शम्भु यादव/लहान
सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निजी विद्यालय र केन्द्राध्यक्षको सेटिङ्गमा व्यापक चिट चोरी भइरहेको खुलेको छ । चिट चोरीको सेटिङ्ग मिलाउन निजी विद्यालयहरुले मोटो रकम खर्चेको पनि बताइएको छ । उनीहरुले त्यो रकम अभिभावकबाट ‘सेन्टर खर्च’ भनेर असुलेका हुन् ।
चिट चोरी गराउने उद्देश्यले परीक्षा केन्द्रमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई छुट्टाछुट्टै कक्षामा बसाउने गरेका छन् । परीक्षामा सम्बन्धित विद्यालयका प्रावि शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि सिरहामा रकम चलखेलमा निजी विद्यालयहरुले आफ्नै शिक्षकहरुलाई गार्ड राखेको पाइएपछि यस्तो रहस्य खुलेको हो ।
निजी विद्यालयहरु रहेको परीक्षा केन्द्रहरु चन्द्र मावि सिरहा, जनता बनवाली मावि वर्छवा, मोहन मावि मिर्चैया, जनसेवा मावि कर्जन्हा, जनता मावि चन्द्रोदयपुर, जमावि चन्द्रलालपुर, सरस्वती मावि जमदह, जमावि अयोध्यानगर कसहा, मावि पडरिया, पशुपति आदर्श मावि लहान, लक्ष्मण ललिता मावि लहान, मावि ब्रम्हान गोर्छारीलगायत परीक्षा केन्द्रहरुमा परीक्षामा सामेल विद्यालयहरुकै गार्ड राखेको बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाले परीक्षा केन्द्र रहेको विद्यालयलाई आफ्नै विद्यालयको जनशक्ति परिचालन गरी परीक्षा सञ्चालन गर्न निर्देशन दिएको बताएपनि जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयबाहेकका शिक्षकको सहयोग लिन भनेको बताउनुभयो । तर, केन्द्राध्यक्षहरुले विद्यार्थी रहेका निजी विद्यालयका शिक्षकहरुलाई गार्डमा राखेका छन् । फेरि उनीहरुलाई अन्य विद्यालयको शिक्षक हो भनेर सिफारिस गराएका छन् ।
जिशिअ कर्णले भन्नुभयो, ‘मैले सबै केन्द्राध्यक्षहरुलाई जनशक्ति नपुगेको अवस्थामा मात्र अन्यत्र सहयोग लिन निर्देशन दिएको छु, त्यस्तो नगरेको अवस्थामा सम्बन्धित परीक्षा केन्द्राध्यक्ष नै जिम्मेवार हुनेछन् ।’
यता केन्द्राध्यक्षहरु भने जिल्लाले नै छुट दिएकाले निजी विद्यालयका शिक्षकहरु आउने गरेको बताउँछन् । जमावि अयोध्यानगर कसहाका केन्द्राध्यक्ष सुरेशकुमार साहले शिक्षा कार्यालयसँगै सोधेर गार्ड राखेको दाबी गर्नुभयो । सिरहाका ५४ निजी विद्यालयबाट २ हजार २ सय ७६ विद्यार्थी परीक्षामा सम्मिलित छन् ।
सामुदायिक विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । सेन्टर खर्च व्यहोर्ने र गार्डबापतको रकम नलिने शर्तमा केन्द्राध्यक्षहरुले निजी विद्यालयका शिक्षकलाई गार्ड र एउटै कोठामा विद्यार्थीलाई राखी परीक्षा लिने गरेको स्रोतको दाबी छ ।
यसैैगरी, भलुवाहीको परीक्षा केन्द्रमा मिथिला सरस्वती आवाशीय माविका शिक्षक भरत मण्डल सहायक केन्द्राध्यक्ष रहेको पाइएको छ । मावि भलुवाहीको राहत शिक्षक समेत रहेका मण्डल मिथिला सरस्वती आवशीय मावि विष्णुपुरका फाउन्डर तथा शिक्षकसमेत रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार केन्द्राध्यक्ष गंगाराम यादवको सेटिङ्गको आधारमा मावि भलुवाहीको केन्द्रमा रहेको द डायनामिक से.बो.इ. र मिथिला आवशीय मावि विष्णुपुरका विद्यार्थीलाई एउटै कोठामा राखी परीक्षा लिएको छ ।
के भन्छ अनुगमन टोली ?
शुक्रबार दोस्रो दिनको परीक्षामा अनुगमन गरी फर्किनुभएका शिक्षा कार्यालय सिरहाका विद्यालय निरीक्षक भवानी कट्टेलका अनुसार कतिपय सेन्टरमा ‘सिट प्लानिङ्ग’ नमिलेको छ । निजी विद्यालयको बेग्लै र सामुदायिक विद्यालयको छुट्टै रहेको उहाँले सुनाउनुभयो । कट्टेलले शुक्रबार थारु पडरियाटोल, ब्रह्मान गोर्छारी र ललकु मावि लहान परीक्षा केन्द्रमा अनुगमन गर्नुभएको थियो । यस्तै, पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयबाट एसइइ परीक्षा अनुगमनमा आएका हरि वस्तीका अनुसार सुधार गर्न परीक्षा केन्द्रमा निर्देशन दिइएको छ । अब सुधार हुने उहाँले बताउनुभयो । उहाँले ‘केही न केही गडबड देखिएको छ’ भन्नुभयो ।
सिरहा प्रहरी प्रमुख शेखर कोइरालाका अनुसार, परीक्षा शान्तपूर्वक नै भइरहेको छ । ‘पत्रकारलाई फोटो खिच्न नदिएको कुरा बाहिर जसरी आएको छ, त्यस्तो होइन । हामीले नियम नै बनाएका छौं कि केन्द्राध्यक्षसँगै पत्रकार सेन्टरमा घुम्ने र फोटो खिच्नसक्ने तर केन्द्राध्यक्षले के गर्छन् ? त्यो जिशिअसँग सम्बन्धित कुरा हो,’ कोइरालाले भन्नुभयो ।