प्रमुख समाचारफिचर

अपाङ्गता भएका बालबालिकाका निम्ति वरदान सावित हुँदै ‘स्कूल एट होम’ र स्रोत विद्यालय


तस्बिरहरु : सेभ द चिल्ड्रेन/सुदर्शन सिग्देल, रेवतीरमन न्यौपाने, इन्द्रेश ठाकुर

‘विद्यालय’ भन्नेबित्तिकै फराकिला ठाउँमा भवनहरू, अनि चिटिक्क कक्षाकोठा र धेरै बालबालिकालाई शिक्षकहरूले एकैपटक ज्ञान दिइरहेको दृश्य जो कोहीको दिमागमा आउँन सक्छ । यो दृश्यभित्र वैशाखी टेकेर वा ह्विलचियरमा गुड्दै कक्षाकोठाभित्र र बाहिर गरिरहेका विद्यार्थीलाई पनि देख्न सकिएला । तर, त्यो विद्यालयमा शारीरिक अशक्तता वा बौद्धिक तथा बहुअपाङ्गताका कारण विद्यालयको पहुँचमा आउन नसकेका बालबालिका पनि समुदायमा छन् भनेर सम्झनैपर्ने हुन्छ । त्यस्ता बालबालिकाले कि घरमै रहनुपर्ने हुन्छ कि त आवासीय रुपमा सञ्चालित स्रोत विद्यालयमै पढ्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अशक्तता भएका बालबालिका सकिनसकि विद्यालयसम्म पुग्ने होइन बरु विद्यालयका शिक्षकचाहिँ उनीहरुका घरसम्म पुग्नुपर्छ भन्ने अवधारणाले आजकाल काम गर्न थालेको छ ।

विद्यालयसम्म जान नसक्ने शारीरिक अशक्तता वा बौद्धिक अथवा बहुअपाङ्गता भएका बालबालिकालाई ‘स्कूल एट होम’ अर्थात् घरमै विद्यालयको व्यवस्था हुन थालेको छ । कर्णाली प्रदेशका जाजरकोट, दैलेख, कालिकोट तथा मधेश प्रदेशका सर्लाही र महोत्तरी जिल्लामा बालबालिकाका लागि ‘स्कूल एट होम’ कार्यक्रम निकै प्रभावकारी भएको छ । खासगरी, यो कार्यक्रम कर्णाली प्रदेशका छ र मधेश प्रदेशका तीन स्थानीय तहमा कार्यान्वयन भइरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका एवं कुशे गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका तथा आठबीस नगरपालिका, कालिकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा घरमै विद्यालय सञ्चालन भइरहेका छन् । यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका एवं हरिपुर नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा स्कूल एट होम कार्यक्रम सञ्चालनमा छन् । सर्लाहीका हरिपुर नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, दैलेखको दुल्लु र नारायण नगरपालिकामा सरकारबाट सञ्चालित स्रोत विद्यालयलाई सबल बनाउन सेभ द चिल्ड्रेनबाट सहयोग हुँदै आएको छ । यसका साथै जाजरकोटको छेडागाड नगरपालिकामा लामो समयदेखि बन्द स्रोत विद्यालयलाई पुनः सञ्चालनमा ल्याउन सेभ द चिल्ड्रेन र साझेदार संस्था पाँचतारा युवा संरक्षक मञ्चले महत्वपूर्ण भूमिका खेलेका छन् ।

स्कूल एट होम कार्यक्रमबाट कर्णाली प्रदेशका दैलेख, कालिकोट तथा जाजरकोट जिल्लाका ३१ जना र मधेश प्रदेशका सर्लाही र महोत्तरीका १० जना बालबालिका लाभान्वित भएका छन् ।

ईश्वरपुर–९ सर्लाहीका प्रिन्स बोल्न सक्दैनन् । घरमा सधैं एक्लै बस्नुपर्ने बाध्यता भएका उनी अहिले घरमै विद्यालयको सहयोग भएपछि हरेक दिन कम्तिमा पनि ३–४ घण्टा सहजकर्तासँग पढ्न पाउँदा खुशी देखिन्छन् । त्यस्तै, आर्यन जलेश्वर–३ खैरामा बस्छन् । जन्मदेखि नै उनलाई अटिजमको समस्या थियो । अटिजम एकखाले वौद्धिक अशक्तता हो । आर्यनको खुट्टा पनि राम्ररी चल्दैन । उनी १०–११ वर्षको भइसक्दा पनि विद्यालयको पहुँचभन्दा बाहिर रहनु पर्यो । तर, अहिले विद्यालयमा उनलाई भर्ना गरिएको छ । यद्यपि, उनी विद्यालय जान सक्दैनन् । सेभ द चिल्ड्रेनको सहयोगमा पालिकाको नेतृत्वमा स्थानीय रतौली युवा क्लबबाट सञ्चालित ‘स्कूल एट होम’ कार्यक्रमले गर्दा उनले घरमै पढ्ने अवसर पाएका छन् । आर्यनले पढाइप्रति एकदमै रुचि देखाएका छन् । घरमै आएर शिक्षकले पढाउँदा उनी ज्यादै खुशी हुने गर्छन् ।

‘स्कूल एट होम’ विद्यालयको पहुँच नभएका बालबालिकालाई घरमै पढाउनका लागि थालिएको एक कार्यक्रम हो । यो मूलतः अपाङ्गता भएका बालबालिका जो भौतिक रुपमा विद्यालय उपस्थित हुन सक्दैनन्, तिनका लागि बनाइएको कार्यक्रम हो । यो कार्यक्रमको उद्देश्य त्यस्ता बालबालिकालाई तालिमप्राप्त सहजकर्ताद्वारा घरमै सिकाउनु हो । स्कूल एट होम कार्यक्रम एक विशिष्ट प्रयास हो जसका लागि घरधुरी सर्वेक्षण तथा अपाङ्गता पहिचानका लागि शिविर सञ्चालन गरी विद्यार्थी पहिचान गरिएको हुन्छ । बिहान १० देखि २ बजेसम्म शिक्षकले घरमै गई शिक्षण गर्ने गर्छन् । शिक्षण सामग्री पनि घरमै राखिन्छ । हरेक दिन स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी बालबालिकाको अनुकूल समय पारेर ४ घण्टा शिक्षण सिकाइ गरिन्छ । जसरी विद्यालयमा नियमित तालिकाअनुसार कक्षा सञ्चालन हुने गर्छ, घरमै विद्यालयमा पनि शिक्षकले पाठ्यक्रम, पाठयोजना, दैनिक कार्यतालिका अनुरुप शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्ने गर्छन् । स्कूल एट होमका विद्यार्थीलाई विद्यालयले पाठ्यपुस्तक र छात्रवृत्ति उपलब्ध गराउँछ । नियमित परीक्षा लिन शिक्षक घरमै पुग्छन् । विद्यालयका रुपमा घरमै पढेतापनि यी बालबालिकालाई नजिकैको विद्यालयमा भर्ना गरिसकिएको हुन्छ । अर्थात्, उनीहरुको कक्षा सञ्चालन घरमा हुने भएतापनि उनीहरु नजिकैको विद्यालयका नियमित विद्यार्थी हुन् । त्यसैले, उनीहरुको मूल्याङ्कन विद्यालयकै परीक्षा प्रणालीमा जोडिन्छ ।

यसरी घरमै विद्यालयमा सिकाइने विधि बालमैत्री र बालकेन्द्रित हुने गर्छ । शिक्षकले बालमनोविज्ञान बुझी माया गरेर सिकाउने गर्छन् । घरभित्र पढाउने ठाउँमा शैक्षिक सामग्रीहरु विद्यालयको कक्षामा जस्तै राखिएका देखिन्छन् जहाँ बालबालिकाको वैयक्तिक सिकाइ आवश्यकता पूरा गर्नेगरी शिक्षण सिकाइमा ध्यान दिइन्छ । स्कूल एट होममा पढ्ने बालबालिकाको मूल्याङ्कन एवं परीक्षा भने विद्यालयका शिक्षकहरूले गर्ने गर्छन् । त्यसो त, शिक्षकहरूद्वारा आफ्नो सेवाक्षेत्रभित्र रहेका बालबालिकाको नियमित रुपमा सिकाइ आवश्यकताको पहिचान, मूल्याङ्कन, प्रगतिको अभिलेखन गर्नुका साथै उनीहरूको कक्षान्नोतिको समेत व्यवस्था गरिएको हुन्छ ।

अपाङ्गता भएका आफ्ना छोराछोरीलाई घरमै गई शिक्षकले पढाइदिँदा र बालबालिकामा आएको परिवर्तनले अभिभावकहरू कम खुशी छैनन् । जलेश्वर–३ सुगाका अभिभावक विक्रम महतो भन्छन्, ‘सेभ द चिल्ड्रेनको सहयोगले हाम्रा छोराछोरीले पढ्न पाएका छन् र निकै खुशी पनि छन् । तर, यस्तो कार्यक्रम अलि लामो समयका लागि निरन्तर हुनुपर्थ्यो ।’ आर्यनकी आमा कञ्चन भन्छिन्, ‘यो परियोजनाले गर्दा मेरो बच्चामा ठूलो परिवर्तन आएको छ । पहिला ऊ अक्षर पनि लेख्न सक्दैनथ्यो । अहिले त ऊ शब्द र उसको नाम नै लेख्न सक्ने भएको छ ।’ जलेश्वरकी नजबुलको छोरा सात वर्षका छन् । छोरालाई शिक्षकले माया गरेर पढाउँछन् । उनको छोरामा पनि शिक्षकले स्कूल एट होममा पढाउन थालेपछि परिवर्तन आएको छ । पहिला केही शब्द मात्र बोल्ने उनको छोरा अहिले सोधेको कुरा सजिलै भन्न सक्छन् ।

जलेश्वर–३ खैराकी गुडिया कुमारी स्कूल एट होमकी सहजकर्ता हुन् । उनलाई ६ महिनाका लागि नियुक्ति दिइएको छ । विद्यालयको पहुँचबाट बाहिर रहेका अपाङ्गता भएका बालबालिकालाई घरमै पुगेर पढाउन पाउँदा आफूलाई धेरै खुशी लाग्ने गरेको गुडिया बताउँछिन् । ‘पढ्न पाउँदा बालबालिका र उनका आमाबाबुलाई खुशी भएको देख्दा मैले राम्रै काम गरेको रहेछु भन्ने लाग्छ,’ उनी थप्छिन्, ‘यस्तो कार्यक्रमले निरन्तरता पाउँदा राम्रो हुन्छ ।’

मूलप्रवाहमा ल्याउन पालिकाहरूको प्रयत्न

अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन तथा मूल प्रवाहीकरण गर्न कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको कुशे गाउँपालिका, छेडागाड नगरपालिका, कालिकोटको शुभ कालिका गाउँपालिका, तिलागुफा नगरपालिका एवं दैलेखको गुराँस गाउँपालिका र आठबीस नगरपालिकाले संरचना नै तयार पारी काम गरिरहेका छन् । यसमा सेभ द चिल्ड्रेनसँगको साझेदारिताले टेवा दिएको छ । मधेश प्रदेशमा भने बालबालिकाका निम्ति छुट्टै संरचना बनेका त छैनन् तर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई जिम्मेवार हुनेगरी काम गर्ने गरिएको छ । जनप्रतिनिधिहरुलाई अपाङ्गता समावेशिता र पहुँचका विषयमा अभिमुखीकरण गराइएको छ ।

‘सेभ द चिल्ड्रेनले परियोजना सञ्चालन गर्दा सबभन्दा ठूलो काम भनेको पालिकामा अपाङ्गता पहिचान हुनसकेको छ,’ कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत भन्छन्, ‘अपाङ्गतालाई कसरी हेर्ने, पहिचान गर्ने र सेवा पुर्याउने भन्नेमा पालिकाको सोचमै परिवर्तन ल्याइदिएको छ ।’

कुशेमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै विशेष विद्यालय भने छैनन् । त्यसैले, अपाङ्गताका कारण ज्यादै अशक्त बालबालिकाका निम्ति पालिकामा स्कूल एट होम कार्यक्रम सञ्चालनमा छ । अपाङ्गता भएका बालबालिकाका लागि सेभ द चिल्ड्रेनसँगको सहकार्यमा यस गाउँपालिकामा ७ जना बालबालिकालाई ‘स्कूल एट होम’ शिक्षण सिकाइको व्यवस्था गरिएको छ ।

यस्तै, छेडागाड नगरपालिकाले अपाङ्गता भएका बालबालिकाका शिक्षा, स्वास्थ्य र हेरविचारमा विशेष ध्यान दिइरहेको छ । सो नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भन्छन्, ‘अपाङ्गता भएका अशक्त बालबालिकाको शिक्षाका निम्ति नगरले घरमै विद्यालय अवधारणा अनुसार शिक्षक परिचालन गरिरहेको छ ।’

नगरमा १ हजार ५ सय ९७ जना जोखिममा रहेका बालबालिकाको विवरण तयार पारिएको छ । जोखिममा रहेका बालबालिकाको नगरमा पहुँच र व्यक्तिगत घटनाहरू संकलन गर्ने काम भएको थियो । यसबाट अनाथ, बुबा–आमाबिहीन एवं अपाङ्गता भएका बालबालिकाहरु पहिचान हुन सकेका छन् । यहाँ ८ वटा ठाउँमा १० जना विद्यार्थी ‘स्कूल एट होम’मा पढिरहेका छन् ।

स्वास्थ्य जाँच्न शिविर क्याम्प र उपचारका लागि बालकोष

पालिकाहरूले बालबालिकाको स्वास्थ्य जाँच र उपचारमा विशेष ध्यान दिएका छन् । सेभ द चिल्ड्रेनको कार्यक्षेत्र रहेका सबै पालिकाहरुले स्वास्थ्यमा वर्षमा २ वटा हेल्थ क्याम्प चलाउने गरेका छन् । जाजरकोटको कुशे गाउँपालिकाको प्रत्येक वडामा एक लाख रुपैयाँबराबरको बालकोष खडा गरिएको छ । कुनै बालबालिका विरामी परे उपचारका निम्ति सम्बन्धित वडाको बालकोषबाट सहयोग गर्ने गरिन्छ । यसमा ५० प्रतिशत पालिका र ५० प्रतिशत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग रहेको छ । गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा बालकल्याण अधिकारीसमेतको संलग्नतामा कोष परिचालन गरिन्छ ।

सर्लाही जिल्लाको ईश्वरपुर र हरिपुर नगरपालिकाले पनि बालबालिकाको स्वास्थ्य जाँच र उपचारमा विशेष ध्यान दिएका छन् । दुबै पालिकामा वडास्तरमा बालकोष स्थापना गरिएका छन् । वर्षमा एकपटक हेल्थ क्याम्प चलाउने गरिएको छ । हरिपुर नगरपालिकामा वर्षमा दुईपटक स्वास्थ्य सप्ताह गर्ने गरिन्छ । बालबालिका विरामी पर्दा उपचारका लागि सम्बन्धित वडाको बालकोषबाट सहयोग गर्ने गरिन्छ । बालकोष पालिकाको आर्थिक सहयोगमा चलेको छ । साथै, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ (आरडब्लुयुए)ले आँखा परीक्षण शिविर चलाएको थियो । संघकी कार्यक्रम अधिकृत सन्नी विश्वकर्मा यस्ता शिविरले बालबालिकाको स्वास्थ्य समस्या पत्ता लगाउन र उपचारमा सघाऊ पुगेको बताउँछन् ।

आवासीय सामग्री तथा उपकरणमा सहयोग

जाजरकोटको कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकालाई ह्विलचियर प्रदान गरिएको छ । स्वास्थ्य शिविर पछि ढिमे र टापाचौरमा १४ सेट ह्विलचियर प्रदान गरिएको थियो । त्यस्तै, शौचालय बस्न नसक्ने बालबालिकालाई सामग्री दिइएको छ । यस्तै, छेडागाड नगरपालिकामा पनि कुशे गाउँपालिकामा जस्तै अपाङ्गता भएका बालबालिकाका निम्ति सेभ द चिल्ड्रेनको सहयोगमा वैशाखी, सहायक खुट्टा आदि सामग्रीहरू सहयोग गरिएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा ‘स्कूल एट होम’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि बन्दोबस्तीका सामानहरू जस्तै : उनीहरूलाई ओढ्ने, ओच्छ्याउनेलगायतका समानहरू वितरण गरिएको छ । ती बालबालिकाका लागि ह्विलचियर पनि प्रदान गरिएको छ । साथै, बालबालिकाको हेल्थ स्क्रिनिङसमेत गरिएको छ ।

सेभ द चिल्ड्रेनले आवासको सुविधाअन्तर्गत हरिपुरमा रहेको जनता प्रावि ढावटोल स्रोत विद्यालयका निम्ति डबल बेड भएको १३ वटा खाट (२६ वटा ल्याएको तर ठाउँ अभावमा १३ वटा मात्र) उपलब्ध गराएको छ । ३०–३५ वटा ओढ्ने–ओछ्याउने, तकिया, तन्ना, झुल उपलब्ध गराएको छ । भाँडाकुडा, बच्चाहरूका लागि खानेपानी, बोतल, कम्पाउण्ड वाल, लो टेबल, कार्पेट, खेलकुद सामग्री, ब्याटमिन्टन, स्किपिङ रोप, ब्याग, बच्चाहरूको ड्रेस, बाल विकास कक्षाका लागि राउण्डटेबल, स्टिलका दराजहरू दिइएको छ ।

स्रोत विद्यालयका लागि सिफारिश र उपचार

सरकारले स्रोत विद्यालयका विद्यार्थीका लागि प्रतिमहिना ४,००० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । परियोजनामार्फत् केही विद्यालयहरूलाई उपकरणसहित सहयोग पनि गरिएको छ । उनीहरूको आवश्यकताका आधारमा आवासीय विद्यालयको समेत सुविधा दिइएको छ । यो परियोजनाले अपाङ्गता भएका विद्यार्थीका निम्ति अवसर सिर्जना गर्ने लगायत उनीहरुलाई सम्मानित जीवन बाँच्न सक्षम बनाउन सहयोग गर्छ ।

सर्लाहीको हरिपुर नगरपालिका ढावटोलस्थित जनता प्राथमिक स्रोत विद्यालय २०५२ सालदेखि सञ्चालन हुँदै आएको छ । यहाँ ३६ जना विद्यार्थी रहेका छन् । सबै विद्यार्थी सुस्तश्रवण भएका बालबालिका हुन् । स्रोत विद्यालय चलाउन संघ सरकारले प्रतिविद्यार्थी मासिक रू. ४,०००।– का दरले वर्षमा १० महिनाबराबरको रकम उपलब्ध गराउँदै आएको छ । विद्यालयमा तीनजना स्रोत शिक्षक रहेका छन् ।

अपाङ्गता भएका विद्यार्थीहरुले यो विद्यालयमा पढाइ पूरा गरेपछि माथिल्लो तह पढ्न अरु विद्यालयमा भर्ना गरी अध्ययनलाई निरन्तरता दिन सकेका छन् । यहाँबाट कक्षा पाँच उत्तीर्ण भएर गएका बालबालिकालाई काठमाडौंको नक्सालस्थित बहिरा बाल विद्यालयले कक्षा ६ मा भर्ना लिएको छ । सिन्धुली तथा नक्सालमा यहाँको बालबालिका जाने गर्छन् । ‘यसलाई हामीले उपलब्धिको रूपमा लिएका छौं,’ जनता प्राथमिक स्रोत विद्यालयका प्रधानाध्यापक सत्यनारायण चौधरी भन्छन्, ‘धेरै संख्यामा विद्यार्थीहरू यहाँ कक्षा ५ पूरा गरी माथिल्लो तह पढ्न छिमेकी जिल्लामा गएका छन् ।’ यही विद्यालयका एकजना विद्यार्थी सांकेतिक भाषामा भन्छन्, ‘हामी घर जान त्यति मान्दैनौं । किनकि, अभिभावकहरू हाम्रो कुरा बुझ्नै सक्नुहुन्न । अझ गाउँलेहरूले त हामीलाई जिस्काउने गर्छन् । यहाँ स्रोत विद्यालय भइदिनाले हामीलाई धेरै सहज भएको छ । यहाँ आफ्ना कुरा खुलेर प्रकट गर्न सजिलो भएको छ ।’

जनता प्राथमिक स्रोत विद्यालय ढावटोलका सम्पर्क व्यक्ति सन्नी विश्वकर्माको अनुभवमा कार्यक्रम लागू हुनुअघिसम्म अभिभावकहरू विद्यालयमा आफ्ना बालबालिका पठाउने मात्र गर्थे । तर, अहिले उनीहरूको हेर्ने दृष्टि बदलिएको छ । कार्यक्रम लागू भएपछि अभिभावक र बालबालिका एक अर्काका आवश्यकताबारे बढी सचेत भएका देखिन्छन् । अभिभावकलाई कार्यक्रमको हिस्साका रुपमा सांकेतिक भाषा पनि सिकाइएको छ ।

छेडागाड नगरपालिकामा जनविकास मावि सुवानाउलीमा विशेष विद्यालय रहेको छ । यहाँ १३ जना अपाङ्गता भएका बालबालिका पढ्छन् । पालिकाहरूले उपचारमा समस्या देखिएमा अस्पतालहरूमा ‘रिफर’ गरी पठाउने र खर्चबापत् बालकोषबाट सहयोग गर्ने गरेका छन् । यो स्रोत विद्यालय लामो समय बन्द थियो । सेभ द चिल्ड्रेन र साझेदार संस्था पाँचताराले निरन्तर पैरवी गरेपछि २०८० बाट पुनः सञ्चालनमा आएको हो ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार सो पालिकामा आँखामा देखिएको सामान्य समस्या भएकालाई नेपालगञ्ज, सुर्खेत र चौरजहारी अस्पतालमा रिफर गरेर बालबालिकालाई पठाइएको थियो । त्यस क्रममा नेपालगञ्ज गएकाले १५ हजार, सुर्खेतमा जानेले १० हजार र चौरजहारी खलंगामा उपचार गर्नेले ८ हजार पाएका छन् । यो सुविधाका लागि पालिकाले कार्यविधि नै बनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्कूल एट होममा ३ जना र हरिपुरमा २ जना बालबालिका पढिरहेका छन् । अपाङ्गता भएका बालबालिकामा सुस्तश्रवणसहितको अपाङ्गता (खुट्टा नचल्ने), अटिजम भएका बालकहरू रहेका छन् । यस्तै, हरिपुरमा जनता प्रावि ढावटोल स्रोत विद्यालय रहेको छ । जहाँ ३६ जना विद्यार्थी पढ्छन् ।

अभिभावक कौशल किशोर साह भन्छन्, ‘अहिले सेभ द चिल्ड्रेनको प्रोग्राम आएर सुस्तश्रवण बालबालिकाका लागि धेरै सहयोग भएको छ ।’

सरकारी संरचनाको सुदृढीकरण

पालिकाहरूमा अपाङ्गता समन्वय समिति रहेका छन् । पालिकास्तरमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा एउटा समिति हुन्छ भने वडाहरूमा वडाध्यक्ष अध्यक्ष रहेको वडा अपाङ्गता समन्वय समिति बनाइएका छन् । ती समितिहरुलाई सेभ द चिल्ड्रेनबाट प्राविधिक सहयोग हुँदै आएको छ । पालिकास्तरको अपाङ्गता समन्वय समितिले सेभ द चिल्ड्रेनको सहयोगमा घरधुरी सर्वेक्षण गरी अपाङ्गता भएका व्यक्तिहरूको वस्तु स्थिति पत्र नै तयार गरेका छन् । यसरी वस्तु स्थिति तयार गर्नेमा जाजरकोटका कुशे र छेडागाड, सुर्खेतको वीरेन्द्रनगर, बाँकेको नेपालगञ्ज, दैलेखको गुराँस, नारायण तथा दुल्लु, कालिकोटको तिलागुफा र शुभ कालिका एवं अछामको मंगलसेन अनि पञ्चदेवल विनायक छन् ।

(प्रस्तुत रिपोर्ट सेभ द चिल्ड्रेनको सहयोगमा कर्णाली तथा मधेश प्रदेशमा शिक्षाका लागि गरिएका असल अभ्यासको दस्तावेजीकरण एवं वितरणसम्बन्धी हालै सम्पन्न अध्ययनका क्रममा प्राप्त तथ्य र प्रत्यक्ष रिपोर्टिङका आधारमा तयार पारिएको हो । –सं.)

Facebook Comments

बदलिएको बालविकास : रमाउँदै बालबालिका, सक्रिय सहजकर्ता अनि अग्रसर अभिभावक

Previous article

विद्यालयको छानामाथि ११ हजार भोल्टको विजुली तार, उच्च जोखिममा विद्यार्थी र शिक्षक

Next article