समाचार

‘छाउपडी’ सुनाउन दाङसम्म


दाङ । जानकी तिमल्सेना अछामको कालिका माध्यमिक विद्यालयमा पढाउँछिन् । सुदूरपश्चिमका पहाडी गाउँघरमा ‘अभिशापु कै रूपमा रहेको ‘छाउ’ ले उनलाई छाडेन । उनी पनि महिनाबारी हुँदा कुनै बेला सात दिनसम्म गोठको अन्धकारमा बसेर निस्किएकी थिइन् । ‘त्यो बेला नयाँ संसारमै निस्किएजस्तो लागेको थियो’, छाउको अनुभव सुनाउन स्कुलकी छात्रा शकुन्तला शाहीलाई लिएर दाङ आएकी उनले भनिन्, ‘यो अझै गाउँघरमा चलिरहेकै छ । कति त छाउगोठमै मरिरहेका छन् ।’

नेपालका सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्लामा छाउपडी प्रथाको अन्त्य तथा स्वच्छता व्यवस्थापनका लागि दाङमा सञ्चालित एक कार्यक्रममा अछामको छाउपडीको अवस्थाबारे अनुभव साट्न उनी विद्यालय बिदा लिएर आएकी हुन् । उक्त अवसरमा उनले अछाममा व्याप्त छाउपडी प्रथाको अवस्थाबारे खुलेर कुरा गरिन् । कुरा मात्रै गरिनन्, आफू शिक्षक हँदा पनि यो पीडामा बस्दै आएको समेत उनले बताइन् । ‘म एक शिक्षिका हुँ तर मैले पनि भोगेकी छु छाउ’, उनले भनिन्, ‘कति महिलाले छाउकै कारण ज्यानसमेत गुमाइसकेका छन ।’ त्यसमा पनि किशोरीहरूको अवस्था डरलाग्दो रहेको उनको भनाइ छ ।

पहिले पढाइमा अब्बल किशोरी महिनाबारी हुन थालेपछि कमजोर बन्दै जाने गरेको उनले बताइन् । ‘अब म यसको अन्त्यका लागि यहाँबाट सिकेका विषयलाई प्रयोगमा ल्याउनेछुु, उनले भनिन् । छाउपडीले समुदायमा अझै पनि जरा गाडेको अछामकै सामाजिक कार्यकर्ता सत्या स्वाँरले बताइन् । ‘सुदूरपश्चिममा यसको सुधार अझै हुन सकेको छैन’, उनले भनिन्, ‘समाजलाई छाउपडीमुक्त गर्न खोज्दा समुदाय नै त्यसको प्रतिकारमा उत्रिने डर छ । अब धामीझाँर्की र पुरोहितलाई प्रयोग गरेर भए पनि अछामको छाउपडी प्रथा हटाउनुपर्‍यो ।’

छाउको समस्या कालीकोटमा पनि कम नभएको कालीकोटकी दत्ता शाहीले बताइन् । ‘केही समयअघि यसबारे केही सचेतना आएको थियो’, उनले भनिन्, ‘अहिले भने बढेको छ । महिलालाई चिसो कोठामा पाँच दिन काट्न कठिन छ ।’ जुम्लाका कमल खत्रीले पनि अन्यत्रजस्तै त्यहाँ पनि छाउप्रथाले जरो गाडेको अनुभव साटे । रूकुमकी शिक्षक श्यामकला डाँगीले ती जिल्लाभन्दा रुकुममा केही फरक भएको अनुभव सुनाइन् । रुकुममा छाउपडीकै समस्या नरहे पनि केही दिनका लागि केही वस्तु छुन मनाही गर्ने गरिएको उनको भनाइ छ ।

अहिले समुदायमा महिनाबारी बार्ने चलन व्यवस्थित भए पनि पूर्ण रूपमा नबार्ने अवस्था भने छैन । रोल्पाकी सीताकुमारी विष्टले पहिले र अहिलेको अवस्थामा अन्तर भए पनि महिनाबारी बार्ने चलन निर्मूल भनएको धारणा राखिन् । चितवनकी सावित्री भण्डारीले आफूले दुईपटकभन्दा बढी महिनाबारी नबारेको अनुभव सुनाइन् । ‘मैले दुईपटकसम्म महिनाबारी बारेँ’, उनले भनिन्, ‘तेस्रोपटक जवरजस्ती घरभित्र छिरेँ । त्यसपछि आफ्नै खाटमा सुत्ने गरेकी छु ।’

महिनाबारीको स्वच्छता र व्यवस्थापनसम्बन्धी दाङमा सञ्चालन भएको कार्यक्रममा छाउपडीसम्बन्धी आफ्ना अनुभव सुनाउन विभिन्न जिल्लाका प्रतिनिधि आएका थिए । अन्नपुर्णपोष्ट दैनिकमा गोपाल शर्माले खबर लेखेका छन् ।

Facebook Comments

कक्षा–कक्षामा जिशिअ

Previous article

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

Next article