विचार/तर्कशिक्षण सिकाइ

६ देखि १० हप्तामै अक्षर र अङ्कहरू सिक्न सक्षम बनाउँदै TaRL पद्दति


पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय शिक्षा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमले तय गरेको निर्धारित सिकाइ उपलब्धिहरू हेर्ने हो भने कक्षा ३ सम्म अध्ययन गरेका हरेक विद्यार्थीहरूले आधारभूत भाषिक तथा गणितीय सिप हासिल गरिसकेको हुनु पर्छ । तथापि, विभिन्न सिकाइसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका प्रतिवेदनहरूले उक्त निर्धारित सिकाइ उपलब्धिहरू हासिल गर्न नसकिरहेको देखाउँछ ।

अपत्यारिलो लाग्न सक्छ, गत वर्ष मधेश र कर्णाली प्रदेशका २३४ सामुदायिक विद्यालयका करिव १३ हजार ५ सय ८७ जना विद्यार्थीहरूमा गरिएको सिकाइ परीक्षण अनुरूप कक्षा ३, ४ र ५ मा अध्ययनरत ४३ प्रतिशत विद्यार्थीहरू नेपालीका शब्दहरू पढ्न सक्दैनन्, त्यसमध्ये पनि करिव १७ प्रतिशत विद्यार्थीले त अक्षर पढ्न नसक्ने देखिन्छन् । त्यसैगरी, गणित विषयमा हेर्ने हो भने ३७ प्रतिशत विद्यार्थीहरू २ अङ्कले बनेका सङ्ख्यासमेत पहिचान गर्न नसक्ने अवस्थाका छन् । सिकाइ परीक्षणको तथ्याङ्क हेर्दा समग्र कक्षाकोठाका आधाजसो विद्यार्थीले आधारभूत भाषिक तथा गणितीय सिप सिक्नै संघर्षरत रहेको देखिन्छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०२० मा कक्षा ३ मा गरेको National Assessment for Reading and Numeracy (NARN) सिकाइ परीक्षणको अध्ययनले ८.४१ प्रतिशत विद्यार्थीहरूले मात्र नेपाली विषयमा तहगत सक्षमता हासिल गरेको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी, सन् २०१९ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको कक्षा १० को National Assessment of Students Achievement (NASA) सिकाइ परीक्षण नतिजाअनुरूप हेर्ने हो भनेपनि ३२ प्रतिशत विद्यार्थीहरू गणितमा, ३७ प्रतिशत विज्ञानमा, २० प्रतिशत विद्यार्थीहरू नेपालीमा र ३० प्रतिशत विद्यार्थीहरू अंग्रेजी विषयमा आधारभूत सिकाइ तहभन्दा तल रहेको अध्ययनले देखाएको छ ।

विद्यार्थीहरूको सिकाइ उपलब्धि न्यून हुनु वा खस्किनुमा विद्यालय तथा शिक्षकहरूलाई मात्र मुख्य पक्षका रूपमा हेर्ने गरिन्छ तथापि निर्धारित सिकाइ उपलब्धि हासिल हुन नसक्नुमा सामाजिक, आर्थिक, संरचनागत, शारीरिक तथा मानसिक पक्षहरू, भाषिक, लैङ्गिक, विविधता, समावेशिता, सिकाइमैत्री वातावरण जस्ता यावत पक्षहरू प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।

यसै सन्दर्भमा Street Child of Nepal ले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत तयार गरिएको Recovery and Accelerated Learning (ReAL) योजनामा मद्दत पुग्ने उद्देश्यसहित विभिन्न कारणले निर्धारित सिकाइ उपलब्धि हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई आधारभूत भाषिक तथा गणितीय सिप हासिलका लागि मधेश र कर्णाली प्रदेशका करिव ६०० सामुदायिक विद्यालयहरूका कक्षा ३ देखि ५ सम्म अध्ययनरत करिव ३६००० विद्यार्थीहरूलाई लक्षित गरी ReAL योजनाको एउटा प्रमुख रणनीतिका रूपमा स्थापित सिकाइ स्तरका आधार शिक्षण (TaRL) पद्दति कार्यान्वयनमा मद्दत गरिरहेको छ ।

यस सिकाइ स्तरका आधार शिक्षण (TaRL) क्रियाकलाप पूर्व र पश्चात् गरिएको सिकाइ परीक्षणको नतिजाले विद्यार्थीहरूको सिकाइमा निकै नै सुधार भएको देखिन्छ । सम्बन्धित कक्षाका शिक्षकहरूद्वारा नै गरिने यस सिकाइ परीक्षण आधारभूत भाषिक तथा गणितीय सिकाइका क्षेत्रहरूलाई समेटेर गर्ने अभ्यास रहेको छ ।

गत वर्ष (२०८०) मा मधेश र कर्णाली प्रदेशका २३४ सामुदायिक विद्यालयका कक्षा ३ देखि ५ सम्मका १३ हजरा ५ सय ८७ जना विद्यार्थीहरू सम्मिलित नेपाली विषयको सिकाइ परीक्षणले देखाएअनुरूप, TaRL क्रियाकलाप पूर्व गरिएको सिकाइ परीक्षणमा कक्षा ३, ४ र ५ का १६.५ प्रतिशत विद्यार्थीले अक्षर मात्रा पनि चिन्न नसक्ने रहेको देखिन्छ भने ३१.१ प्रतिशतले शब्द पढ्न नसक्ने अवस्थाका देखिन्छन् । त्यसैगरी, १७.८ प्रतिशत विद्यार्थीले मात्र सरसर्ती पाठ पढ्न सक्ने सिकाइ परीक्षणको नतिजाले देखाउँछ । साथै, ६ देखि १० हप्ताको TaRL क्रियाकलापपश्चात् गरिएको सिकाइ परीक्षणको नतिजा हेर्दा लगभग सबै विद्यार्थीले अक्षरहरू पहिचान गर्न सक्ने, ५ प्रतिशत विद्यार्थीहरूबाहेक सबैले शब्द पढ्न सक्ने भएको देखिन्छ । त्यसैगरी, १७.८ प्रतिशतबाट ४५.५ प्रतिशत विद्यार्थीहरू सरसर्ती पाठ पढ्न सक्ने अवस्थामा पुगेको सिकाइ परीक्षणको नतिजाले देखाउँछ ।

यसैगरी, कक्षा ३, ४ र ५ का १३ हजार ५ सय ८७ जना विद्यार्थीहरू सम्मिलित गणित विषयको TaRL क्रियाकलापपूर्व गरिएको सिकाइ परीक्षणको नतिजा हेर्ने हो भने ८.६ प्रतिशत विद्यार्थीहरू एक अङ्कले बनेका सङ्ख्या पहिचानसमेत गर्न नसक्ने र २८.५ प्रतिशतले २ अङ्कले बनेका सङ्ख्या पहिचान गर्न असमर्थ रहेको सिकाइ परीक्षणले देखाउँछ । समग्रमा हेर्दा सामान्य गणितीय समस्या वा जोड, घटाउ, गुणन र भाग गर्न नसक्ने करिव ७४ प्रतिशत विद्यार्थीहरूको देखिन्छन् । साथै, ६ देखि १० हप्तासम्मको TaRL क्रियाकलापपश्चात् गरिएको सिकाइ परीक्षणको तथ्याङ्क हेर्ने हो भने सबै विद्यार्थीहरूले अङ्क पहिचान गर्न सक्ने, करिव २२ प्रतिशत विद्यार्थीहरूबाहेक सबैले सामान्य गणितीय समस्या समाधान गर्न सक्ने देखिन्छ जुन क्रियाकलाप पूर्व ७४ प्रतिशत विद्यार्थीहरूले गर्न नसकेको सिकाइ परीक्षणले देखाएको थियो ।

TaRL क्रियाकलाप पहिले र क्रियाकलापपश्चात् गरिएको सिकाइ परीक्षणको तथ्याङ्क हेर्ने हो भने करिव १३ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूमा कोही पनि अब अक्षर मात्रा तथा अङ्क सिकाइमा अड्किएको देखिँदैन वा सिकाइ आपूरणमा TaRL क्रियाकलाप निकै नै प्रभावकारी भएको देखिन्छ । छोटो समयमा नै सिकाइमा संघर्षरत विद्यार्थीहरूलाई अक्षर मात्रा र अङ्कहरूसँगै आधारभूत भाषिक र गणितीय सिप हासिल गर्न सक्षम बनाउनका लागि उपयुक्त विधि, प्रक्रिया तथा सामग्रीहरूको प्रयोग र अभ्याससहितको TaRLअन्तर्गतका क्रियाकलाप गर्न सकिएको खण्डमा विद्यार्थीहरूको सिकाइ सुधारमा निकै नै फड्को मार्न सकिने पर्याप्त आधारहरू निर्माण गरेको छ ।

के हो यो TaRL पद्दति ?

तहगत रूपमा पाठ्यक्रमले निर्दिष्ट गरेको आधारभूत तथा न्यूनतम सिकाइ उपलब्धि हासिल गर्नका लागि सिकाइको स्तर अनुरूप उपयुक्त र आवश्यकताकेन्द्रित शिक्षण सिकाइ क्रियाकलाप छनोट तथा कार्यान्वयन गर्ने उपाय वा रणनीति नै सिकाइ स्तरमा आधारित शिक्षण पद्दति Teaching at the Right Level (TaRL) हो । यसअन्तर्गत आधारभूत तह कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सिपमा दक्षता अभिवृद्धि गर्न तथा सिकाइ आपूरणका लागि सिकाइ स्तर अनुरूपको सिकाइ सहजीकरणमा समेत मद्दत पुग्ने उद्देश्यसहित सिकाइ स्तरमा आधारित शिक्षण Teaching at the Right Level (TaRL) क्रियाकलाप सञ्चालन गरिन्छ ।

विद्यार्थीहरू कक्षा स्तरोन्नति हुँदै गर्दा पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धिहरू हासिल गर्दै जानुपर्ने हुन्छ । आधारभूत तहको कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीले पाठ्यक्रमले निर्दिष्ट गरेका न्यूनतम वा आधारभूत विषयवस्तुहरूमा सिकाइ हासिल गर्नु निकै नै महत्वपूर्ण हुन्छ । सिकाइ स्तरमा आधारित शिक्षण पद्दतिअन्तर्गत विद्यार्थीको सिकाइ स्तर पहिचान गर्ने, सिकाइको स्तरअनुरूप समूहीकरण गर्ने, सिकाइ स्तरअनुरूपको उपयुक्त रणनीतिसहितको शिक्षण क्रियाकलापको योजना बनाई शैक्षणिक क्रियाकलाप सञ्चालन तथा सहजीकरण गर्ने जस्ता मुख्य विषयवस्तुहरू पर्छन् । विद्यार्थीले कक्षा वा तह अनुरूप सिकाइ उपलब्धि हासिल गर्न नसक्नुमा विविध कारणहरू जस्तैः कुनै विपत् वा महामारीका कारण विद्यालय बन्द हुनु, नियमित विद्यालयमा उपस्थित नहुनु, कक्षाकोठामा उपयुक्त तथा आवश्यकताकेन्द्रित क्रियाकलाप नहुनु, शैक्षणिक सामग्रीको उपयुक्त व्यवस्थापन तथा प्रयोग नहुनु, सिकाइमैत्री वातावरण नहुनु, नियमित सुधारात्मक मूल्याङ्कन नहुनु जस्ता धेरै पक्षहरू रहेका हुन सक्छन् । तसर्थ, यस सिकाइ स्तरमा आधारित शिक्षण (TaRL) पद्दतिले विद्यार्थीको सिकाइ स्तर पहिचान, समूहीकरण, आवश्यकता अनुरूपका उपयुक्त क्रियाकलाप छनोट तथा सहजीकरणसँगै न्यूनतम सिकाइ उपलब्धिहरू हासिल गर्न मद्दत पुर्याउँछ । सिकाइ स्तरमा आधारित शिक्षण (TaRL) पद्दतिको उद्देश्य भनेको विद्यार्थीको सिकाइ स्तर वा अवस्था पहिचान तथा सिकाइ स्तरका आधारमा समूहीकरण गर्ने, सिकाइ स्तर अनुरूप उपयुक्त शिक्षण क्रियाकलाप तय गर्दै क्रियाकलाप सहजीकरण गर्ने र सिकाइ आपूरण तथा तहगत रूपमा निर्दिष्ट गरिएका न्यूनतम सिकाइ उपलब्धि हासिलका लागि मद्दत गर्नु हो ।

TaRLअन्तर्गत मुख्यगरी नेपाली विषयकेन्द्रित साझा र समूहमा गरिने करिव १७ ओटा मुख्य क्रियाकलापहरू रहेका छन् भने गणित विषयकेन्द्रित २९ भन्दा बढी क्रियाकलापहरू ६ देखि १० हप्तासम्मको समयावधिमा सम्पन्न गरिने गरिन्छ । उक्त क्रियाकलाप सञ्चालनका लागि सर्वप्रथम सम्बन्धित विषयका कक्षा शिक्षकहरूको क्षमता विकास गर्ने, विद्यार्थीहरूको सिकाइ स्तर परीक्षण गर्ने र सोहीअनुरूप क्रियाकलाप छनोट तथा कार्यान्वयन गरिने गरिन्छ ।

विद्यार्थीहरूको सिकाइ स्तरअनुरूप गरिएको समूह विभाजन अनुसार तय गरिएको न्यूनतम २० घण्टा हरेक समूहलाई केन्द्रित गरेर उपयुक्त TaRL क्रियाकलाप सञ्चालन गरिने गरिन्छ । नेपाली विषयअन्तर्गतका समूह १. प्रारम्भिक, वर्णमात्रा तथा शब्द स्तरका क्रियाकलाप, समूह २. वाक्य स्तरका क्रियाकलाप र समूह ३. पाठ वा कथा स्तरका क्रियाकलाहरू कार्यान्वयन गरिने गरिन्छ । त्यसैगरी, गणित विषयका लागि समूह १. प्रारम्भिक तथा सङ्ख्या स्तरका क्रियाकलाप, समूह २. जोड र घटाउ स्तरका क्रियाकलाप र समूह ३. गुणन र भाग स्तरका क्रियाकलापहरू पर्याप्त अभ्यासकेन्द्रित रहेर कार्यान्वयन गरिने गरिन्छ । साथै, निर्धारण गरिएको न्यूनतम समयअनुरूप विद्यार्थीहरूले सो समूह पार गर्न नसक्ने अवस्थामा शिक्षकले समय थप गरेर उक्त समूहकेन्द्रित क्रियाकलाप सञ्चालन गर्ने गरिन्छ । ६ देखि १० हप्तासम्म प्रभावकारी रूपमा TaRL क्रियाकलाप सञ्चालनका लागि शिक्षकको क्षमता विकासदेखि, क्रियाकलाप तथा सामग्रीसम्मको खर्च जोड्ने हो भने प्रतिविद्यार्थी करिव ३२०० रूपैयासम्म खर्च लाग्ने गर्छ ।

TaRL अन्तर्गत विद्यार्थीहरूको सिकाइ स्तर पहिचान तथा समूहीकरणका लागि आधारभूत भाषिक तथा गणितीय सिपकेन्द्रित सिकाइ परीक्षण साधनको प्रयोग गर्दै विद्यार्थीहरूको सिकाइ स्तर निर्धारण गरिने गरिन्छ । नेपालीको सिकाइ परीक्षण साधनमा वर्णमात्रा, शब्द, वाक्य, अनुच्छेद समावेश रहेका हुन्छन् भने गणित विषयको सिकाइ स्तर परीक्षण साधनमा एक अङ्कले बनेका सङ्ख्या, २ अङ्कले बनेका सङ्ख्या, जोड, घटाउ, गुणन र भागहरू समावेश गरिएका हुन्छन् ।

TaRL क्रियाकलापहरू प्रभावकारी तबरले सहजीकरण होस् भन्ने उद्देश्यले विद्यार्थीहरूको तथ्याङ्क व्यवस्थापनका लागि विद्यार्थीको नाम, कक्षासहितको नेपाली र गणित विषयको सिकाइको स्तर एउटा फाराममा राख्ने र नियमित रूपमा सिकाइ सुधार भए/नभएको एकिन गर्दै अद्यावधिक गरिने गरिन्छ । यसरी गरिएको सिकाइ स्तरको अभ्यासले विद्यार्थीहरूको सिकाइको स्तर निर्धारण मात्र नभएर समूह स्थानान्तरण र आवश्यकताअनुरूपको क्रियाकलाप सहजीकरणमा समेत मद्दत पुग्छ । अध्ययनअनुरूप हेर्ने हो भने फरक–फरक सिकाइ स्तर भएका वा समूहका विद्यार्थीहरूलाई एकै स्थानमा राखेर (Heterogeneous Approach) भन्दापनि समान सिकाइ स्तर भएका विद्यार्थीहरूको समूह (Homogeneous Approach) अनुरूप TaRL क्रियाकलाप कार्यान्वयन गर्दा बढी प्रभावकारी भएको देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सिकाइ स्तरमा आधारित शिक्षण Teaching at the Right Level (TaRL) क्रियाकलाप सन्दर्भ सामग्री निर्माण गरी केन्द्रको वेबसाइट (www.cehrd.gov.np वा https://shorturl.at/iiXdR) मा समेत राखिएको छ ।

साथै, TaRL क्रियाकलापबारे थप जानकारी आवश्यक भएमा Street Child of Nepal को केन्द्रीय कार्यालय थसिखेल, ललितपुरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Facebook Comments

सिकाइ उपलब्धि बढाउन मेलम्ची नगरपालिकाले ल्यायाे विशेष कार्यक्रम

Previous article

स्तरीय शिक्षण संस्थाः गुणस्तरीय शिक्षा

Next article