काठमाडौं । विद्यार्थी संगठनहरुको अवरोधका बावजुद सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एक हजार २ सय ७५ मत खसेको छ ।
मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो । कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ७५ मत मात्र खसेको हो ।
त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण अन्य केही क्याम्पसहित आरआरमा पनि स्थगित भएको थियो ।
नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण यहाँ चुनाव रोकिएको थियो । तर, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो । उक्त मितिमा पनि स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत हुने भन्दै निर्वाचन रोकिएको थियो ।
मतदान सुरु भएको केही समयमा नै अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले निर्वाचन बहिष्कार गर्दै प्रदर्शनसहित ढुंगामुढा प्रहार गरेपछि दिनभर वातावरण तनावपूर्ण बनेको थियो ।
मतदान सकिलगत्तै सर्वदलीय बैठक बसी मतगणना शुरु भइसकेको छ । नतिजा आजैराती आउने जनाइएको छ ।