समाचार

तराई बन्दमा विद्यालय सञ्चालन हुन दिन माग


काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले तराई बन्दमा विद्यालय सञ्चालन हुनदिन माग गरेको छ ।

सिजोपले स्थानीय तहको निर्वाचन लगत्तै मधेशी मोर्चाले घोषणा गरेको फागुन ११ गतेको तराइ बन्दमा विद्यालय शान्तिक्षेत्रको मर्मअनुसार विद्यालयललाई स्वस्फूर्त रुपमा सञ्चालन हुन दिन मोर्चासँग माग गरेको हो ।

सिजोपले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग राख्दै गरिने बन्द, हड्ताल जस्ता कार्यक्रम आह्वान नगरी वैकल्पिक माध्यम अपनाई दिन र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को प्रभावकारी कार्यान्वयनका लागि समेत अनुरोध गरेको छ ।

सिजपका अध्यक्ष कृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपाल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ जारी गरी कार्यान्वयनमा आईसकेको छ । यस निर्देशिको मर्म अनुसार विद्यालयलाई बन्द नगराउँने र बालबालिकालाई दलगत राजनीतिमा प्रयोग नगर्ने विषयमा राजनीतिक दलका प्रमुखहरुले नै प्रतिवद्दता जनाएको अवस्था विद्यमान छ । यस निर्देशिकाको कार्यान्वयनका लागि बालअधिकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी, गैरसरकारी निकाय लगायत शिक्षक र अभिभावक संघ संगठन, युनियनहरु तथा राजनीतिक दलहरु र तिनका भातृ संगठनहरुले समेत प्रतिबद्धता जाहेर गरिसकेको अवस्था छ ।’

विज्ञप्तिमा थप भनिएको छ – ‘तर पनि बालबालिका र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा प्रत्यक्ष प्रभाव पर्नेगरी विभिन्न बहानामा बन्द आह्वान गर्ने, विद्यालय बन्द गर्ने, बालबालिकालाई राजनैतिक क्रियाकलापमा सामेल गराउने तथा पठनपाठनमा नकारात्मक असर गर्ने खालका गतिविधि हुने क्रम रोकिएको छैन । यसर्थ, बिभिन्न माग गर्दै यस्ता बन्द, हड्ताल जस्ता कार्यक्रम आह्वान नगरी वैकल्पिक माध्यम अपनाई दिन र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दछौं ।’

सिजपले विगतमा गरेको प्रतिवद्दताबाट पछि नहट्न जनताप्रति जिम्मेवार राजनीतिक दलहरुलाई बालबालिकाको पक्षबाट पनि सोचिदिन आग्रह गर्दै विद्यालयलाई निर्वाध रुपमा सञ्चालन गर्न र बालबालिकाको शिक्षाको अधिकारको सम्मान गर्न राजनीतिक दलहरुलाई अपिलका साथ ध्यानाकर्षण गराएको छ ।

Facebook Comments

प्याब्सनमा को–को भए निर्वाचित ?

Previous article

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै

Next article