प्रमुख समाचारशिक्षण सिकाइ

विद्यालय शिक्षा सुधार्न कोरियाली शिक्षाकर्मीले दिएका सुझाब यस्ता छन्


दक्षिण कोरियाका ९ जना बहालवाला र पूर्व शिक्षकहरुले हालै नेपाल भ्रमण गरे । ‘एजुकेटर्स फर ग्लोबल सिटिजन्सिप’ संस्थामार्फत् अध्यक्ष झङ ए क्यङको नेतृत्वमा ११ दिने भ्रमणमा आएका उनीहरुले काठमाडौंको तारकेश्वरस्थित पृथ्वीनारायण मावि र काभ्रेपलाञ्चोकको तीनपीप्लेमा रहेको आजाद माविमा स्वयंसेवी काम गरे । स्वयंसेवाका क्रममा उनीहरुले त्यहाँ शिक्षक–विद्यार्थीसित शिक्षण सिकाइका विषयमा छलफल गरे । शिक्षण प्रक्रियामा आफैँ सहभागी पनि भए । भ्रमणमा उनीहरुले कस्तो अनुभव गरे ? उनीहरुले राजधानीको अनामनगरस्थित मदन भण्डारी कलेजमा गत साता आफ्ना अनुभव साझा गरे ।

अनुभव साटासाटका क्रममा नेपाल खुला विश्वविद्यालय मानविकी संकायतर्फका कार्यक्रम संयोजक डा. सञ्जिव हुमागाई, मदनभण्डारी कलेजका प्रमुख डा. बाबुराम अधिकारी, शिक्षा पत्रकारहरु सुदर्शन सिग्देल र टेकराज अवस्थी, कलेजका प्राध्यापकलगायत सहभागी थिए । छलफलको सहजीकरण र भाषानुवाद डा. हुमागाईले गरेका थिए । पहिला त छलफलमा जुटेका नेपाली शिक्षाकर्मी र पत्रकारहरुलाई उनीहरुले कोरियाली भाषामा ‘ह्वान्यङ्ग हाम्निदा’ अर्थात् स्वागत गरे अनि आफ्ना कुरा यसरी राखे ।


–यहाँ नैतिक शिक्षा झिकिएको रहेछ । नैतिक शिक्षामा जोड दिनुपर्ने देख्यौं ।
–४० जनाभन्दा बढी विद्यार्थी भए भने गतिविधिमा केन्द्रित गर्न शिक्षकलाई अफ्ठ्यारो हुने रहेछ ।
–सूचना प्रविधि (आइसिटि) कक्षा देखिएन । आइसिटि नभई शिक्षामा सुधार हुँदैन ।
–अंग्रेजी विषय पढाउँदा अंग्रेजी मुभी देखाइएको पाइएन । विद्यार्थीको अंग्रेजी उच्चारणमा समस्या देखियो ।
–भौतिक पूर्वाधारभन्दा पनि मानव संसाधनमा जोड दिनुपर्ने हो । के गर्दा राम्रो हुन्छ भन्ने बुझेर पढाउनु शिक्षकका निम्ति अबको प्रस्थानविन्दु हुनु पर्छ ।
–शिक्षकबीच पाठ्यक्रममा आधारित छलफल कम हुँदो रहेछ ।
–स्थानीय सरकारले शिक्षकलाई तालिम कम दिएको पाइयो ।
–पुस्तकालय विद्यालयको मुटु हो तर यहाँका सामुदायिक विद्यालयमा पुस्तकालय उस्तो देखिएन ।
–अब विषयगत कक्षा हुनु पर्छ । जसले गर्दा शिक्षण सामग्री व्यवस्थापन र सिकाइ सहज हुन्छ ।
–विद्यालयमा अब ज्ञानको सट्टा प्रतिभाको पहिचान हुनु पर्छ ।
–समय छिटो बगिरहेको छ, संसार चिन्न नेपालका विदार्थी बञ्चित भइरहेका छन् । किनकि, यहाँ धेरै साधारण कोर्ष रहेछ ।
–नेपालको सामुदायिक विद्यालयमा विद्यार्थीको आँखा राम्रो पायौं । केही गरुँ भन्ने उत्साह र जिज्ञासा ती आँखाहरुमा झल्कन्थ्यो ।
–कोरियामा ‘करिअर प्लानिङ’ तल्लो कक्षाबाटै हुने गर्छ । संसारमा कति प्रकारका जागिर छन् भनेर सानो कक्षादेखि नै जानकारी गराइन्छ । त्यसैले, कक्षा ७ मा ‘फ्रि सेमेष्टर’ हुने गर्छ ।
–कोरिया र नेपालको शिक्षामा तीनवटा साझा कुरा पाइयो ।
१. विद्यार्थी, २. शिक्षक र ३. स्थानीय समुदाय । यी तीन पक्ष मिले सबै राम्रो, नमिले सबै बिग्रन्छ ।
–शिक्षकको पेशागत विकासका लागि विभिन्न समितिहरु चाहिन्छन् । शिक्षण गर्नका निम्ति विश्लेषण र अनुसन्धान दुबै चाहिन्छ ।
–शिक्षा र शिक्षक देशको भविष्य कोर्ने बाटो हो । ‘एजुकेटर्स फर ग्लोबल सिटिजन्सिप’ एशियाको शिक्षकहरुको साझा चौतारी बनोस् भनेर हामी लागिपरेका छौं । नेपाल पनि शिक्षामा विकसित हुनेमा पूर्ण विश्वस्त छौं ।
–कोरियामा यस्तो नारा छ–‘एक बच्चा हुर्काउन सिङ्गै गाउँले सघाउनु पर्छ ।’

Facebook Comments

कार्टुनिस्ट रविलाई विद्यार्थीको प्रश्न–कार्टुन कसरी हेर्ने होला ?

Previous article

विद्यालय तहको शिक्षक छनौट पद्धतिमाथि प्रश्न : एउटै परीक्षाबाट शिक्षक हुन पाइन्छ ?

Next article