विचार/तर्कविशेष

गरिखाने शिक्षाः गर्ने कसरी, गराउने कसरी ?


गुजरामुखी खेतीको गरिखाने शिक्षा ?
हिजो हामी गुजारामुखी खेतीमा थियौं । त्यसमा पर्म प्रणाली थियो । पाखुरी साटने । पालैपालो एक अर्काको काम गर्ने । गराउँने । खानलाई अ‍ैंचोपैंचो गर्ने । छैन कसैकोमा भने माँग्ने । सघाउँने । नपुग भएमा ज्याला गर्ने । बालीमा काम गर्ने । यो प्रणलीले मान्छेलाई मर्न दिएन । बढन पनि दिएन । यसको दर्शन थियो बाचुञ्जेल खाने । मरेपछि सन्तानमा सबै कुरा सर्ने । सार्ने । यो खेतीले मान्छेलाई अनेकन सीप दियो —नाम्ला बाटने । दाम्ला बाटने । डोरी बाटने । टपरी गाँस्ने । धान रोप्ने । घाँस काटने । नाङ्गला बुन्ने । भात पकाउँने । बच्चा स्यहार्ने । यसमा लैङ्गिक वैशिष्ट्यता पनि थियो । पुरुषले यो गर्ने । महिलाले यो गर्ने । बेलाबखतमा लैङ्गिक सीमा पनि नाघ्ने ।

गुजारामुखी खेतीमै गरिखाने जात जातीय सीप पनि थिए । नाङलो बुन्ने सुनुवार । डोको बुन्ने मगर गुरुङ । जुत्ता बनाउँने मिजार । फलामको कामगर्ने विश्वकर्मा । सफाइको काम गर्ने पोडे । डोम । लुगा सिउँने परियार । यसमा दुइवटा अभ्यास थिए । पहिलो, जिन्सीमा सामान लिने तथा दिने । साटफेर गर्ने । दोश्रो, बालीमा काम लगाउँने । यो बेलामा हामीले जात जातीय विशेषता अनुसारका सीप सिक्थ्यौं । सिकाउँथ्यौं । यस अर्थमा सीप शिक्षा जात तथा जातीमा संस्थागत भएको थियो । प्लेटोको रिपब्लिकमा लेखिएजस्तो । संरक्षक समूहले वुद्धिको काम गर्ने । लडाकु समूहले राजगर्ने । ज्यामी समूहले अरु काम गर्ने । एकाध ब्यक्तिले चाहिं सीमा नाघेका थिए । अर्थात जातको पेशा भन्दा भिन्न पेशा पनि गर्ने गर्थे । यो जातजातीगत वैशिष्ट्यताको अवस्थामा थियो । परियार, मिजार, विश्वकर्मा, पोडे , च्यामे, डोम, चमार आदिको पेशामा भने जातीय छुवाछुतको बिल्ला लगाइएको थियो । यस अर्थमा सामाजिक अपराध गरिएको थियो । मानव अधिकारको उल्लंघन गरिएको थियो ।

माथिको परिवेशमा हेर्दा गुजारामुखी खेतीको सीप शिक्षा बिना लगानी संस्थागत भएको थियो । त्यहाँ गुजारा बाहेकको गुञ्जाइस पनि थिएन । शोषण थियो । कर्कामर्कामा सघाउँने कुराले मान्यता पाएको थियो । यसैले यी कुनैं पनि सीप स्कूल कलेजमा पढाइएनन । काठका सीप भएपनि । माटाका सीप भए पनि । धातुका सीप भए पनि । बेतबाँसका सीप भए पनि । छालाका सीप भए पनि । लुगा सिउँने सीप भए पनि ।

बजारमुखी खेतीको गरिखाने शिक्षा
अहिले हामी बजारमुखी अभ्यासमा छौं । यो अभ्यासले गुजारामुखी खेतीका बहुसीपहरु पाखा लगाउँदै गयो । एकल सीपमा मानिसहरुलाई अभ्यस्त बनाउँदै लग्यो । तरकारी खेतीमा सीप । धान खेतीमा सीप । यो तरीकाले पनि हामीलाई सीप विज्ञ बनायो । यो सीपमा पनि सिकाइ ज्यासलमैं भयो । अहिलेको शब्दावलीमा एपेरेण्टिसीप सिकाइ ।

बदलिंदो क्रमले हामीलाई छोटो अवधिो तालीम दिएको छ । दिन थालेको छ । त्यो तालीममा हामीले सिलाई बुनाइ जान्यौं । खेतीबारीका कुरा जान्यौं । कागजका भाडाकुंडा बनाउँन जान्यौं । यस्ता धरै सीप सिकेका छौं । सिकाएका छौं । यो पनि सन २००० साल तिरको वुद्धि बन्न पुगिसक्यो । अमेरिकी तथा चिनीयाहरुको अनुुभवले त्यसै भन्छ । उनीहरुले भने कि ब्यवसायिक सीप चाहिं आधुनिक प्रविधिबाट सिकाउँ । प्राविधिक सीप चाहिं आमने सामनेबाट सिकाउँ । यसको अर्थ हो —उनीहरुले ब्यावसायिक तथा प्राविधिक सीपको भिन्नता बुझिसके । हामी दुबै विषयलाई एउटै अर्थमा बुझिरहेछौं । बुझाइरहेछौं । अर्थात भयौं बजारमुखी । बुझाइ संकीर्णमुखी । यसैको परिणामस्वरुप ब्यावसायिक तथा प्रविधिक धारका स्कूल खोलिरहेछौं । विद्यार्थीको संख्या भने प्रतिवर्ष घटिरहेको छ । यो स्थितिमा पालिकाको सहकार्यमा सबै विद्यार्थीलाई छोटो अवधिको ब्यावसायिक तालीम दिन सक्छौं । आधुनिक प्रविधिमा हर खाले तालीम उपलब्ध गराउँन सक्छौं । स्थानीय तहमै सीप तालीम दिन सक्ने वा चाहनेहरुको सीप अद्यावदिक गर्ने प्रवन्ध मिलाउँन सक्छौं ।

प्रविधिमुखी खेतीका गरिखाने शिक्षा
हर क्षण हामी परिवर्तनमा बाँच्छौं । प्रविधि पनि सोही गतिमा बदलिएको छ । अर्थात दाउरा बालेर भात पकाउँथ्यौं । मट्टितेलमा गयौं । मट्टितेल छोडेर ग्यासमा गयौं । ग्यास छोडेर बिद्युतमा । विद्युत जोडेर तरंगमा गयौं । भोलि इलेक्ट्रोलाइसिस प्रक्रियाबाट घर घरमा हाइड्रोजन ग्यास निस्कन सक्छ । दाउराको विकल्प । मट्टितेलको विकल्प । मिथेन ग्यासको विकल्प । विद्युतको विकल्प । तरंगको विकल्प । यी विकल्पहरुले दिने चिन्तन हो —आधुनिक प्रविधिको प्रयोगले अनेकन विकल्प जन्मन्छन् । ऋग्वेदको आगोमा पानी छ, पानीमा आगो छ भन्ने मन्त्रले काम गर्न सक्छ । पृथ्वीको आगो, आकासको आगो तथा अन्तरिक्षको आगोको बेग्लाबेग्लै तथा एकसाथ प्रयोग गर्ने सोच बन्नसक्छ । अहिलेको युवाले त्यस्ता एप्पस बनाउँने सीप खोज्न सक्छन । स्वदेश तथा विदेशका लागि एप्स बनाएर करीब ६७ करोड राजस्व बुझाउँन सक्ने नेपाली युवाको तागतले नयाँ सीपको माग गर्छ । काम गर्छ । जापानीहरुले चिया तथा कफी बनाउँदा निश्चित एप्पसको प्रयोग गर्छन । यो कुरालाई नजीर बनाई यस्तो एप्स बनाउँन सक्छौं भने युवाले बनाउँछन । यो काम गर्न सकिन्छ । गराउँन सकिन्छ । यसका लागि हामी प्रयासरत हुन सक्छौं ।

भोलिको गरिखाने शिक्षा
भोलिको मान्छे के खाला ? सुन्दा अनावश्यक प्रश्न हो । यसको छनक अन्तरिक्ष यात्रीले दिन्छन् । लडाइका योद्धाले दिन्छन् । अपमार्गको चामल खाएर हप्तौं पोषण पुर्‍याउँने पुर्खाले दिन्छन् । समुद्रको झ्याउ खाने जापानीले दिन्छन । पेटभरी खाने कि शरीरका लागि चाहिने क्यालोरी पुग्ने कुरा खाने भन्ने संवादीले दिन्छन् । पृथ्वी दोहन गरेर खानेले भन्दा आकास दोहन गरेर खाने वैदिक पूर्खाले दिन्छन् । अन्तरिक्ष दोहन गरेर पनि बाँच्न सकिन्छ भन्ने ऋग्वेदी पूर्खाले दिन्छन् । खेतीगर्न जमीन चाहिन्छ भन्नेहरुलाई आक्वाफोनिक विधि प्रयोग गर्ने प्रविधिवालाले दिन्छन् । यसको सन्देश हो भोलिको गरिखाने शिक्षा आजकोजस्तो हुँदैन । अर्थात आमने सामनेको तालीमले पुग्दैन । यूट्यब, मेसेञ्जर, ह्वाट्सएप, भाइबरको तालीमले पनि पुग्दैन । यसको अर्थ हो भोलिको तालीम कल्पनातीत हुन्छ । आकासमा घर बनाउँने डिजाइनको । एलियनसँग सहकार्य गर्ने डिजाइनको । त्यतिबेलाको संसारमा आफू जोडिने खालको । अरुलाई जोडाउँने खालको । यसको सन्देश हो —यसरी गरिखानुपर्छ भन्ने तालीमहरु बेकामे हुन्छन । कसरी गरिखान्छौै भन्ने प्रश्नले नैं सहजरुपमा गरिखाने बनाउँछ । दिमागमा चिप्स जोडिएको मान्छेको गरिखाने शिक्षा के होला ? उसले आफनो दिमागको उपयोग त गर्छ नैं । कृत्रिम वुद्धिलाई पनि उपयोग गर्छ । यो सोचको अधारमा कुन सीप दिनुपर्ला ? कोही सोच्न सक्छौं त ? मेरो सोचमा सीपको निर्णायक त्यही हुन्छ । कुन सीप दिने त्यही भन्छ । कुन सीप लिने पनि त्यही भन्छ । सोही आधारमा सीप शिक्षा दिन सकिन्छ । सक्नु पनि पर्छ ।

तरेलीका मान्छेको गरिखाने शिक्षा
हामी तरेलीमा छौं । हुन्छौं । कोही गुजरामुखी गरिखाने शिक्षा खोज्ने । कोही बजारमुखी गरिखाने शिक्षा खोज्ने । कोही प्रविधिमुखी गरिखाने शिक्षा खोज्ने । कोही दिमागमा चिप्स जेडेर गरिखाने शिक्षा खोज्ने । कोही अर्कै खालका । यो स्थितिमा के सीप दिने ? यो प्रश्नको पनि सहज उपाय छ । त्यो हो—एउटै सीपको बहु परिवेशको शिक्षा दिने । गुजारामुखी छौ भने यस्तो सीप । बजारमुखी छौ भने यस्तो सीप । प्रविधिमुखी छौ भने यस्तो सीप । चिप्सवाला छौ भने यस्तो सीप । यति गर्नासाथ हामी सबैलाई गरिखाने बनाउँन सक्छौं । प्रश्न हो त्यतातर्फ सोच्नेवाला कोही छौं त ? गर्नेवाला कोही छौं त ? हिम्मतवाला ।

यकिनी कुरा
यो लेखको आशय हो—विद्यार्थीहरु एकै परिवेशका छैनन । हुन्नन पनि । यो स्थितिमा एउटा सामान्य उपायले हर विद्यार्थीलाई गरिखाने बनाउँन सकिन्छ । त्यो उपाय हो —विद्यार्थीको प्रोफाइल निर्माण गर्ने । त्यसमा उसले आफूले चाहेको सीप लेख्छ । जुन अर्थिक पृष्ठभूमिको भए पनि । उसले जानेको सीप लेख्छ । जेजस्तो सीप भए पनि । अनि उसका घर परिवारका मान्छेको सीप लेख्छ । रहरको सीप प्रविधिमा खोज्छ । पालिकामा खोज्छ । स्कूलमा खोज्छ । त्यो सीप पाएपछि उसले उद्यामीकरणको अभ्यास गर्छ । यसका लागि अनिवार्य बचतको अभियानमा सहभागी हुन्छ । प्रत्येक विद्यार्थीका अभिभावकले सन्ततीको नाममा दिनको रु १ जम्मा गर्ने अभियानमा । पालिकालाई आफ्नोसीप बेचेर कमाएको पैसा त्यहीं राख्छ । यति गर्नासाथ हामी गरिखाने शिक्षा यकिन गर्छाै । गर्न पनि सक्छौं । अभ्यास गरौं ।

सीप सिकाउँनेहरुको रोष्टर त्यही प्रोफाइलको आडमा बन्छ । हामी नैं बनाउँन सकछौं । ती सीपवालाहरु शिक्षक हुन्छन । एपरेण्टिस हुन्छन । यति हुनासाथ हामी सहजै पढनेहरुलाई गर्नेमा बदल्न सक्छौं । गर्नेलाई पढने कला सिकाउँन सक्छौं । रुकुम पश्चिमकोआठबीसकोट नगरपालिकाको विद्यार्थीको प्रश्नको प्रायोगिक उत्तर दिनसक्छौं । उनको प्रश्न थियो —सबै पढ पढ भन्छन । पढने कसरी ? सबै पैसा कमाउ भन्छन । कमाउँने कसरी ? उनलाई सिकाउँनु पर्ने कुरा हो सीपमा पढने । पढाइमा सीप खोज्ने । जानेका सीपमा पैसा कमाउँने अभ्यास गर्ने । अनिवार्य बचत गरी भोलिको जीवन गरिखाने बनाउँने ।

अन्तमा मेरा चिन्तनमा आवश्यक थपघट गरौं । कार्यान्वयन गरौं । यो काम सहज छ । शीर्फ रहर भए पुग्छ । रहर भएको शिक्षक भए हुन्छ । अरुले त सघाउँने हो । हामी गर्न थालौं । सहयोगी हातहरु स्वतः आउँछन ।

Facebook Comments

विपदमा सिकाइ निरन्तरताः पहिलो प्राथमिकता

Previous article

विद्यालय शिक्षा विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको अवधि शुरु

Next article