प्रमुख समाचारफिचर

बदलिएको बालविकास : रमाउँदै बालबालिका, सक्रिय सहजकर्ता अनि अग्रसर अभिभावक


बेलकुमारी सुनार प्रारम्भिक बालविकास (इसिडि)की शिक्षक हुन् । उनले सिकाउने बालकक्षा विविध शैक्षिक सामग्रीले भरिएका छन् । बालबालिकालाई सिकाउन ती सामग्रीहरू उनी आफैँले तयार पारेकी हुन् । प्रारम्भिक बालविकास कक्षामा उनले सिकाउन थालेको १८ वर्ष भयो । दैलेखको गुराँस गाउँपालिका चिसापानीस्थित बालकल्याण आधारभूत विद्यालयमा कार्यरत सुनारले तालिम नलिइकनै इसिडिमा काम थालेकी थिइन् । ‘मैले कैंची चलाउन पनि जानेकी थिइनँ,’ उनी भन्छिन्, ‘पछि परियोजना आयो, तालिम पाएँ । अहिले हेर्नुहोस् न कति शैक्षिक सामग्री छन् । कति परिवर्तन आएको छ ममा !’

प्रारम्भिक बालविकास कक्षा बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्ने गर्छ । बालविकासमा आउँदा बालबालिका यति खुशी हुन्छन् कि उनीहरू घर फर्कनै मान्दैनन् ।

जाजरकोटको छेडागाड नगरपालिकामा रहेको चन्द्रज्योति आधारभूत विद्यालयमा रहेको इसिडि कक्षा देख्दै बसौं–बसौं लाग्छ । कक्षाकोठाका भित्तालाई विभिन्न ६ वटा विषयगत सिकाइ क्षेत्रमा छुट्याइएको छ । ‘निर्माण सिकाइ क्षेत्र’, ‘भाषा सिकाइ क्षेत्र’, ‘गणित सिकाइ क्षेत्र’ ‘विज्ञान सिकाइ क्षेत्र’ ‘स्वावलम्बन सिकाइ क्षेत्र’ र ‘सिर्जनात्मक सिकाइ क्षेत्र’मा कक्षाकोठा विभाजित छन् । बालबालिकालाई पाठ्यक्रमअनुसार अवधारणा सिकाउन यस प्रकारको विषयगत क्षेत्र छुट्याइएको सहजकर्ता ननकला खत्री बताउँछिन् । ती विषयगत क्षेत्र लेखिएका ठाउँमा कागज मात्र टाँसिएका छैनन्, स्थानीय कच्चा पदार्थबाटै बनाइएका शैक्षिक सामग्रीहरू सजाएर राखिएका छन् । यस्ता सामग्रीहरू प्रायः अभिभावकहरूले बनाइदिएका रहेछन् । स्थानीय सीप अनुसार ढिकी, हलो–जुवा, डोको, जाँतो, मादललगायतका सामग्री अभिभावकले बनाइदिन्छन् । ती सामग्रीहरू जसले बनाएका हुन्, तिनमा तिनै अभिभावकहरूको नाम लेखिएका छन् । त्यसैले अभिभावकले बनाइदिएका त्यस्ता शैक्षिक सामग्रीहरूलाई ‘नासो’ भन्ने चलन छ ।

त्यसो त, कक्षाकोठामा टिभि पनि राखिएको छ । टिभि सेटमा ‘कबाट कछुवा, ‘ख खरायो…’ भनी संगीतमय आवाज घन्किन थाल्छ । सहजकर्ता खत्री पनि त्यसैमा स्वर मिसाउँदै इसिडिका बालबालिकालाई नाँची–नाँची सिकाउन थाल्छिन् । बालबालिकाहरू कम्मर मर्काइ–मर्काइ नाच्न र खेल्न थाल्छन् । कक्षाकोठा साँच्चै बालमैत्री र रमाइलो देखिन्छ । इसिडिमै शिक्षण सिकाइ गर्दै १६ वर्ष बिताएकी खत्रीले परियोजनाबाट १० दिनको आधारभूत तालिम पाइन् । उनी भन्छिन्, ‘शैक्षिक सामग्रीलाई उपयोग गरेर सिकाउन जानेकी छु । पाठ्यक्रमअनुसार सिकाउने गर्छु । इसिडिका बालबालिकाका लागि ७ वटा शीर्षकमा ३३ वटा उप–शीर्षक अनुसार सिकाउँछु ।’

बालविकास कक्षा कस्तो हुनु पर्छ भन्ने उदाहरणीय दृश्यका झलक मात्र हुन् यी । सेभ द चिल्ड्रेन र साझेदार संस्थासँगको सहकार्यमा कर्णाली तथा मधेश प्रदेशका विभिन्न पालिकाहरूमा नमूना बालविकास केन्द्रहरू अहिले सञ्चालनमा छन् । परियोजनाको राम्रो काम र स्थानीय तहका जनप्रतिनिधि एवं विद्यालयका प्रधानाध्यापकको प्रतिबद्धता, इसिडि सहजकर्ताको क्रियाशीलताले प्रारम्भिक बालविकासमा उल्लेख गर्नलायक परिवर्तन देखिन थालेको छ । कक्षा सजावट, बसाई व्यवस्थापन, शैक्षिक तथा खेल सामग्रीको प्रयोग र सहजकर्ताले सिकाउने शैलीमा विगतमा भन्दा धेरै भिन्नता पाइएको छ । कक्षाकोठामा विद्यार्थीको बसाई व्यवस्थापनमा हिजो र आज फरक छ । पहिले जान्ने विद्यार्थी अघि र कमजोर मानिएका पछि बस्थे । अहिले इसिडि र कक्षा १–३ सम्मका विद्यार्थी राउण्ड वा कम उचाइका भएका टेबलसहितको कक्षाकोठामा बस्छन् । विद्यार्थीले मन लागेको आधारमा सिक्छन् । शिक्षकले विद्यार्थीहरुको मनोभावना बुझेर सिक्ने र सिकाउने गर्छन् । उनीहरु पाठ्यक्रम अध्ययन गरेर पाठयोजना बनाउँछन् ।

त्यसो त, बालबालिकालाई सफा बनाएर विद्यालय पठाउने, शैक्षिक सामग्री बनाउन आफैँ सरिक हुने र छोराछोरीहरूको स्वास्थ्य तथा सिकाइमा चासो दिने प्रवृत्ति अभिभावकमा पनि देखिएको छ । दैलेखको गुराँस गाउँपालिकास्थित बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिसि २०७५ सालसम्म बालविकास कक्षाहरू खाली भएको तर परियोजना शुरु भएपछि परिवर्तन आउन थालेको सुनाउँछन् । बालविकासका सहजकर्ताले तालिम पाएको र उनीहरूले आशा गरेभन्दा बढी राम्रो काम गरेर देखाएको उनको दाबी छ ।

सप्तरीको सुरुङ्गास्थित जनता आधारभूत विद्यालय नैनडाबरकी सहजकर्ता ज्ञानु रावत इसिडिमा पाठयोजना तयार पारेरै जान्छिन् । उनी विभिन्न शीर्षक र उपशीर्षक अनुसारको विषयवस्तुहरुसँग सम्बन्धित सिकाइ क्रियाकलाप गराउँछिन् । पाठ्यक्रमलाई आत्मसात गरी बालबालिकाहरुको बालमनोविज्ञान बुझेर आफूले सिकाउने गरेको उनी बताउँछिन् । ‘यो तरिकाबाट बालबालिकाले खुशीसाथ राम्रोसँग सिक्ने गर्छन्,’ उनले भनिन् । सोही विद्यालयका प्रधानाध्यापक पशुपति दाहाल पहिला र अहिलेको इसिडिमा आकाश–पातालको फरक रहेको बताउँछन् । इसिडि के हो ? भन्ने बुझाई र यसको व्यवस्थापनमा आएको परिवर्तनबारे उनले भने, ‘पहिला बस्ने ठाउँ पनि थिएन, बालबालिका जम्मा गर्नै गाह्रो थियो । अहिले कक्षा चिटिक्क छन् । इसिडि भनेको विद्यालय जाने उमेर समूहभन्दा पहिला बालबालिकालाई तयार पार्ने तह हो भनेर शिक्षकले मात्र नभई अभिभावकले पनि बुझ्न थालेका छन् ।’

सन् २०१४ भन्दा अघिसम्म सुकेको घाँसले छाएको छाप्रोमा कक्षा चलाइएको अभिभावकहरू सुनाउँछन् । अहिले शौचालय, सरसफाई र पिउने पानीको व्यवस्थासहित इसिडिको छुट्टै भवन छ । इसिडि सहजकर्ताहरू भन्छन्, ‘हामीले ताजगी तालिम पायौं, जसले हाम्रो क्षमता विकास भएको छ । यस अलावा घुम्ति बैठकहरु हुने गरेका छन् । बैठकमा हामीले आफ्ना समस्या र चुनौतीहरु एक–आपसमा बताउने र सिक्ने अवसर पाएका छौँ । सँगसँगै अभिभावक शिक्षाले गर्दा अभिभावकहरु छोरछोरीको सिकाइमा आफ्नो भूमिकाबारे सचेत भएका छन् । यसका निम्ति सेभ द चिल्ड्रेन र सबल नेपाललाई धन्यवाद दिनुपर्ने हुन्छ ।’

सुरुङ्गास्थित जनता आधारभूत विद्यालय भेडियाकी इसिडि सहजकर्ता शान्ति चौधरी बालविकास भनेको के हो र यहाँ बालबालिकाको बसाई व्यवस्थापन कसरी गर्ने भन्ने सीप परियोजनाले दिएको तालिमबाट सिकेको सुनाउँछिन् । सप्तरीकै सुरुङ्गास्थित जनता आधारभूत विद्यालय कमलपुरकी सहजकर्ता उर्मिला चौधरी भन्छिन्, ‘सदा, राम जस्ता पिछडिएका समुदायका बालबालिका पनि नियमित रुपमा इसिडिमा आउन थालेका छन् ।’ बालविबकास केन्द्रका बालबालिकाका अभिभावकहरूमा आफ्ना छोराछोरीलाई सफा बनाएर विद्यालय पठाउनु पर्छ भन्ने चेतना जागेको उनी बताउँछिन् ।

हुन पनि, सुरुङ्गाका अभिभावकहरू इसिडिमा आफ्ना बालबालिकालाई गरिएको व्यवहार र सिकाइले खुशी छन् । अभिभावकहरुको सामुहिक भनाइ छ, ‘इसिडि सुधारको थालनी गर्नुभन्दा अघिसम्म हामीलाई उति चासो हुँदैनथ्यो । तर परियोजना शुरु भएपछि हाम्रा बालबच्चा रमाएर विद्यालय जान थालेका छन् । सिकाइ सुधारिएको छ । कक्षाकोठामा शिक्षकहरूले रमाइलो वातावरणमा माया गरेर सिकाउने गर्नुहुँदो रहेछ…।’

बालविकास केन्दलाई अझ रमाइलो बनाइदिन अभिभावकहरू शैक्षिक सामग्री बनाई शिक्षकहरुलाई सघाउने गर्छन् । अभिभावकहरू भन्छन्, ‘हामीले हाम्रै घरमा खेर गएका सामग्रीबाट शैक्षिक सामग्री बनाउन सिक्यौं । बालविकास कक्षा शिक्षकले यस्ता सामग्रीको प्रदर्शन र प्रयोग गरेपछि हामीले पनि यस प्रकारका सामग्रीहरु बनाएर विद्यालयलाई उपलब्ध गराउन थाल्यौं ।’

इसिडिका निम्ति विद्यालयले निरन्तर भेला तथा बैठकहरू आयोजना गर्ने गरेका छन् । प्रधानाध्यापक, इसिडि सहजकर्ता, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति एवं शिक्षक–अभिभावक संघका पदाधिकारीबीच सिकाइका विविध अनुभवहरू बैठकमा आदान–प्रदान तथा छलफल गर्ने गरिएको छ । यसले विद्यालयलाई बालविकास सुधार्न निरन्तर सघाऊ पुगेको छ ।

पालिकाको बजेट प्राथमिकतामा बालविकास

इसिडिको विकासमा स्थानीय सरकारले प्राथमिकताका साथ चासो दिएका छन् । इसिडि भवन बनाउन र चाहिएको जनशक्ति उपलब्ध गराउन स्थानीय तहबाट कार्ययोजना तथा बजेटसहित सहयोग भइरहेको छ । इसिडिको दिगोपनाका लागि यस्ता कामहरुलाई महत्वपूृर्ण मानिएको छ ।

जाजरकोटको कुशे गाउँपालिकाले आ.व. २०८०/०८१ मा प्रारम्भिक बालविकासका लागि जम्मा ६० लाख ७५ हजार ७ सय रुपैयाँ बजेट विनियोजन गरेकोछ । तर यो बजेटमध्ये संघीय सरकारबाट इसिडि सहजकर्ताको पारिश्रमिक र कर्मचारी व्यवस्थापनका निम्ति ५२ लाख ६६ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । कुशेमा जम्मा ७१ वटा प्रारम्भिक बालविकास केन्द्र रहेकोमा गाउँपालिकाकै अनुदानमा २५ वटा सञ्चालनमा छन् । बाँकी इसिडि भने संघीय सरकारकै अनुदानबाट चलेका छन् । यो पालिकाले आफ्नै स्रोतबाट बालविकास केन्द्रलाई पिफम कार्पेट व्यवस्थापन गर्न ५ लाख र बालविकास सहजकर्ताहरूलाई पुनर्ताजगीसम्बन्धी २ दिने तालिमका लागि ३ लाख ९ हजार ३ सय रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, छेडागाड नगरपालिका आफैँले नियुक्त गरेको ४१ जना इसिडि शिक्षकलाई आ.व. २०८०/०८१ का लागि १२ हजारका दरले १३ महिनाको जम्मा ६३ लाख र संघ सरकारको अनुदानमा रहेका ६८ जना सहजकर्तालाई ५ हजारका दरले १३ महिनाको जम्मा ४४ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । साथै, पालिकाले इसिडि सहजकर्ताहरूलाई तालिम दिन साढे दुई लाख रुपैयाँ छुट्याएको शिक्षा प्रमुख दीपक शाहीले जानकारी दिए । छेडागाड नगरपालिकामा १५ वटा नमूना इसिडि छन् । छेडागाड नगरपालिकाले ‘नमूना बालविकास रणनीति’ बनाई बालविकासलाई सुधार्ने कार्ययोजना अघि सारेको छ ।

दैलेखको गुराँस गाउँपालिकामा जम्मा ५२ वटा इसिडि छन् । पालिकाले आफ्नै अनुदानमा सञ्चालित १० वटा इसिडिका निम्ति २४ लाख ५ हजार रुपैयाँ वार्षिक छुट्याएको छ भने बाँकी ४२ वटा इसिडिका लागि संघ सरकारले पठाउने प्रतिइसिडि १० हजारमा ८ हजार ५ सय थपेर ४६ लाख ४१ हजार विनियोजन गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिकामा ४९ वटा इसिडि छन् । जसमा एउटा समुदायमा आधारित इसिडि रहेको छ । इसिडि सहजकर्ताको पारिश्रमिकका लागि संघ सरकारले मासिक जनही १० हजार रुपैयाँका दरले पठाउने गरेको छ । नगरपालिकाले त्यसमा ८ हजार थपी वार्षिक ८ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । इसिडिका लागि संघबाटै शिक्षण सिकाइ सामग्री अनुदान भनेर प्रतिविद्यार्थी ५०० का दरले बजेट आउँछ । नगरपालिकाले विद्यालयसँग प्रस्ताव माग गरी शैक्षिक तथा खेल सामग्री एकमुष्ठ खरिद गरी व्यवस्थापन गरिदिएको सुरुङ्गा नगरपालिकाका शिक्षा प्रमुख हिरालाल राना बताउँछन् । पालिकाले इसिडि सहजकर्तालाई तालिम दिन ३ लाख रुपैयाँ छुट्याएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालसँगको सहकार्यमा इसिडि व्यवस्थापनका निम्ति सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा संयुक्त रुपमा करिव २२ लाख रुपैयाँबराबरको साझेदारी भएको छ ।

बालविकास केन्द्रको पहुँचभन्दा टाढा रहेका जलेश्वर र वर्दिवास नगरपालिकाका ३७८ बालबालिकालाई प्राथमिक विद्यालयको पूर्वतयारी गराउने उद्देश्यका साथ सेभ द चिल्ड्रेनको सहयोगमा साझेदार संस्था रतौली युवा क्लबद्वारा २० वटा ट्रान्जिसनल बालविकास केन्द्र सञ्चालन भइरहेका थिए । ती बालविकास केन्द्रहरु नेपाल सरकारको बालविकास केन्द्र अवधारणाअनुसार सञ्चालनमा रहेका थिए ।

प्रदेशसभामा ‘इसिडि ककस’को महत्वपूर्ण पहल

प्रारम्भिक बालविकासलाई प्रभावकारी बनाउन कर्णाली र मधेश प्रदेश सभाबाट महत्वपूर्ण पहल भएका छन् । यसका निम्ति प्रदेश सभा सदस्य (सांसद)हरुको समन्वय सहकार्य समूह (इसिडि ककस) गठन भएका थिए । इसिडि ककस सांसदहरुको एक दबाब समूह पनि हो । प्रदेश सभाको अघिल्लो कार्यकालमै गठित इसिडि ककसलाई अहिले पनि निरन्तरता दिइएको छ । कर्णाली प्रदेश सभामा अघिल्लो कार्यकालका सांसद एवं इसिडि ककसकी संयोजक सीता नेपालीले आफूहरुको निरन्तर पहलमा प्रदेश प्रारम्भिक बालविकास रणनीति बनाउन सफल भएको बताइन् । ‘प्रारम्भिक बालविकास केन्द्रहरुलाई नमूना बनाउने, शिक्षण सिकाइलाई बालमनोविज्ञानसँग जोड्ने र सहजकर्ताहरुलाई शिक्षककै रुपमा मान्यता दिई दरबन्दीको व्यवस्था गर्न ककसले सुझाब तथा दबाब दिनसकेको थियो,’ उनले भनिन् । त्यसो त, कम्तिमा एक निर्वाचन क्षेत्रको एउटा विद्यालयमा नमूना प्रारम्भिक बालविकासका लागि बजेटको व्यवस्था गराउन इसिडि ककसले पहल गरेको उनको भनाइ छ ।

प्रदेश सभाको दोस्रो कार्यकालमा नेपाली सांसद नरहेपनि इसिडि ककसको जिम्मेवारी नयाँ सांसदलाई हस्तान्तरण भइसकेको छ । हाल कर्णाली प्रदेश सभामा इसिडि ककसको संयोजकमा प्रदेश सांसद सुरेश अधिकारी रहेका छन् । प्रदेश सभाको दोस्रो कार्यकाल शुरु भएयता अहिलेसम्म इसिडि ककसको पहिलो बैठक बसिसकेको छ । अब प्रदेश सभाको हिउँदे अधिवेशन शुरु हुनेबित्तिकै इसिडि ककसको बैठक राख्ने र त्यहाँ एजेण्डा तय गरी संसदमा कुरा उठाउने सांसद अधिकारीले बताए । उनले भने, ‘प्रदेशको प्रारम्भिक बालविकास रणनीति बनिसकेको छ । अब यसको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेटको आवश्यकता पर्छ । मैले सदन चल्नेबित्तिकै इसिडिका विषयमा जोडदार कुरा राख्नेछु ।’

सांसद एवं इसिडि ककसका संयोजक अधिकारीले आफूले सामाजिक विकास मन्त्रालयमा गई बजेट व्यवस्था गर्न आग्रह पनि गरिसकेको सुनाए । उनी प्रदेश मामिला समितिमा पनि भएकाले उनले त्यहाँ पनि इसिडि विकास र रणनीति कार्यान्वयनसम्बन्धी कुरा राखिसकेका छन् ।

‘अरु बालविकास केन्द्रहरुलाई पनि नमूना बालविकास केन्द्र जस्तै बनाउने नगरको योजना छ’

कृष्णबहादुर थापा, शैक्षणिक स्रोतव्यक्ति, छेडागाड नगरपालिका, जाजरकोट

छेडागाड नगरपालिकाका १३ वटै वडामा कम्तिमा १–१ वटा मोडल बालविकास केन्द्र बनाइएका छन् । मोडल बालविकास केन्द्र सेभ द चिल्ड्रेन/पाँचतारा युवा संरक्षक मञ्चसँगको सहकार्यमा बनेका हुन् । बालविकास केन्द्रका लागि हुनुपर्ने मापदण्डका आधारमा इसिडि सञ्चालनमा रहेका छन् । सेभ द चिल्ड्रेनसँगको परियोजना शुरु हुनुअघि र पछि ठूलो अन्तर देखियो । पहिला कक्षा १ र बालविकास केन्द्रबीच कुनै फरक थिएन । बालविकास केन्द्रहरु अहिले अरु कक्षाको तुलनामा बिल्कुल फरक छन् । सहजकर्ताले सामग्री बनाउने र बालमैत्री तरिकाले सिकाउने गर्छन् । उनीहरूको शिक्षण सिकाइ क्षमता बढेको छ । अहिलेका बालविकास केन्द्रहरु सफा र रङ्गीचङ्गी छापामय भएका छन् । शैक्षिक सामग्रीले भरिएका छन् । उनीहरूलाई सिकाउने शिक्षकले पनि बालमैत्री व्यवहार गरिरहेको देख्न पाइन्छ ।

छेडागाड नगरपालिकाका १०९ जना बालविकास केन्द्रका शिक्षकले तालिम पाएका छन् । तालिम पाएपछि उनीहरू आफैँ शैक्षिक सामग्री बनाउन सक्ने भएका छन् । विद्यार्थीलाई माया गरी सिकाउन सक्षम देखिन्छन् । झण्डै ८० प्रतिशत विद्यार्थी बालविकास केन्द्रको अनुभवसहित कक्षा १ मा जाने गरेका छन् । बालविकास केन्द्रमा दिवा खाजाको व्यवस्था छ । घरमा सिकाउनका निम्ति समय छुट्याउन अभिभावकलाई पनि आग्रह गर्ने गरिन्छ ।

नमूना बालविकास केन्द्र जस्तै अरु बालविकास केन्द्रलाई पनि नगरपालिकाले सञ्चालन गर्ने सोंच बनाएको छ । दिगोपनाका लागि अवधारणा ल्याएपनि सबै संरचना बनाउन सकिएको छैन । त्यही अनुसार लगानी गर्नुपर्नेछ । तालिममा लगानी गर्नु पर्नेछ । ‘नमूना बालविकास रणनीति’ पालिकाले बनाएको छ । त्यसको कार्यान्वयन शुरु गरिएको छ ।

इसिडिमा सिकाउँदा…

‘हामीलाई यो चुनौती छकि हामी सिकाउँदा हरेक कुरा देखाउन सक्दैनौँ । फोटो देखाएर र खेल सामग्री प्रयोग गरेर शिक्षण गर्दा सिकेको स्मरण गर्न विद्यार्थीलाई सजिलो पर्दो रहेछ । विद्यार्थीलाई श्रव्यदृश्य देखाएर सिकाउँदा परम्परागत किताबभन्दा बढी सम्झिन सक्छन् । जस्तै: हात्ती र बाघको फोटो देखाउँदा विद्यार्थीको आकर्षण देखियो ।’

–रामप्रकाश महतो, प्रधानाध्यापक, श्री सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय रामवन, गोडैता नगरपालिका–५, सर्लाही ।

‘परियोजनाले बालविकास केन्द्रको भौतिक अवस्था सुधारका लागि सघाएको छ । बालविकास केन्द्रका निम्ति नमूना तथा बालमैत्री, खानेपानी तथा शौचालयसहितको भवन निर्माणमा परियोजनाले सहयोग गरेको छ । केन्द्रमा बसाई व्यवस्थापन तथा आवश्यक शैक्षिक सामग्रीमा सहयोग तथा शिक्षकहरुको क्षमता अभिवृद्धिमा सहयोग गरेको छ । केन्द्रका शिक्षकहरुको लागि घुम्ति बैठक आयोजना गर्ने गरेको छ जसले गर्दा सहजकर्ताहरुबीच आफ्ना अफ्ठयाराहरु सेयर गर्ने अवसर मिलेको छ । बैठकमा शैक्षिक सामग्री निर्माण पनि गर्ने गरिएको छ । अभिभावक शिक्षा शत्रले गर्दा अभिभावकहरु विद्यालयमा आएर आफ्ना छोराछोरीहरुका बारेमा सोधखोज गर्न थालेका छन् । अभिभावकरुहरुले केन्द्रमा आएर शिक्षकलाई शैक्षिक सामग्री निर्माणमा सहयोग गर्न थालेका छन् । यसले गर्दा अभिभावकहरुले बालविकास केन्द्रप्रति अपनत्व महशूस गर्न थालेका छन् ।

–फूलकुमारी चौधरी, प्रधानाध्यापक, जनशक्ति आधारभूत विद्यालय, ईश्वरपुर सर्लाही ।

(प्रस्तुत रिपोर्ट सेभ द चिल्ड्रेनको सहयोगमा कर्णाली तथा मधेश प्रदेशमा शिक्षाका लागि गरिएका असल अभ्यासको दस्तावेजीकरण एवं वितरणसम्बन्धी हालै सम्पन्न अध्ययनका क्रममा प्राप्त तथ्य र प्रत्यक्ष रिपोर्टिङका आधारमा तयार पारिएको हो । –सं.)

 

Facebook Comments

रिमिडियल क्लास र लर्निङ क्याप्सुल : विद्यार्थीका सिकाइका निम्ति सञ्जीवनी 

Previous article

अपाङ्गता भएका बालबालिकाका निम्ति वरदान सावित हुँदै ‘स्कूल एट होम’ र स्रोत विद्यालय

Next article