलाई ‘हरियो खाइ पोषण बढाउ’ भन्ने नाराका साथ खेती गर्नका लागि आलुलगायत अन्य तरकारीको बीऊविजन दिएर पनि सहयोग गरिएको छ ।
खासगरी, यस्ता समुदाय आर्थिक रुपमा कमजोर भएपछि आफ्ना बालबालिकालाई विद्यालय पठाउन सकिरहेका छैनन् । उनीहरुको आर्थिक उन्नति होस् भन्ने उद्देश्यले सहयोग गरेको पनि विसुन्केले प्रष्ट्याउनुभयो ।