काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन मस्यौदा आइतबार नै मन्त्रिपरिषदमा लैजाने भनेपनि ‘आफ्नै तयारी नपुगेका’ कारण देखाउँदै ७ चैत सोमबार लग्ने बताएको छ ।
आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा ६ गते नियमावलीको मस्यौदा मन्त्रिपरिषदमा लैजानका लागि दर्ता गर्न नसकिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो । साँझ पाँच बजेसम्म भएपनि मस्यौदा प्रधानमन्त्रीको कार्यालयमा दर्ता गर्ने तयारी गरेको मन्त्रालयले कागजात मिलाउँदा मिलाउँदै ढिलो भएको जनाएको छ । सोमबार भने कार्यालय समय शुरु हुनेबित्तिकै नियमावली मस्यौदा प्रधानमन्त्रीको कार्यालयमा दर्ता गरिने डा. लम्सालले बताउनुभयो ।
’आज ढिलोगरी भएपनि प्रस्ताव प्रधानमन्त्रीको कार्यालयमा लग्ने तयारी थियो । तर, नियमावली दर्ताका लागि आवश्यक मस्यौदा प्रति फोटोकपि गर्दागर्दै भ्याइएन,’ मन्त्रालयका प्रवक्ता डा. लम्सालले भन्नुभयो, ‘भोलि (सोमबार) फस्र्ट आवरमै दर्ता गर्छौं ।’
अर्थ मन्त्रालयको स्वीकृति, कानून मन्त्रालयले दिएको सहमतिसहित २ सयभन्दा बढी पृष्ठ नियमावलीको ५०र६० कपी फोटोकपि गर्नुपर्थ्यो । आजको शिक्षासँग कुरा गर्दै प्रवक्ता लम्सालले आइतबार नै नियमावली पारितका लागि मन्त्रिपरिषद् लगिने जानकारी दिनुभएको थियो ।
डा. लम्सालले अर्थ मन्त्रालयले सहमति नदिएका विषयसमेत समेटेर नियमावली मस्यौदा मन्त्रिपरिषदमा लगिनेछ भन्नुभयो । ‘हामीले अर्थले सहमति नदिएका विषय पनि कानूनमा पठाएका थियौं, कानून मन्त्रालयको छापसहित सहमति भएर आएकै प्रति मन्त्रिपरिषदमा पुग्नेछ,’ उहाँले भन्नुभयो ।