विचार/तर्क

१२ वर्षमा हाम्रो अविचलित पाइला…



आजको शिक्षा साप्ताहिकले ११ वर्षलाई विगत बनाएको छ । अर्थात् प्रकाशनको यात्रामा यसले १२ वर्षे पाइला टेकेको छ । अरु कति पाइला टेक्नुछ, मानिसको जस्तो सरदर आयु यसले ल्याएको छैन, न त यसको शुरुवातकर्ताले नै भन्न सक्ने ल्याकत राख्दछ । मानिसको उमेरसँग तुलना गर्ने हो भने यसले भर्खर उत्तरबाल्यावस्था पार लगाउँँदैछ । अखबारी उमेरलाई बुझ्ने हो भने संक्रमणकालीन चार खण्ड यसले व्यतित गरिसकेको छ । पत्रिका शुरु भएको तीन वर्षलाई संक्रमणकालीन अवस्था बुझ्ने परम्परा छ । हो, यो अब परिपक्व बनिसकेको छ । विषयवस्तुका उठानका दृष्टिले । पत्रकारी निरन्तरताको प्रतिबद्धताले ।

१२ वर्षको अविराम यात्रामा यसले कयौं यात्री पाएको छ, जो पत्रकार, लेखक, समाचार स्रोत, पाठक, शुभेच्छुक, विज्ञापनदाता, विकास साझेदार आदि हुन् । यिनमा कति शुरुदेखि साथ दिने छन् त कतिचाहिँ एकछिनको यात्री बनेर भएपनि साथी बनेका छन् । शुरुदेखिकै साथ नछोड्ने सबैभन्दा भरपर्दाे साथीचाहिँ पाठक नै हुन् । पाठकमा पनि विद्यालयका विद्यार्थी–शिक्षक अनि शिक्षा सरोकारवाला खास छन् । आजको शिक्षा साप्ताहिकले उठाउने मुद्दाका सवालमा होस् वा यसको दिगोपनाका निम्ति, कहीँ ठेस लागेर लड्नै आँट्दा होस्टेमा हैंसे गराउने धेरै मित्रहरु पनि यसले पाएको छ । यो एउटा खुशी मात्र नभएर कहिल्यै ननासिने सम्पत्ति पनि हो ।

निश्चय पनि १२ वर्ष अघि २०६४ माघ २७ मा यो थालिँदा नेपालको शिक्षा सुधारका खातिर एउटा खास लक्ष्य राखियो । त्यो लक्ष्यमा हामी कति विचलित छैनौं । सकेसम्म खोजपूर्ण समाचार पस्किएर तथ्यपरक जानकारी दिनु हाम्रो कर्म बन्दै आएको छ । यो यात्रामा दिगोपनाका निम्ति पत्रिकाले निकै जोखिमको सामना गर्दै आउनुपरेको छ । सीमित लगानी छ । वास्तवमा शिक्षाक्षेत्र निस्तो रहेछ । तथापि, दृढ इच्छाशक्तिले मात्र प्रकाशकीय यात्रा अविराम छ । वर्षको ५२ हप्ता नै पाठकलाई भेटिरहन्छ यसले । ‘१२ वर्षमा खोला पनि फर्कन्छ’ भन्ने लोकविश्वासलाई सकेसम्म हामी धर्मराउन दिँदैनौं । बाँकी त स्थायी साथी पाठकहरुकै माया हो ।

Facebook Comments

कैले खुल्ला स्कुल ?

Next article