काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ‘स्कूल इन अ ब्याग’अभियानअन्तर्गत रातो झोला तथा स्टेशनरीका सामग्री वितरण गरिएको छ ।
हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प)ले यही ११ पुसमा एक सयजना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरेको हो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्कूल ब्याग वितरणको शुभारम्भ गरेका थिए ।
स्कूल ब्यागभित्र बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई ११ आइटमका स्टेशनरी तथा आठ किसिमका हाइजिन किड्स सामग्री प्रदान गरिएको थियो । स्कूलब्यागभित्र राखिएका स्टेशनरी सामग्रीमा कपि, कलम, पेन्सिल, कलर पेन्सिल, चित्र कपि, ज्यामिति बक्स, पेन थिए भने हाइजिन किड्सका रुपमा भ्यासिलिन, दन्तमञ्जन, ब्रस, हाइजिन ब्याग, नेलकटर, नुहाउने साबुन, पानी पिउने बोत्तल, काँगियोसहित ८ आइटमका सामग्री थिए ।
ब्याग वितरणका क्रममा मन्तव्य राख्दै नगर प्रमुख कार्कीले मानिसको जीवन परिवर्तन गर्न हेल्प संस्थाले उत्कृष्ट काम गरेको बताए । उनले कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र लगानीअनुसार परिणामको अपेक्षा गरिएको पनि सुनाए । ‘हामीले शिक्षामा लगानी गरेका छौं, लगानीअनुसार परिणाम पनि आउनु पर्छ,’ प्रमुख कार्कीले भने, ‘यो विद्यालयले पनि सिकाइ सुधारमा राम्रो प्रगति गरेकोमा खुशी लागेको छ ।’
नगर प्रमुख कार्कीले विद्यालयको आवश्यकता सर्भेक्षण गरी सोही अनुसार सहयोग गर्ने नीति पालिकाले लिएको जानकारी गराए । उनले बाल विकास मावि र अन्य एक/दुईवटा सामुदायिक विद्यालयलाई बसको व्यवस्था गर्ने र त्यसको सञ्चालनका लागि वडाले सघाउनुपर्ने बताए । वडाले सडकका लागि मात्र नभई शिक्षाका निम्ति बजेट प्रस्ताव गर्नुपर्ने उनको सुझाब थियो ।
शिक्षा अभियन्ता तथा हेल्पका अध्यक्ष जिमी लामाका अनुसार संस्थाले देशभर २६ हजारभन्दा बढी विद्यार्थीलाई रातो झोला प्रदान गरिसकेको छ । हेल्पले दुर्गम क्षेत्र तथा सीमान्तकृत र आर्थिक रुपमा पिछडिएका समुदायका बालबालिकालाई पढाइमा मद्दत पुगोस् भनेर ‘स्कूल इन अ ब्याग’ अभियान एक दशकभन्दा अघिदेखि नै चलाउँदै आएको छ ।
अध्यक्ष लामाले आफूहरुले बालबालिकालाई स्कूल ब्याग मात्र नदिई उनीहरुमा ‘होप’ अर्थात् आशा र आत्मविश्वास पनि जगाउँदै आएको बताए । ‘स्कूल ब्यागभित्र हात हाल्दा विद्यार्थी भाइबहिनीहरुमा आत्माविश्वास पलाओस्, होप जागोस् भन्ने हो,’ उनको भनाइ थियो ।
काठमाडौंकै सामुदायिक विद्यालयमध्ये बाल विकास मावि रोज्नुको कारण यहाँ बाहिरी जिल्लाबाट मजदूरी गरेर कठिन श्रममा बाँचिरहेका अभिभावकका छोराछोरीहरु पढ्ने गर्छन् । स्कूल ब्याग किन्ने पैसा नहुँदा विद्यालय नआएको घटनासमेत शिक्षकहरुले सुनाएका छन् ।
नगरपालिकाकी शिक्षा अधिकृत रोशनी आचार्यले ब्याग ल्याउन नसकेर पढ्न नआउने विद्यार्थीको ड्रपआउट दर कम गर्न पनि स्कूल इन अ ब्याग अभियानले सघाऊ पुग्ने विश्वास व्यक्त गरिन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ की वडा सदस्य रामप्यारी नगरकोटीले स्कूल ब्यागको संरक्षण गर्न र बालबालिकालाई सफा–सुग्घर राख्न अभिभावकहरुलाई आग्रह गरिन् ।
सोही वडाका अर्का सदस्य महेश्वर श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक पवित्रा पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्का र शिक्षक सन्तोष फुयाँलले विद्यार्थीलाई प्रदान गरिएको ब्यागसहित स्टेशनरी सामग्रीले उनीहरुको पढाइमा ठूलो मद्दत पुग्ने बताए ।










