सुदर्शन सिग्देल/काठमाडौं
शिक्षा विभागले आफ्नो तथ्यांक अभिलेखिकरणलाई चुस्तदुरुस्त पार्ने क्रममा आउँदो २०७४ को फ्ल्यास रिपोर्टमा प्रत्येक शिक्षकको नालीबेली (प्रोफाइल) पनि सार्वजनिक गर्ने भएको छ ।
अहिले विभागको शैक्षिक सूचना तथा तथ्यांक शाखा (एमिस)ले यसको तयारी गरिरहेको छ । अब शिक्षकको विषयगत जानकारीदेखि उसले कक्षाकोठामा कुन विद्यार्थीलाई कुन विषयमा कति बुझाउन सक्यो भन्ने सिकाइ उपलब्धिको रेकर्डसम्म प्रोफाइलमा रहनेछ । ‘स्कूल लेभल एमिस’ नाम दिइएको यस तथ्यांकीय प्रोफाइलमा विभागले सामुदायिक विद्यालयका स्थायी, अस्थायी, राहत, निजीलगायत सात थरिका शिक्षकको विवरण राखेको छ । वैयक्तिक कोड नम्बरमा शिक्षकको नाम, ठेगाना, जन्म मिति (नेपाली–अंग्रेजीमा दुबै) उसको तहगत श्रेणी, पढाउने विषय, तह, नियुक्ति मिति, पद, शैक्षिक योग्यतालगायत शीर्षक समावेश छन् । यसबाट पुरुष तथा महिला प्रधानाध्यापकको संख्या, उमेरगत समूह पनि पत्ता लाग्नेछ । सफ्टवेयर शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयमा उपलब्ध छ । जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुबाट इलेक्ट्रोनिक कागजात विवरण भराई विभाग पठाउने गर्छ ।
अवकाश भएपछि शिक्षकको वैयक्तिक विवरण नमिलेर निवृत्तभरण (पेन्सन)मा समस्या पर्ने गरेको छ । प्रोफाइल राखेपछि यो समस्या पनि समाधान हुनेछ । शिक्षक किताबखानाले भराउने सिटरोल र माग्ने विवरणलाई पनि यो प्रोफाइलले सम्बोधन गर्नेछ । यो प्रोफाइलले शिक्षक बढुवाका लागि चाहिने विवरणमा पनि सघाऊ पुर्याउनेछ । यस किसिमको प्रोफाइलले शिक्षक स्वयं र विद्यार्थी लाभान्वित हुने विभागका अधिकारीहरुको विश्वास छ । ‘खासगरी पठनपाठनमा विद्यालयका प्रत्येक बालबालिकाको जिम्मेवारी शिक्षकले लिनु पर्छ र त्यसमा उसलाई जवाफदेही बनाउन नै यसो गरिएको हो,’ विभागका उपनिर्देशक एवं तथ्यांक हेरिरहेका एमिस शाखा प्रमुख शंकर थापाले भन्नुभयो । उहाँका अनुसार विद्यार्थी ट्र्याकिङ्ग पनि भइसकेको छ । कक्षा १–१२ सम्मकै विद्यार्थीको प्रोफाइल पनि विद्यालय लेभल एमिसमा समावेश गरिएको छ । जसमा प्रत्येक विद्यार्थीको कोड नम्बर राखिएका छन् । यदि एक विद्यार्थी एक वर्ष पढेर बीचैमा छोडेको वा तेस्रो वर्ष फेरि सोही विद्यालय अध्ययन गरिरहेको अथवा अर्कै ठाउँमा पढिरहेको हो भने त्यो पनि उसको कोड (रजिस्ट्रेसन) नम्बरका आधारमा पत्ता लाग्छ । यसले कक्षा दोहोर्याएको, बीचैमा पढ्न छोडेको सबै विवरण खुलाउँछ । त्यसो त, प्रत्येक विद्यार्थीको हरेक तहको विषयगत प्राप्तांकसमेत तथ्यांकीय प्रोफाइलमा राखिएको छ । तर, विभागले यो रजिष्ट्रेसन नम्बरलाई भन्दा पनि अब बन्ने राष्ट्रिय परिचयपत्रको कोड नम्बरलाई आधार बनाएर प्रोफाइल तयार पार्ने उपनिर्देशक थापाले बताउनुभयो ।
तीन महिनाको काम तीन दिनमै
फ्ल्यास रिपोर्ट शुरु भएयता शिक्षकको पनि प्रोफाइल समावेश गर्नाले तथ्यांक व्यवस्थापनले ठूलो फड्को मार्नेछ । पहिला–पहिला विद्यालयबाट हार्ड कपि अर्थात् विवरण भरिएको कागजात नै मगाइन्थ्यो । तर, अब इलेक्ट्रोनिक कपि अनिवार्य गरिएकाले विद्यालयदेखि जिल्ला शिक्षा कार्यालय हुँदै विभागसम्म तथ्यांक ल्याउन लामो समय खर्चिनु पर्दैन । विभागका उपनिर्देशक थापा भन्नुहुन्छ, ‘पहिला यस किसिमको तथ्यांक लिन तीन महिना लाग्थ्यो, अब तीन दिनमै सकिन्छ ।’ विद्यालयले १२ वर्षसम्म एउटै फाइल प्रयोग गर्नुपर्ने हुन्छ । शुरुमा तोकिएको ढाँचा अनुसार विवरण भर्न केही असहज भएपनि दोस्रो वर्षबाट सबैलाई अति सहज हुने उहाँको भनाइ छ ।
शिक्षा विभागले सन् २००४ देखि फ्ल्यास रिपोर्ट सार्वजनिक गर्दै आएको हो । फ्ल्यास रिपोर्ट वर्षको दुई पटक सार्वजनिक गरिँदै आएको छ । ७ जेठमा पहिलो र चैत २३ मा दोस्रोपल्ट सार्वजनिक गर्ने गरिन्छ । विभागले २०७४ को जेठदेखि शिक्षकको प्रोफाइलसहितको तथ्यांक सार्वजनिक गर्न लागेको हो । कागजातमा मात्र विवरण भर्नाले तथ्यांकमा त्रुटि हुनेगरेको आवाज उठिरहँदा प्रोफाइलले मिथ्यांक हुनबाट रोक्नसक्ने पनि विश्वास गरिएको छ ।