शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको छ । विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो संसदबाट जारी गराउन र शिक्षकहरुसित विगतमा सरकारले गरेको विभिन्न सम्झौतालाई लागू गर्न दबाब दिँदै महासंघ आन्दोलनमा होमिएको हो ।

महासंघले शिक्षा मन्त्रालयको कार्यान्वयन निकाय सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अहिले रिले अनशन गरिरहेको छ ।
महासंघले शिक्षा ऐन जारी नहुञ्जेलसम्म आन्दोलन नरोक्ने केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउँछन् । ‘संसदले ऐन जारी गरोस्, सरकारले शिक्षकसँगको सम्झौताको पालना गरोस्, हामी आन्दोलन रोक्छौं,’ उनले भने, ‘रिले अनशनपछि हामी सशक्त आन्दोलन शुरु गर्छाैं ।’

सिंहदरबारमा रहेको शिक्षा मन्त्रालय निषेधित क्षेत्रमा पर्ने भएकाले सानोठिमीमै रिले अनशन गर्नु परेको शिक्षक नेताहरुले बताए ।
यही चैत ७ देखि शुरु रिले अनशन १५ गतेसम्म रहनेछ ।