कुनैपनि वस्तुले जब प्रयोक्ताको सोचअनुसार काम गर्न सक्तैन तब त्यो वस्तुको वा त्यस्ता वस्तुको साझा नाम बन्छ कवाडी । कवाडी र पुनः प्रयोग शब्दावलीको सम्बन्ध एउटा सिक्काको दुईवटा पाटा जस्तै हो । हेर्दा घिन लाग्दो, मिच्छाहट लाग्दो देखिने कवाडी वस्तुले मुलुकको राष्ट्रिय अर्थतन्त्र ठूलो महत्व राख्छ । कुनै पनि राष्ट्रको समृद्धिको अनुहार त्यस देशमा गरिने कवाडीको प्रयोगबाट स्पष्ट थाहा पाउन सकिन्छ ।
महाभारतको एक प्रसङ्गमा युधिष्ठिरले हजुरबुबा भीष्मसँग सोध्छन्— हजुरबुबा मान्छेलाई न धनले मात्र पूर्णता प्राप्त हुन्छ न विद्याले मात्र । धन हुनेलाई विद्या नहुने विद्या हुनेलाई धन नहुनेजस्तो देखिन्छ । धन र विद्या दुवै हुनका लागि के गर्नुपर्छ ?
नाति युधिष्ठिरको यस्तो गहकिलो प्रश्न सुनेर हजुरबुबा भीष्म भन्छन्— बाबु, तिमीले निकै व्यवहारिक प्रश्न ग¥यौ । हाम्रा पूर्वजहरूले बौद्धिक मन्थन गरी बनाएको नीतिमा यसो भनिएको छ—
क्षणशः कणशश्चैव विद्यामर्थम् च चिन्तयेत् ।
क्षण त्यागे कुतो विद्याः कण त्यागे कुतो धनम् ।
अर्थात् जसले विद्याको चिन्तन गर्छ त्यसले थोरैभन्दा थोरै समयको निकै ख्याल गरोस् र जसले धनको चिन्तन गर्छ त्यसले कण अर्थात् सानोभन्दा सानो वस्तुको ख्याल राखोस् । किनकि जसले पढ्ने, बुझ्ने, जान्ने, सिक्ने कुरालई केही छिनपछि गरुला, भोलि गरुला भन्दै भाका राख्छ त्यसलाई विद्याले कहिल्यै साथ दिँदैन । जसले त्यति जाबो नभए के हुन्छ, यतिको के काम मलाई धेरै चाहिन्छ, भन्दै सानो कुरालाई बेवास्ता गर्छ त्यस्तालाई धनले कहिले पनि साथ दिँदेन ।
सन्दर्भ कबाडीको हो । कवाडी पर्याय फोहर पनि हो । फोहरलाई राम्ररी चिनने व्यक्तिले फोहरको मोहर बन्छ भन्छन् । अनि भन्छन् फोहर फाल्ने कुरा होइन पाल्ने कुरा हो । यसले पनि कवाडी भनेको धनको प्रारूप हो वा भनोँ पर्याय हो भन्ने कुरा स्पष्ट पार्छ ।
हाम्रो देश वास्तवमै फोहरबाट आक्रान्त छ । हामीले उत्पादन गरेको फोहर तह लगाउन विदेशी सहायत चाहिन्छ । हाम्रो व्यवहारमा एक थला परेको विरामीले मात्र आफ्नो मलमूत्र उपयुक्त ठाउँमा विसर्जन गर्न सक्तैन । यस दृष्टान्तले हामी वास्तवमै थलिएका छोँ । थलिएका जनताको राष्ट्रिय अर्थतन्त्र थलापर्नु कुन ठूलो कुरा भयो र ?
कवि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीको एक सन्दर्भमा भनेका छन्—
कुनै द्यौता जस्ता अतिव सुकिला बाहिर भने ।
मुटु छामी हेर्दा अतिब फुहरी हेर्न नहुने ।
हामीले वास्तवमा मनको फोहर सफा गर्न नसकेर देशमा फोहरको समस्या बढिरहेको छ ।
के अशिक्षाका कारणले देशमा फोहर वा कवाडी समस्या बढेको हो ?
यो प्रश्नको मुखभरिको जवाफएउटा नीति श्लोकले दिन्छ —
साक्षरा विपरीताश्च राक्षसा इति निश्चितम् । अर्थात् जब पढालेखा व्यक्तिको बुद्धि उल्टो हुन्छ त्यो व्यक्ति साक्षत् राक्षस हुन्छ ।
देशको फोहर वा कवाडीको समस्या अशिक्षित, निरक्षरले सिर्जना गरेको समस्या होइन । किनकि साक्षर वा पढालेखाको बुद्धि विपरीत भयो भने ती भन्दा डरलाग्दा राक्षस अरू कोही हुनै सक्तैनन् । तिनै राक्षसका भीडले आज हाम्रो देश फोहरी देशका रूपमा विश्वमा चिनिएको छ र उच्च भ्रष्टाचार हुने देशको रूपमा कहलिएको छ । भ्रष्टाचार कुन अशिक्षित वा निरक्षरले गरेको छ ? कसैले प्रमाण पेस गर्न सक्छ ?
कुरो कवाडीको हो । विशेष गरी सरकारी अड्डामा करोडौं पर्ने मालसमाना त्यत्तिकै वर्षौसम्म त्यत्तिकै मिल्किएर बसिरहेको हामीले देख्ने गछौँ । हिँजोसम्म सर्र दौडेको गाडी अर्को नयाँ गाडी आउनासाथ जहाँकोतहीँ वषौँ बस्छ र त्यसैमा घिरौँला, लौका फल्ने गर्छन् । करोडको मूल्य तत्कालै कौडीमा रूपान्तरण हुन्छ ।
यस्तो प्रवृति किन हुन्छ ? भनी विभिन्न परियोजना तथा सरकारी कार्यालयमा आर्थिक प्रशासन सफलरूपमा हाँकेका अनुभवी व्यक्तित्वसँग सोधेँ ।
उनले भने— म एक सिँचाइ आयोजनामा काम गर्थँे । त्यहाँ बिगे्रका गाडी मोटरसाइकल लिलाम गर्ने भन्ने कुरा उठ्यो । अनि त पटक्कै केही नभएका गाडी मोटरसाइकलका मुख्य मुख्य सामान लुकाएर काम नलाग्ने भनी ती गाडी कवाडीमा दर्ता गरिए । भोलि लिलाम हुँदै ती सामान लुकाएकै व्यक्तिले किनेर व्यक्तिगत सम्पति बनाए । यस्तो धूत्र्याइँले गर्दा अहिले कवाडी लिलाम गर्न कुनै कार्यालय अगाडि नसर्ने अवस्था छ । अहिले सबै सरकारी कार्यालयका यस्तै विभिन्न अवस्थाका कवाडी सामानहरू ती सामानको परल मूल्यमा अरबौँ होइन खरबौँका रकममा रहेको छ । यसले हाम्रो देशका प्रशासकहरूको मनको मयलको थुप्रोको प्रतिविम्बन गरिरहेको छ ।
गाडी अर्थात् अटोमोबाइलको कवडीको अझ ठूलो थुप्रो लाग्ने अवस्था नेपालमा भोलिका दिनमा बढ्ने अवस्था छ । छिमेकी राष्ट्र चीनले सन् २०२५ देखि जैविक इन्धन (फोसिल फ्यूल पेट्रोल, डिजेल ) बाट चल्ने गाडीहरू बन्द गर्ने योजना गर्दैछ । यदि त्यसो भयो भने गाडीहरू निकै सास्तिने छन् । उधारो पाए हात्ती बाँध्ने हाम्रो सोचले भोलि के होला भन्ने नसोची सस्तोको लोभले किन्ने छौँ र कवाडी अझ बढाउने छौँ ।
हरेक समस्याको समाधान शिक्षाबाटै निस्कने गर्छ । हामी शिक्षा दिनेहरूले सामान्य समझ(common sense) को शिक्षा दिन सकिरहेका छैनौँ । आफ्नो घरबाट निस्कने फोहरलाई कसरी अर्थपूर्ण किसिमले व्यवस्थापन गर्ने भन्ने कुरा कुनै कक्षाको विषयवस्तु बन्न सक्तैन । यस बारेमा विद्यालयमा कुनै छलफल अन्तरक्रिया कहिल्यै हुँदैन । अनि व्यङ्ग्यकार भैरब अर्यालले भनेझैँ “म पढेको मान्छे नपढेको कुरा जान्दिन” भन्ने विद्यार्थी उत्पादन हुन्छन् । खाडीको तातो खानुभन्दा आफ्नै देशको कवाडी व्यवस्थापनबाट अर्थोपार्जनको व्यवस्थाको लागि सरकारले कुनै सोच वा मार्गदर्शन गर्न सकिरहेको देखिदैन । कवाडी कौडीको मूल्यमा विदेशिन्छ र बहुमूल्यका सामान बनेर फेरि हाम्रै देशमा भित्रिन्छ ।
पद्धतिको धूलोमैलो सफा हृदय भएको प्रशासकले सजिलै सफा गर्न सक्छ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणको नेतृत्व सुवास घिसिङले सह्मालेपछि देखिएको विशिष्ट सुधारले देखाएको छ ।
मनका मैला तनका सुकिला भन्दा कवि शिरोमणिकै —
कुनै मैला धैँला अतिव फुहरी बाहिर भने ।
मुटु छामी हेर्दा हृदय सहसा गद्गद हुने ।
यसैतिर लागौँ ।
फोहर वा कवाडी वास्तवमा देशको समस्या रहेको अवस्थामा एक अधिकार प्राप्त निकायको व्यवस्था गरी कवाडी व्यवस्थापनको नीति नियम निर्माण र कार्यान्वयनको व्यवस्था गर्नु उपयुक्त हुने छ । यस्तो निकाय गृह मन्त्रालय अन्तरगत भएमा कार्यान्वयन गर्न पनि सजिलो तथा प्रभावकारी हुन सक्छ । यसले जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तरगतको (बनेको वा बन्ने) फोहरमैला व्यवस्थापन विभागसित सहकार्य गरी संस्था, कम्पनी, कारखाना तथा घरायसी स्तरबाट निस्कने फोहर व्यवस्थापन गर्न पनि सजिलो हुनेछ । यसो गरेमा महलबाट सुकिलामुकिलाहरू आफ्ना कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कवाडी बुद्धिमा पनि शुद्धि हुने काम पनि हुन सक्थ्यो कि ?