काठमाडौंको तीनकुनेस्थित पद्मश्री कलेजबाट स्नातक तह बीआईटी र बीएचएम गरेका ११० जना विद्यार्थी बिहीबार दिक्षित भएका छन् ।
दिक्षित सबै विद्यार्थीहरुले मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिई सञ्चालन भएका चारवर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका हुन् । सबै विद्यार्थीहरुलाई नेपाल सरकारका पूर्व मुख्यसचिव तथा सामाजिक अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथिका रुपमा रहेका पौडेलले दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै भने, ‘शिक्षित भएपछि सम्भव भएसम्म देशभित्रै अवसरहरुको खोजी गरी काम गर्नु पर्छ ।’
सोही अवसरमा डा. पुकार मल्ल, डा. लोचन रिजाल, एलिन बाइलोचन तुलाधरलगायतले देशभित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए ।
पद्मश्री कलेजले विगत दुई दशकदेखि सूचना प्रविधि, कम्प्यूटर, हस्पिटालिटीलगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आएको छ । सो कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा आयोजना गरिएको थियो ।