समाचार

एक करोड ४३ लाख पाठ्यपुस्तक नष्ट गरिँदै


सुदर्शन सिग्देल/काठमाडौं
निजी क्षेत्रका प्रकाशकद्वारा छपाइएको कक्षा १ र २ को गत सालको बाँकी एक करोड ४३ लाख थान अब कामै नलाग्ने भएको छ । यी किताब नष्ट गर्नुपर्ने वा कवाडीमा बेच्नुपर्ने अवस्था आएको निजी प्रकाशकहरु बताउँछन् ।

सरकारले कक्षा १ र २ को किताब रङ्गीन बनाउने निर्णय गरेपछि निजी क्षेत्रका प्रकाशकहरुले पनि सोही अनुसार पाठ्यपुस्तक छापिरहेका छन् । गत सालको श्याम–श्वेत (ब्ल्याक एण्ड ह्वाइट) पाठ्यपुस्तक नै एक करोड ४३ लाख थान रहेको र त्यो अब काम नलाग्ने निजी मुद्रकहरु बताउँछन् । ‘अब यो जलाएसरी नै हुने’भो,’ निजी क्षेत्रका मुद्रक एवं प्रकाशकका प्रतिनिधि दीपक भण्डारीले भन्नुभयो, ‘यी पुस्तकलाई कवाडीमा कौडीकै भाउँमा दिनुबाहेक विकल्प रहेन ।’

शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा निजी क्षेत्रलाई दिएको छ । यस अनुसार कक्षा १ र २ को जम्मा ७५ लाख थान रङ्गीन पाठ्यपुस्तक निजी क्षेत्रले छपाउने जिम्मा पाएको छ । यो शैक्षिक सत्रका लागि १५ वटा निजी प्रकाशकले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएका छन् । कक्षा ५ सम्म पाँच विषय भएकाले १ र २ कक्षाका लागि १० वटा नयाँ विषयका किताब छाप्नुपर्ने हुन्छ ।
मौजुदा पाठ्यपुस्तक नष्ट गर्नुपर्ने अवस्था आउनुलाई भण्डारी मन्त्रालयको कमजोरी हो भन्नुहुन्छ । ‘उहाँहरु फ्ल्यास रिपोर्ट दिनुहुन्छ, त्यहीँअनुसार हामीले किताब छाप्यौं । कमसेकम लिखित रुपमा अर्काे साल कक्षा १–२ को किताब रङ्गीन छाप्दैछौं है भनेर पत्र दिएको भए यसरी किताब कामै नलाग्ने हुँदैनथे,’ भण्डारीले भन्नुभयो, ‘अब पनि आउँदो वर्ष कक्षा ३ को किताब रङ्गीन छाप्ने कुरा छ । यो पनि त मौखिकभन्दा पनि लिखित जानकारी शैक्षिक सत्र शुरु हुँदै गराइदिए त ब्ल्याक एण्ड ह्वाइट बढी छाप्नु पर्दैनथ्यो नि !’

यता, पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता चन्द्रकान्त भुषाल भने यस्तो विषयमा मन्त्रालयबाट निर्णय भएर आउनुपर्ने हुनाले आफूहरुले यसै भन्न नसक्ने बताउनुभयो । शिक्षा मन्त्री नै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का अध्यक्ष हुने हुँदा मन्त्रिस्तरको निर्णयबिना पाठ्यक्रमले बोल्न नमिल्ने भुषालको भनाइ छ ।

कर्णालीको पाठ्यपुस्तक कमिसन बार्गेनिङमा
कर्णालीका तीनवटा जिल्ला डोल्पा, जुम्ला र हुम्लाका लागि नेपालगञ्जमा दुई लाख एक हजार ६ सय ८५ थान किताब पुगिसकेको छ । शिक्षा विभागको फ्ल्यास रिपोर्ट अनुसार तीनवटा जिल्लामा जम्मा ४० हजार ३ सय ३७ विद्यार्थी छन् । एक सय ३३ रुपैयाँको किताब मूल्य बढेर २ सय ७० रुपैयाँ ६० पैसा पुगेको छ । जसमा कक्षा २ को किताब मूल्य २ सय ६१ रुपैयाँ ८० पैसा छ । डोल्पामा लैजान बिक्रेताहरुले ८० प्रतिशतभन्दा बढी कमिसन मागिरहेकाले किताब यतिबेला नेपालगञ्जमै रहेको अवस्था छ । निजी प्रकाशकहरुले भने किताब रङ्गीन भएको र त्यही अनुसार मूल्य बढेकाले ६० प्रतिशत मात्र कमिसन दिन आफूहरु तयार रहेको बताइरहेका छन् ।

Facebook Comments

अस्थायी शिक्षकको माग नाजायज : शिक्षामन्त्री पौडेल

Previous article

अभिभावकहरुको महासंघ बन्दै

Next article