बालवाटिका

बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’


भक्तपुर– विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको  बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ ।
पत्रकारिताका अलवा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका छुकांको पहिलो कविता सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उहाँको गजल सङ्ग्रह ‘हस्ताक्षरभित्रका अक्षरहरु…’ प्रकाशन भइसकेको छ ।

सञ्चारकर्मी छुकांको सो सङ्ग्रहलाई भक्तपुर सूर्यविनायकस्थित युथ सोसाइटी फर सोसियल वेलफेयर (वाईएसएसडब्ल्यू) ले प्रकाशन गरेको हो । प्रकाशक संस्थाका अध्यक्ष तुल्सिकुमार त्वायनाले बालसाहित्यले बालबालिकालाई चरित्रवान् र नैतिकवान बनाउन सघाउने भएकोले सञ्चारकर्मी छुकांका कविताहरुलाई प्रकाशनमा ल्याएको प्रकाशक संस्थाका अध्यक्ष त्वायनाले जानकारी दिए ।

‘भोलिको समाजको स्वरुप आजको बालबालिकाले नै निर्धारण गर्ने तथ्यलाई मनन् गरी बालबालिकाहरुलाई उचित दिशा निर्धारण गर्न सघाउने खालका कविताहरुलाई सङ्ग्रहको रुपमा बजारमा ल्याउने काम गरेका हौं,’ अध्यक्ष त्वायनाले भन्नुभयो ।

उहाँका कविताहरुमा घुम्न जाऔं न लौ, क–कलम, जानी राखे राम्रो, हेर मिनी, चिनारी, घर, चरीको गीत, फिरफिर पुतली, भिटामिनका मूल, असल बन्छु म, चिरीचिरी चरी, पढ्नु धेरै छ, सातबारको काम, चित्र बनाएँ, अलक बम, अलक बम, मज्जा, दाइ र भाइ, हाछ्युँ, हाछ्युँ, जुलुस, कख पढ, गुरु, कमिला, शनिबार, सानो बावु, आकाशमा के छ ?, बादल, कस्तो छ ?, म को हुँ ?, मलाई मनपर्छ, देश बने तिमी बन्छौ, जन्मदिन, आमा, हामी पढ्ने स्कुलमा, चित्रजस्तो देश, चिनी गुलियो, गीत गाउँदा, त्यो निलो आकाशमा, माछा पोखरीमा र को ठूलोलगायतका शीर्षक रहेका छन् । बालबालिकाको दैनिकीका क्रममा देखेका, सुनेका, भोगेका, पढेका कुरालाई छुकांका कविताहरुले कविताको विषय बनाएका छन् ।

बालबालिकाहरुले मन पराउने विषयलाई कविताको विषय बनाएर लेखिएका कविताहरु बालसुलभ पनि छन् । ‘बालबालिकाहरुलाई साहित्यको एक विधा कविता पढ्न, लेख्न उत्साहित गर्न सकिन्छ कि भन्ने उद्देश्यले सङ्ग्रह बनाएको हुँ, यसमा सङ्ग्रहित कविताहरु विद्यार्थीका लागि काम लाग्दा छन्, शिक्षकहरुलाई शिक्षण क्रियाकलापमा सहयोगी बन्न सक्छन्,’ लेखक छुकांले भन्नुभयो ।

कक्षा ३ देखि कक्षा १० पढिरहेका विद्यार्थी र ७ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी लेखिएका कवि छुकांका कविताहरुको सङ्ग्रहमा ४० थान कविता सङ्ग्रहित छन् । सो सङ्ग्रहको मूल्य १२५ रुपियाँ रहेको छ ।

Facebook Comments

युएण्टोले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने

Previous article

सिरहाका तीनवटै क्याम्पसमा भएन स्ववियु निर्वाचन

Next article