समाचार

मनको मिररमा प्रकट भएकी प्रकृति


उनले साहित्य लेख्न थालेको कक्षा ७ देखि नै हो । शुरुमा यसो सानोखालको डायरी लेख्ने उनको बानी थियो । लेख्दा–लेख्दै कविता लेख्ने उनलाई आदत परेछ । उनी अर्थात् प्रकृति नकर्मी । स्कूले जीवन छँदा मनका उकुसमकुसभित्र गुम्सिएका सयौं पात्रलाई उनले कविताको माध्यमबाट बाहिर ल्याइन् । ती कोही प्रेम गर्ने मायालु थिए त कोही घृणा गर्ने पात्र । किशोर अवस्थामा जोकोहीसँग हुने उत्सुकता, मनभित्रको द्वन्द्व, सिर्जना अनि संवेगलाई प्रकृतिले कवितामा उतारिन् । स्वभावले उनी अन्तर्मुखी छिन् । एक्लै बस्न रुचाउने र शान्त कोठामा कागजलाई कविताले रंग्याउने । उनको त्यो स्वभावलाई कतिले ‘एकाड्ढी’ अनि ‘एकलकाटे’ पनि भनिदिए । प्रकृतिको प्राकृतिक पक्ष बुझ्न सकेनछन् । यस्ता अन्तर्मुखी स्वभावका विद्यार्थीहरु आफ्ना भावना दबाएरै आफैंदेखि निराश पनि बन्ने गर्छन् ।

प्रकृतिले त्यसो गरिनन् । जीवनका यस्तै धेरै उत्तरचढावलाई आफैंमा केन्द्रित गरी १८ वर्षे किशोरी उनले गत शनिबार राजधानीमा कविता संग्रह लोकार्पण गरेकी छन् । ‘ब्रोकन ग्लास हाउस’ नामको कविता संग्रह । सबै अंग्रेजीमा लेखिएका । ८९ वटा कविताको त्यस संग्रहमा पूरै मानवीय संवेगका कुरा त छँदैछन्, विद्यालय जान मन नलाग्नु र अहिलेको अनिवार्य स्कूलविरुद्ध कवयित्री प्रकृतिले सभ्य विद्रोह गरेकी छिन् । मनभित्र थुप्रै मिरर अर्थात् भावना रुपी सीसाका घर बनेका छन् । त्यसलाई परिवारले अनि समाजले नबुझ्ने हो भने त्यो छिनभरमै चक्नाचुर हुन सक्छ । प्रकृति जस्तै धेरै स्कूले किशोरकिशोरीमा यो लागू हुन्छ, कविता संग्रहको शीर्षकले नै यसको छनक दिन्छ ।

शिक्षा पत्रकार समूह आयोजक भइदिएको त्यो लोकार्पणमा प्रा.डा. गोविन्द भट्टराई र नेल्टाकी पूर्व अध्यक्ष मीरा श्रेष्ठले समीक्षा गर्नुभयो । प्रा.डा. भट्टराईले नेपालमा यसरी नव नारी स्रष्टा जन्मनु सानो कुरा होइन भन्नुभयो । उहाँले नेपालमा अहिलेसम्म १७ जना किशोरीहरु अंग्रेजी कवितामा स्थापित भएको र प्रकृतिको १८ औंमा परेको बताउनुभयो । उहाँले साह्रै सरल र अब्बल शब्दमा प्रकृतिका कविता लेखिएको छ भन्नुभयो । ‘प्रकृतिका ब्रोकन ग्लास हाउसमा एउटा यस्तो प्रेमी पात्र छ जो छिनछिनमा विभिन्न भूमिकामा आउँछ–जान्छ, छुन खोज्छ, नछोइ जान्छ, खासमा यो प्रेमलाई केन्द्रविन्दु बनाई लेखिएको कृति हो,’ भट्टराईले भन्नुभयो, ‘साहित्यमा कविता सबभन्दा माथिल्लो दर्जामा पर्छ ।

जुन प्रकृतिले लेख्न सकेकी छन् । कल्पना नै उनको वास्तविकता यसमा देखिन्छ ।’ उहाँले नव नारी स्रष्टाहरुको कृतिलाई अहिले विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश गरिन थालिएको जानकारी दिनुभयो । लोकार्पणको सभापतित्व गर्नुभएका डा. विद्यानाथ कोइरालाले प्रकृतिले सानैदेखि लेखेको कविता कम शक्तिसाली नभएको बताउनुभयो । अभिभावक र शिक्षकले विद्यार्थीको अन्तरमनको प्रतिभा बुझ्नुपर्ने आग्रह गर्दै कोइरालाले भन्नुभयो, ‘कोही प्रकृतिको झैं कविता लेख्लान्, कोहीले चित्र बनाउलान्् त कोही गीत गाउँलान् । अभिभावक र शिक्षकले चिन्न सक्नु पर्छ अनि शिक्षा पत्रकारहरुले पनि यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउन मद्दत गर्नु पर्छ ।’ समीक्षक मीरा श्रेष्ठले प्रकृतिका अनुभूतिले हरेक किशोरावस्थाको भित्री पाटोलाई सुन्दर ढङ्गले कवितामा छल्क्याइदिएको टिप्पणी गर्नुभयो ।

कवयित्री प्रकृतिले पनि आफू डायरी लेख्दालेख्दै लेख्ने मोहमा परेको बताइन् । उनी पढिरहेको ट्रिनिटी कलेजका शिक्षकको प्रेरणा, बुवाको साथ र साथीहरुको सहयोगले आज संग्रह नै निकाल्न सफल भएको सुनाइन् । हुन पनि, उनको बुवा राजेशले उनलाई किताब किन्नै दैनिक सय रुपैयाँ दिने गर्थे । ‘शिक्षक निर्मल अधिकारीले हरेक क्षण लेख्न मलाई प्रेरणा दिनुभएको थियो,’ उनले भनिन् । प्रकृतिले कवितामा भने झैं आफू प्रेममा नपरेको तर आफ्नो अनुभूति केटीको मात्र नभई एकजना केटा मानिसले पनि कसरी सोच्छ भन्ने पक्षलाई प्रकट गरिएको स्पष्ट पारिन् । ‘डा. गोविन्द सरले ठीकै भन्नुभयो, म फरक र एक्लै बस्न चाहने स्वभावकी छु । वास्तविक जीवनभन्दा पर काल्पनिक दुनियाँमा रम्न चाहन्थेँ । जुन लेख्दाखेरी अनुभूति हुन्थ्यो,’ उनले मन्तव्यका क्रममा भनिन् ।

Facebook Comments

संघीय संरचनामा शिक्षा : केमा स्पष्ट, केमा अस्पष्ट ?

Previous article

संघीयतामा शिक्षा : यस्तो छ सेवा प्रवाहको अपेक्षित ढाँचा

Next article