सुदर्शन सिग्देल/खोकना (ललितपुर)
मंगलबार मीठो मंगल धुन बज्दैथियो । नेवारी धिमे धुनमा संगीत गुञ्जायमान थियो । खचाखच मानव भिडमा हाकुपटासीमा सजिएका महिला सयौं थिए । सबै अनुहार उत्सुक र स्वागत गर्न तम्तयार लाग्थे । यत्तिकैमा पर्रर ताली छुट्यो र मञ्चबाट उद्घोषण भयो, ‘सम्माननीय सभामुख ओनसरी घर्तीज्यू आउँदै हुनुहुन्छ…।’
यो दृश्य ललितपुर खोकनास्थित रुद्रायणी माविको हो । यही १ चैतका दिन विद्यालयले अपार खुशी साट्न आयोजना गरेको समारोह थियो त्यो । २०७२ को महाभूकम्पले क्षतविक्षत बनेपछि स्कूलले आधुनिक भवन बनाउने प्रण गर्यो र अन्ततः दुई करोड ६० लाख रुपैयाँबराबरको विद्यालय भवन निर्माण गर्न सफल पनि भयो ।
मंगलबार सोही भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम राखिएको थियो । व्यवस्थापिका–संसदका सभामुख घर्तीले भवन उद्घाटन गर्दै स्कूलको प्रगति र समुदायको सक्रियताको मुक्तखण्ठले प्रशंसा गर्नुभयो । संसद बैठकका कारण उहाँ पहिल्यै बोलेर छिट्टै निस्कने तयारीमा हुनुहुन्थ्यो । उहाँ हिँड्नै के आँट्नुभयो, विद्यालयले पनि विशेष मायाको चिनो दिइहाल्यो । त्यो थियो–एक माना तोरीको तेल ! त्यसो त, यो मात्र थिएन । ऐतिहासिक कलायुक्त ‘देश्या मरु झ्याँ’ अर्थात् देशमै नभएको झ्याल पनि उहाँलाई दिइयो । उहाँसँगै अरु बीसजना अतिथिले खोकनाको एक–एक माना तेल पाए । तोरीको शुद्ध तेलका लागि खोकना नेपालकै प्रसिद्ध मानिन्छ । अभिभावकहरु रमाइलो मान्दै भन्दैथिए, ‘कति राम्रो ! सभामुखलाई खोकनाको तेल, हामीलाई विद्यालय भवन !!’
ललितपुरको उत्कृष्ट सामुदायिक विद्यालयमध्येको रुद्रायणी माविले अहिले आधुनिक भवन पाएको छ । चिटिक्क परेका फराकिलो कक्षाकोठाहरु यो भवनमा रहेका छन् । भवन बनाउन विद्यालयले समुदायको सहयोग र सहयोगी हातहरु पायो । खासगरी, शहरी वातावरण व्यवस्था समाज र फ्रान्सको एसपीएफ संस्थाले आर्थिक सहयोग गरे । हेरौं–हेरौं लाग्ने सुन्दर ६ कोठे आधुनिक भवन नौ महिनामै तयार गरियो । भवन मात्र नभई शुद्ध खानेपानी धारा, शिक्षक–विद्यार्थी त्यसमा पनि छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय पनि बनाइएको छ । त्यसो त, भूकम्पले क्षति पुगेका तीनवटा भवनलाई रेट्रोफिटिङ्गसमेत गरिएको छ । दाताहरुको सहयोगमा विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला र फर्निचरको पनि व्यवस्था गरिएको छ । नेपालको शिक्षा विकासमा लामो समयसम्म सहयोग गर्दै आएका ९२ वर्षीय फ्रान्सेली नागरिक जुलिए लोपेज पनि भवन हस्तान्तरणका क्रममा सहभागी बने ।
‘दाताहरुको सहयोगप्रति हामी अति आभारी छौं,’ प्रधानाध्यापक बाबुराम थापाले निकै खुशी हुँदै भन्नुभयो, ‘यसमा स्थानीय समुदायको पनि उत्तिकै सहयोग छ । यदि अभिभावकहरुले रेखदेख नगरेको भए दाताको पैसाले मात्र यत्तिको भवन यति छिटो बन्दैनथ्यो ।’ हुन पनि, भवन बन्नका लागि चाहिने सामग्री रेखदेख गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम डंगोलको संयोजकत्व र स्थानीय अभिभावकहरुको सहभागितामा एक निर्माण समिति नै बनेको थियो ।
विद्यालय भवनको उद्घाटन गर्दै सभामुख ओनसरी घर्ती मगरले समृद्ध नेपालको लागि अब वैज्ञानिक र व्यवहारिक शिक्षा आवश्यक भएको बताउनुभयो । विशेषगरी महिला अभिभावकको उल्लेखनीय उपस्थिति रहेको त्यस समारोहमा उहाँले भन्नुभयो, ‘शिक्षामा छोराजत्तिकै छोरीलाई समान अवसर दिए मात्र समृद्ध नेपाल बन्न सक्छ ।’
त्यस अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले रुद्रायणी मावि सामुदायिक विद्यालयमध्येकै नमूना भएको बताउनुभयो । ‘विद्यालयले राम्रो भवन पाएको छ । अब गुणमा आधारित अब्बल विद्यार्थी तयार पार्न शिक्षक र समुदाय लाग्नु पर्छ,’ लम्सालले भन्नुभयो । यसका लागि शिक्षकले ‘जागिरे’ मनस्थिति त्यागी समर्पणको भावना बनाउनुपर्ने उहाँको सुझाव थियो ।
नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग गर्ने विदेशी दाता, स्थानीय समाजसेवी, उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान समेत गरियो । वि.सं. २०१७ सालमा स्थापना भएको रुद्रायणी माविलाई ललितपुरको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ ।
यो विद्यालयले विगत केही वर्ष यतादेखि एसएलसी परीक्षामा शतप्रतिशत उत्तीर्र्ण नतिजा दिँदै आएको छ । २०७१ सालको एसएलसी परीक्षामा ललितपुरभरिका सामुदायिक विद्यालयमध्ये यो स्कूल उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।
विद्यालयमा हाल दुई सय ५० जना विद्यार्थी रहेका छन् । स्थानीय अभिभावककै ८७ प्रतिशत बालबालिका यहाँ पढ्छन् । विद्यालयले विद्यार्थी बढाउन विशेष कार्ययोजना बनाउन लागेको प्रधानाध्यापक थापा बताउनुहुन्छ । ‘हामी नियमित भर्ना अभियान गर्नेछौं । पढाइ अंग्रेजी माध्यममै हुनेछ,’ थापाले भन्नुभयो, ‘अब एउटा गाडीको पनि व्यवस्था गर्न सकियो भने विद्यार्थी बढ्नेथिए ।’