सबै समाचार

सिकाइ उपलब्धि बढाउन मेलम्ची नगरपालिकाले ल्यायाे विशेष कार्यक्रम


मेलम्ची नगरपालिकाले विद्यालयहरूमा कक्षा ८ र १० का विद्यार्थीकाे सिकाइ उपलब्धि बढाउन विशेष कार्यक्रम अघि सारेकाे छ ।

नगरपालिकाले कक्षा १० सम्म सञ्चालनमा रहेका विद्यालयलाई एक लाख र ८ सम्म मात्र चलिरहेकालाई ५० हजार रूपैयाँ छुट्याएकाे छ । दुबैखाले विद्यालयलाई  प्रारम्भमा आधा रकम दिइनेछ । त्यसपश्चात् लक्षित सिकाइ उपलब्धि हासिल गर्न सकेपछि मात्र बाँकी आधा रकम विद्यालयहरूले पाउनेछन् । यसका निम्ति करिव २५ लाख रूपैयाँ छुट्याई विद्यालयहरूसित प्रस्ताव मागिसकिएकाे शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले जानकारी दिए । विद्यालयहरूले कमजाेर नतिजा हासिल गरेका विद्यार्थीका लागि उपचारात्मक (रिमिडियल) कक्षा वा काेचिङ क्लास चलाउनेगरी सिकाइ उपलब्धि बढाउने प्रस्ताव पालिकामा पेश गर्नुपर्ने हुन्छ । नगरपालिकामा समग्र सिकाइ उपलब्धि ६० प्रतिशतकाे हाराहारीमा रहेकाले यसलाई बढाउन पालिकाले यस्ताे कार्यक्रम ल्याउनु स्वागतयोग्य भएकाे सिन्धुपुरानागाउँ माविका प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले सुनाए ।

नगरपालिकाले मंगलबार  (मंसिर ११ गते) प्रधानाध्यापकहरूकाे बैठक राख्दै सिकाइ उपलब्धि बढाउनेबारे सघन छलफल गरेकाे थियाे । छलफलमा नगरप्रमुख आइतमान तामाङले विद्यार्थीकाे सिकाइ उपलब्धि बढाउनका निम्ति नगरपालिकाले लगानी गर्न कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रधानाध्यापक तथा शिक्षकहरूले कडा मेहनत गर्नुपर्ने बताए । ‘गुणस्तरीय शिक्षाका लागि लगानी गर्न नगरपालिकाले कुनै कञ्जुस्याई गरेकाे छैन,’ नगरप्रमुख तामाङले भने, ‘सुधार गर्न अझै नयाँ प्रकारका सुझाब र साेंच आउँछ भने हामी स्राेतकाे व्यवस्था गर्न तयार छाैं ।’

पुसबाटै विद्यालयहरूकाे अनुगमन गरिँदै 

प्रअहरूकाे बैठकमा नगरप्रमुख तामाङले भने,’हामी स्राेत त दिन्छौं नै, सिकाइ उपलब्धिका लागि कुन विद्यालयले कस्ताे काम गर्दैछ भनेर अनुगमन थालिहाल्नेछाैं । आउँदाे पुसबाटै अनुगमन शुरू हुन्छ ।’ उनले विद्यालयहरूले नतिजा राम्राे नल्याए त्यसकाे परिणाम भाेग्न पनि प्रअहरूलाई सचेत गराएका छन् । ‘कि पढाउन नसके ती शिक्षकलाई प्रशिक्षण दिने व्यवस्था पनि गर्नुपर्ने हुन्छ कि त एकजनाका कारण सयाैं विद्यार्थीकाे भविष्य अन्याैल बनाउनु हुन्न,’ तामाङले भने, ‘विद्यार्थीले पढ्न नसक्नुमा शिक्षक मात्र नभएर अभिभावक पनि कारक हुन सक्छन् । हामीलाई तपाईंहरूले जानकारी गराउनु पर्छ ।’

विद्यार्थीलाई कानूनी ज्ञान दिइने 

नगरपालिकाले पालिकाभित्रका कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई कानूनी ज्ञान दिने भएकाे छ ।

फाैजदारी र देवानी संहिताबारे जानकारी गराउने र त्यसमा रहेका मुख्य-मुख्य प्रावधानबारे विद्यार्थीलाई कानूनविज्ञमार्फत् नै सचेतना दिने याेजना रहेकाे नगरप्रमुख तामाङले जानकारी दिएका छन् । उनी भन्छन्, ‘किशाेर उमेरमै कानूनी ज्ञान नहुँदा झगडा र लडाई गर्ने प्रवृत्ति देेखियाे, याे उमेरका विद्यार्थीलाई कानूनी प्रावधान थाहा दिइयाे भने उनीहरू मात्र नभई परिवारलाई नै सचेत बनाउन सघाउँनेछन् ।’

तामाङ मातृभाषामा शिक्षा दिने तयारी

नगरपालिकाले मातृभाषामा विद्यार्थीले सिक्न पाउने व्यवस्था गर्ने भएकाे छ । तामाङ मातृभाषामा पठनपाठन गराउन पालिकाले आउँदाे शैक्षिक शत्र २०८२ बाट कार्यक्रम लागू गर्ने तयारी गरेकाे छ । याे कार्यक्रम लागू गर्नुअघि शिक्षकहरूलाई तालिम प्रदान गर्ने र पाठ्यपुस्तक पनि तयार गरिसक्ने पालिकाकाे याेजना छ । यस सम्बन्धमा तामाङ मातृभाषी अभियन्ताहरू  प्रतिक तामाङ, माेहन तामाङलगायतले मंगलबार प्रअ बैठकमा प्रस्तुतिसमेत गरेका थिए ।  तामाङ भाषाकाे आवश्यकता, कानूनी आधार, अवसर र चुनौतीबारे अभियन्ताहरूले प्रष्ट्याएका थिए ।

परीक्षालाई स्तरीकृत बनाउन समिति गठन 

कक्षा ८ र १० का बाहेक अरू तहका परीक्षालाई पनि नगरस्तरमा स्तरीकृत गर्न पालिकास्तरमा विषयगत शिक्षकहरू सम्मिलित परीक्षा समिति गठन गरिएकाे छ । प्रअहरूकाे भेलाले मेलम्ची नगरपालिका कटुञ्जेस्थित जनजागृति माविका प्रअ इन्द्रकुमार तामाङकाे संयाेजकत्वमा परीक्षा समिति गठन गरेकाे हाे ।

प्रअ भेलाले नगरपालिकाकाे क्यालेन्डर अनुसार राष्ट्रपति रनिङ शिल्ड आगामी माघ महिनामा गर्ने र साेहीअनुरूप तयारीका लागि आवश्यकताका आधारमा विद्यालयहरूलाई खेलकुद सामग्री पनि उपलब्ध गराउन नगरपालिका तयार रहेकाे बताइएकाे छ । साथै, नगरपालिकाले बेरूजु फर्स्याेट कार्यक्रमलाई प्राथमिकतामा राखेकाे र बेरूजु नआउनेगरी स्राेत खर्च गर्न पनि प्रधानाध्यापकहरूलाई आह्वान गरेकाे छ ।

 

 

Facebook Comments

विद्यालय शिक्षा ऐन मेराे प्रतिष्ठाकाे विषय भयाे, मेरै पालामा जारी हुन्छ: शिक्षामन्त्री

Previous article

६ देखि १० हप्तामै अक्षर र अङ्कहरू सिक्न सक्षम बनाउँदै TaRL पद्दति

Next article