राजधानीमा लगातार आन्दोलनरत शिक्षकहरुलाई प्रदर्शनको २६ औं दिनमा प्रहरीले लाठीचार्ज र फोहरा प्रहार गरी घाइते बनाएको छ ।
नियमित रुपमा माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुलाई निषेधित क्षेत्रमा तैनाथ प्रहरीले धकेल्न शुरु गरेका थिए । त्यसलगत्तै प्रहरीले अन्धाधुन्ध लाठी वर्षाउन थालेपछि शिक्षकहरुले पनि ढुङ्गा प्रहार गरेका थिए । स्थिति उग्र हुँदै गएपछि प्रहरीले पानीको फोहोरा समेत शिक्षकको जुलुसतर्फ प्रहार गरे ।
प्रहरीको लाठीचार्जबाट १५ जना शिक्षक गम्भीर रुपमा र ६० जना सामान्य घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट एकजना महिला सञ्चारकर्मीको आँखामा चोट लागेको छ । घाइते शिक्षक तथा सञ्चारकर्मीहरुलाई राजधानीका विभिन्न अस्पतालहरुमा उपचार गरिँदैछ ।
प्रहरी दमनले शिक्षक आन्दोलन अझ चर्कने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराई प्रहरीपट्टि ढुङ्गा वर्षाएको पनि शिक्षक नेताहरुले दाबी गरेका छन् ।

शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा छन् ।










