हेमन्त केसी/जाजरकोट
यहाँका सामुदायिक विद्यालय सुधार्न पढाइ मेला आयोजना गरिने भएको छ ।
जिल्लाका चार सय ४४ भन्दा बढी विद्यालयका प्रतिनिधिको सहभागितामा पढाइ मेला हुन लागेको हो । यही २८ फागुनमो जिल्लाभरिका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षाविद्को उपस्थिति रहनेछ ।
घर, समुदाय तथा विद्यालयमा पढाइ संस्कार प्रबद्र्धन गर्ने र यसो गरे मात्र बालबालिकाको पढाइ बानी बसाल्न सकिन्छ भन्ने कार्यक्रममको उद्देश्य रहेको छ । विशेषगरी गणित र नेपाली विषयसँग सम्बन्धित ११ वटा स्टल पढाइ मेलामा अवलोकनका लागि राखिनेछ । बालबालिकाले गणित र नेपाली विषयसँग सम्बन्धित विभिन्न सिर्जनात्मक क्रियाकलापमा भाग लिने र सहभागीमध्येबाट छनोट गरी पुरस्कृतसमेत गरिनेछ । पढाइ मेलामा सस्तो तथा पैसा नपर्ने गणित र नेपाली विषयसँग सम्बन्धित शैक्षिक सामग्रीहरुसमेत प्रदर्शनीमा राखिने आयोजकले बताएको छ । जिल्लाका सबै विद्यालयका शिक्षक र स्रोतकेन्द्रको पहलमा विद्यार्थीका घर–घरमा ‘पढाइ कुना’ निर्माण गरी पढ्ने वातावरण निर्माण गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।
विद्यालयमा नियमित नआउने, घरमा गएर पनि पढाइभन्दा घरकै काममा समय खर्चनुपर्ने बालबालिकाको बाध्यतालाई छुटाई पढाइ कुनामा पढ्ने वातारण सिर्जना गरिएको सिंहले बताउनुभयो । बिग्रँदो शैक्षिक अवस्थालाई जाजरकोट आएलगत्तै शैक्षिक सुधार वर्ष घोषणा गरी काममा खटिएका जिल्ला शिक्षा अधिकारीले अहिले गयल शिक्षकबाट नै रकम उठाएर विद्यालयमा पुस्तकालय स्थापना गराउनुभएको छ । राजनीतिमा लागेका करिव ४४ जना शिक्षकलाई राजीनामा दिन अहिले बाध्य पारिएको छ । शैक्षिक सुधारमा यूरोपियन यूनियनको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयको समन्वय एवं भिएसओ तथा आसमान नेपालले संयुक्त सहकार्यमा यो काम गरिँदै आएको छ ।
शैक्षिक सुधार गर्नका लागि शुरुमा अभिभावक र शिक्षक आत्मदेखि परिवर्तन हुन जरुरी रहेको आसमान नेपालका नेत्रलाल सुनारले बताउनुभयो ।