लामो समय निजामती सेवामा बिताउनुभएका भोलानाथ शर्मा अवकाश पछि पनि आराम गरेर बस्नुभएन । आफ्नो गाउँ फलेवास पर्वतको भवानी विद्यापिठ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर निरन्तर विद्यालय सुधारमा लागिरहनुभएको छ । छाना होइन, पहिले जग बलियो बनाउनुपर्छ भन्दै उहाँले विद्यालयको तल्लो तहदेखि नै सुधार गर्नुपर्छ भनेर एउटा स्वयंसेवी विज्ञहरुको समूह नै बनाउनुभएको छ । सुधारिनुपर्ने सामुदायिक विद्यालयहरुका निम्ति नयाँ व्यवस्थापन र योजना बनाएर उहाँ अनुकरणीय बन्नुभएको छ । उहाँको योजना नै पहिले पूर्व–प्राथमिक र प्राथमिक तहमा सुधार गर्ने हो । क्रमिक रुपमा माथिल्ला तहमा सुधार गर्दै जाने योजनामा रहनुभएका शर्मासँग आजको शिक्षा साप्ताहिकका लागि रोशन क्षेत्री गाउँलेले गर्नुभएको कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, सो कुराकानीको सारसंक्षेप ।
भोलानाथ शर्मा
विव्यस अध्यक्ष
भवानी विद्यापीठ मावि, फलेवास, पर्वत
विद्यालय सुधार गर्नुपर्छ भन्ने सोंच कसरी आयो ?
जग बलियो नबनाई छानो मात्रै हालेर त नहुँदो रहेछ । छानो त हालियो । सरकारबाट उत्कृष्ट विद्यालय बनेर ५ लाख रुपियाँको पुरस्कार पनि पायौं । त्यही पाँच लाखको इज्जत राख्नु त छँदैथियो, हामी विद्यालय सुधार गर्न अझै लाग्यौं । हामीलाई तनाब पनि भयो । कसरी शुरु गर्ने ? पछि पढ्दै जाँदा जापान, कोरियालगायतका देशमा प्राथमिक तहका शिक्षकलाई बढी सम्मान भएको पायौं । धेरै पढेको मान्छेलाई प्राथमिक तहमा पढाउन लगाइने र उनीहरुलाई प्रोफेसरसरहको सुविधा दिने कुरा थाहा पायौं । शिक्षा राम्रो बनाउन तल्लो तहदेखि सुधार हुनुपर्छ भन्ने यो तरिका हामीलाई मनपर्यो । । भित्रैदेखि छोयो । हामीले पनि यो किन नगर्ने, किन नसक्ने ? भन्दै शुरु गर्ने निधो गर्यो । अहिले हामी दोस्रो वर्षमा छौं ।
शुरुवात कसरी गर्नुभयो ?
मैले प्राथमिक तहमा उमाविका शिक्षकलाई भन्दा बढी तलब दिन्छु भनेर भाषण गर्दै पनि हिँडेँ । प्राथमिक तह राम्रो नबनाई विद्यालय राम्रो नहुने रहेछ र यसलाई राम्रो बनाउन त्यहाँ राम्रा शिक्षकलाई आकर्षण गर्नु पर्दाेरहेछ भन्ने मैले बुझेँ । राम्रा शिक्षक आकर्षण गर्न राम्रो सुविधा दिनुपर्दो रहेछ भनेर हामी लाग्यौं । धेरै शिक्षाविद्हरुलाई विद्यालयमा लग्यौं । ती शिक्षाविद् र व्यक्तिहरुको घरमा धाएँ । प्रावि तहको शिक्षक व्यवस्था गर्नका लागि । मैले एकजना शिक्षाविद् पनि प्राथमिक तहदेखि नै सुधार गर्नुपर्छ भनेर लागिरहनुभएको छ भन्ने सुनेँ । त्यसपछि मैले उहाँलाई भेटेँ । विद्यालयमा लगेँ । अनि त्यसपछि विज्ञहरुको समूह बनाइयो । योजना बनाइयो र काम शुरु गरियो । पहिले प्राथमिक तहका लागि सहयोग खोजेर छुट्टैखाले भवन बनायौं । सहयोगमा नै रङ्गरोगन गरियो । जग्गा डा. पिताम्बर शर्माले र विदेशमा रहेका विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा भवन बनाइएको थियो । हामीले काठमाडौंबाटै मसिक ३० हजार रुपैयाँ दिएर मन्टेश्वरी पढाउन शिक्षकहरु लगेका छौं । अन्य शिक्षकहरुलाई समेत ४० हजार रुपैयाँसम्म दिएर लगेका छौं । प्रि–प्राइमेरीदेखि प्राथमिक तहसम्म झण्डै सय बालबालिका अध्ययन गर्ने गर्छन् ।
अन्य विद्यालयभन्दा तपाईँहरुको स्कूल कुन–कुन कुरामा भिन्न छ ?
अन्य विद्यालयहरुले गरेका अंग्रेजी माध्यममा हाम्रो विद्यालयले मन्टेश्वरी प्रणालीमा पठनपाठन गराउँछ । हामी सकभर योग्य र क्षमतावान शिक्षकहरु भर्ति गरेका छन् । भएका शिक्षकहरुलाई सकेसम्म तालिम दिएर योग्य बनाउने प्रयास गरेका छौं । हामीले हाम्रै स्रोतमा शिक्षकहरुलाई ६ महिने तालिम प्रदान गरेका छौं । सरकारी तालिममा हाम्रो विश्वास छैन । हामीले उत्कृष्ट शिक्षकहरुलाई छनौट गरी उनीहरुलाई भक्तपुरमा तालिम दिएर बल्ल विद्यालयमा लग्ने गर्दछौं । गुणस्तर भनेको बोलेर मात्रै, काम गरेर मात्रै आउँदैन । ठूलो योजना पनि चाहिन्छ । सुधारिन नचाहने, नयाँ ढंगमा सिकाउन नसक्ने शिक्षकहरुलाई हामी कक्षामा प्रवेश गर्न दिँदैनौं । ‘बरु, हाजिर गर्नुस तलब दिन्छौं । तर कक्षाकोठामा प्रवेश गर्न पाउनुहुन्न’ भन्छौं । विद्यालय सुधारको पहिलो खम्बा भनेका नै राम्रा शिक्षक हुन् । केही गर्दा पनि त्यस्ता शिक्षकहरुलाई सुधार गर्न सकिएन भने सरकारसँग सरुवा गरिदिन भन्दै आग्रह गर्छौं । हामी नाफा कमाउन, कुनै लाभ लिनभन्दा पनि विद्यालय सुर्धान लागेकाले हामीलाई डर छैन । हामी मन्टेश्वरीबाट शुरु गरेको नयाँ व्यवस्थापन क्रमशः बढाउँदै लग्नेछौं ।
नयाँ व्यवस्थापनमा विद्यालय गएपछि यसको रिजल्ट कहिले देखिन्छ त ?
हामीले बल्ल मन्टेश्वरीदेखि ३ कक्षासम्मबाट शुरु गरेका छौं । यो बिस्तारै माथि बढ्दै जान्छ । ८/१० वर्षपछि यो ब्याचले एसइइ परीक्षा दिएपछि यसको नतिजा देखिन्छ । हामीले नतिजालाई भन्दापनि यी विद्यार्थी विश्वबजारमा कति सफल हुन्छन भनेर मूल्याङ्कन गर्नेछौं । हामीले अहिले विद्यालयमा ११ र १२ कक्षामा विज्ञान संकाय सञ्चालन गर्दै आएका छौं । विज्ञान पढ्ने विद्यार्थी खोज्न हामीलाई अहिले जिल्ला नै चहार्नुपर्ने, विभिन्न स्थानबाट छात्रवृत्ति खोजेर आकर्षित गर्नुपर्ने अवस्था छ । तर, आगामी दिनमा हामीकहाँबाट एसइइ दिने प्रायः विद्यार्थीले विज्ञान पढ्ने बनाउनेछौं । हामी केही विशेषज्ञ शिक्षक खाजेर अंग्रेजी, विज्ञान र गणित विषयमा कक्षा ७ देखि १० सम्म विशेष फोकस गर्ने योजनामा छौं । कमजोर विद्यार्थी सधैं कमजोर हुने र जान्ने विद्यार्थी सधैं जान्ने हुने प्रथा अन्त्य गर्दैछौं ।
विद्यालय प्रशासन र तपाईँहरुको सम्बन्ध कस्तो छ ?
म त विव्यस अध्यक्ष भएपछि विद्यालय परिवार नै भएँ । अन्य साथीहरुसँग पनि विद्यालय प्रअ, अभिभावकलगायत विद्यालयसँग सुमधुर सम्बन्ध छ । हामी विद्यालय नै राम्रो बनाउछौं भनेर लागेको अवस्था हो नि । स्वयंसेवी रुपमा स्कूल बनाउन लागेका मान्छेहरुलाई विद्यालय परिवारले स्वागत नगर्ने कुरा आउँदैन । हाम्रो विज्ञ समूह केही वर्षभित्रै विश्वस्तरको उत्कृष्ट विद्यालय बनाउन लागिरहेको छ । हामीले विज्ञ समूहका चिनजान रहेका विदेशमा बस्नेहरुसँग सहयोग मागेर धेरै विद्यार्थीहरुलई छात्रवृत्ति दिएका छौं । नेपालमा बसेका सो विद्यालयका पूर्व विद्यार्थीबाट समेत छात्रवृत्ति संकलन गरेका छौं ।
हाम्रो शिक्षा कमजोर हुनुको कारण के हो ?
हाम्रो शिक्षा प्रणालीले विद्यालय सुधारको मुख्य खम्बा प्रधानाध्यापकलाई मानेको छ । र, सबै प्रधानाध्यापकहरु योग्य र सक्षम छैनन् । राम्रा विद्यालय हेर्यो भने त्यहाँका प्रधानाध्यापकहरु उत्कृष्ट भएको पाउँछौं । जहाँ राम्रा नेतृत्व छन्, त्यहाँ सुधार पनि छ । निजी विद्यालयहरुले मासिक एक लाख, डेढ लाख रुपैयाँ दिएर राम्रा प्रिन्सिपल राखेका हुन्छन् । तर, सामुदायिक विद्यालयमा त्यस्तो हुन सकेको छैन । नेतृत्वदायी, व्यवस्थापन र आर्थिक सञ्चालनको क्षमता हुनु पर्दोरहेछ प्रधानाध्यापकहरुमा । ‘म विद्यालयमा सुधार ल्याउँछु’ भनेर प्रतिबद्ध हुँदै बिहान ७ देखि साँझ ६ बजेसम्म विद्यालयलाई समय दिने प्रधानाध्यापक चाहिने रहेछ । सकभर विद्यालय पायक प्रधानाध्यापक हुनु जरुरी छ । विद्यालय आउँदाजाँदा उहाँहरुको २/४ घण्टा शक्ति नघटोस् । शिक्षकहरुसँग बेला–बेलामा बसेर खाना खाने, छलफल गर्ने गर्नु पर्छ । हामी त बरु एक लाख तलब दिउँ विश्वविद्यालयका उत्कृष्ट प्राध्यापकहरु विद्यालयमा पढाउन लगौं भन्ने मान्यता राख्छौं । हाम्रो योजना पनि यही हो । रिजल्ट आउनुप¥यो । हामी शिक्षकलाई मासिक एक लाख रुपैयाँ दिन कन्जुस्याइ गर्दैनौं ।
आगामी दिनमा विद्यालयको योजना के छ ?
हामी जीवनसँग शिक्षा जोड्न चाहन्छौं । विद्यार्थीहरुलाई अनिवार्य परियोजना कार्य र श्रम शिक्षा लिनुपर्ने व्यवस्था गर्न लागिरहेका छौं । हाम्रो विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुको सर्टिफिकेट मात्रै हुने छैन, सीप र अनुभवको प्रमाणपत्र पनि हुनेछ । १२ कक्षा उत्तीर्ण विद्यार्थीले वर्षको एकका दरले कम्तिमा १२ वटा विरुवा हुर्काउनुपर्यो । श्रमसँग शिक्षालाई जोडौं । कोही गड्यौला पालेर पढ्न खोज्लान् । कोही तरकारीका विरुवा उत्पादन गरेर पढ्न खोज्लान् । हामी वातावरण दिन्छौं । म पढेपछि नेपालकै सेवा गर्छु भन्ने भावना विद्यार्थीमा जगाउनसमेत हामी लागिरहेका छौं । हाम्रा विद्यार्थी विदेश नजाउन्, डाक्टर, इञ्जिनियर बनेर देश बनाउन भनेर हामी लागिरहेका छौं । नेता बने राजनेता, वैज्ञानिक बने उत्कृष्ट वैज्ञानिक, डाक्टर बने विशेषज्ञ डाक्टर, कर्मचारी बने उत्कृष्ट कर्मचारी बनुन् भन्ने हो । हामी केही वर्षभित्र बुढानिलकण्ठ स्कूलकै गुणस्तरमा पुग्नेगरी अगाडि बढिरहेका छौं । हामी हल्ला नगरी काममै व्यस्त छौं ।