समाचार

पाठ्यपुस्तक अझै ७० लाख थान छाप्न बाँकी


काठमाडौं–जनक शिक्षा सामग्री केन्द्रले सोमबार (१४ चैत) सम्म १ करोड २५ लाख थान विद्यालय तहको पाठ्यपुस्तक छापेको छ ।

शैक्षिक शत्र शुरु हुन १६ दिन मात्र बाँकी रहँदा केन्द्रले पाठ्यपुस्तक यति मात्र छाप्न सफल भएको हो । कक्षा ६ देखि १० सम्म एक करोड ९५ लाख थान किताब छाप्नुपर्ने जनक शिक्षा सामग्री केन्द्रको जिम्मा हो । यो हिसाबले अझै ७० लाख थान किताब छाप्न बाँकी नै छ । यद्यपि, १३ लाख थान भने छपाइकै क्रममा रहेको जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिलदेव पोखरेलले जानकारी दिनुभयो । जनक शिक्षाले चैत मसान्तभित्र आफ्नो जिम्माको सबै पाठ्यपुस्तक छापिसक्ने वाचा सरकारसित गरेको थियो ।

सेटमा कति–कति छापिए ?
जनक शिक्षाका निर्देशक पोखरेलका अनुसार कक्षा ८ र ९ को किताब ३ लाख बढी सेट छापिएको छ । त्यस्तै, कक्षा १० को दुई लाख बढी सेट छपाइसकिएको छ । कक्षा ६ र ७ को छापिएको सेट भने दुई लाखभन्दा बढी छैन । कक्षा ६, ७ र ८ को सेट पुग्न नौवटा विषयका पाठ्यपुस्तक छापिनु पर्छ । ९ र १० को भने ८ विषय रहेका छन् । कक्षा ६ देखि १० सम्मै जम्मा साढे चार लाख सेट छाप्नुपर्ने हुन्छ । यी तहमा जम्मा १ सय ४६ शीर्षकका पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।

साझाले एक थान पनि बुझाएन !
यता, जनक शिक्षा सामग्रीबाट ३० लाख थान पाठ्यपुस्तक छाप्न जिम्मेवारी पाएको साझा प्रकाशनले सोमबारसम्म एक थान पनि बुझाएको छैन । जनकले कागज बन्दोबस्त गरी साझाले सम्झौता गरेको एक महिनाभित्र ३० लाख थान पाठ्यपुस्तक छापी बुझाउने सम्झौता भएको थियो । तर, एक महिना बित्नै लाग्दा अहिलेसम्म पाठ्यपुस्तक नबुझाएको जनकका अधिकारी बताउँछन् । यद्यपि, ५० हजार थान भने साझाले तयार पारेको जानकारी मिलेको जनक शिक्षाका निर्देशक पोखरेलले बताउनुभयो । उहाँका अनुसार जनक शिक्षाले साझालाई अहिलेसम्म दुई लाख थानबराबरको पाठ्यपुस्तक छाप्न कागज उपलब्ध गराइसकेको छ ।

कति गए ?
जनक शिक्षाको क्षेत्रीय कार्यालयहरुमा अहिलेसम्म ६० प्रतिशत पाठ्यपुस्तक लगिसकिएको दाबी गरिएको छ । विराटनगरमा एक लाख सेटको माग भएकोमा ६० हजार गइसकेको पोखरेलले जानकारी दिनुभयो । ‘हरेक दिन एक ट्रक एउटा क्षेत्रमा जान्छ,’ उहाँले भन्नुभयो ।

कक्षा ६ को ढिलाई हुने
यसपालि कक्षा ६ र ७ को पाठ्यपुस्तक विद्यार्थीले अरु तहको भन्दा ढिलो पाउने जनक शिक्षाका अधिकारीले स्वीकारेका छन् । दुई लाख सेट जनक शिक्षाले तयार पारे पनि साझा प्रकाशनलगायत बाहिरका प्रेसले डेढ लाख सेट दिने भनिएको तर त्यसमा ढिलाई हुने देखिएको छ ।

कक्षा १ देखि ५ सम्म भने निजी क्षेत्रका मुद्रकहरुले छपाइ तथा वितरणको जिम्मा पाएका छन् । उनीहरुले पनि एक करोड ३२ लाख थान पाठ्यपुस्तक चैत मसान्तभित्र तयार गरी सम्बन्धित क्षेत्रमा पठाइसक्ने जनाएका छन् ।

Facebook Comments

अनिर्णित नियमावली, अक्षम शिक्षामन्त्री

Previous article

शिक्षक पुनर्बहाली जाँचबुझ समितिले प्रतिवेदन बुझाउन सकेन

Next article