प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले यही २४ गतेका लागि तोकेको प्रवेश परीक्षा दुई सातासम्मका लागि स्थगित गरेको छ ।
चिकित्सा शिक्षा ऐन कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा आयोग र सिटिइभिटिबीचको विवादले प्रवेश परीक्षा स्थगन भएको हो । स्थगित प्रवेश परीक्षा आउँदो भदौ २ र ६ गते गरिने सिटिइभिटिले जनाएको छ ।
सिटिइभिटिले आफ्नै ऐनमा भएको अधिकार प्रयोग गर्दै सिट निर्धारण गरी एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा सिट निर्धारण गरेर मेडिकल शिक्षाको भर्ना आह्वान गरेको थियो । तर, चिकित्सा शिक्षा आयोगले विद्यार्थी तथा अभिभावकलाई सिटिइभिटिको भर्ना आह्वान चिकित्सा शिक्षा ऐनविपरित भएको जनाउँदै आएको छ । आयोगले विद्यार्थी भर्ना नगर्न चेतावनी दिएकाले विवाद बढ्दै गएको छ ।
शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले आयोग र सिटिइभिटिलाई समन्वय गरी अघि बढ्न निर्देशन दिएपछि प्रवेश परीक्षा दुई हप्तापछि सारिएको बताइएको छ ।
सिटिइभिटिबाट सम्बन्धन प्राप्त शिक्षालयमा कोटाअनुसार ५० प्रतिशत पनि विद्यार्थी भर्ना हुन सकेका छैनन् । समग्र सिटअनुसार भर्ना हुने विद्यार्थी ४७.८४ प्रतिशत मात्रै रहेका छन् । यो वर्ष सिटिइभिटि र चिकित्सा शिक्षा आयोगबीचको विवादले प्रवेश परीक्षा ढिला हुँदा एसइई उत्तीर्ण विद्यार्थी अन्यत्रै वा विदेश जान सक्ने चिन्ता गरिएको छ ।