समाचार

बन्द रहेको एउटा छात्रावासको बिजोक कथा


सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाको छात्रवास वर्षौंदेखि प्रयोगबिहीन अवस्थामा छ । दिनदिनै छात्रवास जीर्ण पनि बन्दै गएको छ । आठ वर्ष अगाडि विद्यार्थी संगठनबीच भएको विवादले यो छात्रवास तत्कालका लागि क्याम्पस प्रशासनले बन्द गर्ने निर्णय गरेको थियो ।
क्याम्पसको अन्य कुरामा विद्यार्थी संगठन तथा प्रमुखले चासो देखाएपनि छात्रवास पुनः सुचारु गर्न कसैले ध्यान दिएका छैनन् । कुनैबेला सुन्दर, सफा र रमणीय देखिने यो छात्रवास अहिले खण्डहर बन्दै गएको छ ।

क्याम्पस हाताभित्रै ३२ कोठे छात्रवास व्यवस्थित बनाई प्रयोगमा ल्याउन क्याम्पस प्रशासनले ध्यान नदिएको गुनासो बढेपनि त्यसको कुनै सुनुवाई भएको छैन । ‘छात्रवास भवन प्रयोगमा ल्याउन हामीहरुले धेरैपटक प्रयास गरेका हौं,’ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिरहाका अध्यक्ष सुदन कुसियतले दाबी गर्नुभयो, ‘तर, हाम्रो मागलाई क्याम्पस प्रशासनले बेवास्ता गर्दै आइरहेको छ ।’

क्याम्पस प्रशासनकै लापर्बाहीका कारण छात्रबास प्रयोगबिहीन भएको नेपाल विद्यार्थी संघका प्रमोदकुमार यादवले आरोप लगाउनुभयो । ‘छात्रवास भवन प्रयोग गर्नु नपर्दा क्याम्पस प्रशासनको खोई कस्तो स्वार्थपूर्ति भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘क्याम्पस प्रशासनले छात्रवास भवन अन्य निकायलाई जिम्मा दिन लागेको कुरा थाहा पाउँदा हामीहरुले रोकेका थियौं ।’ आफूहरुले सरकारसमक्ष पनि छात्रवास पुनः सञ्चालनका लागि अपिल गरेको अखिल क्रान्तिकारीका अध्यक्ष अरविन्द यादवले सुनाउनुभयो ।

२०६४÷०६५ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद भएको थियो । समान्य विवाद बढ्दै निर्वाचन स्थगनसम्म हुन पुग्यो । विवादलाई साम्य पार्दै मतदानको अर्को समय तोकियो । पूर्वनिर्धारित समयअनुसार भइरहेको मतदान केन्द्रमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबीच एक आपसमा कुटाकुट भएको थियो । त्यसमा केही विद्यार्थीहरु घाइते भएका थिए ।

झगडा गर्न विद्यार्थी संगठनहरुले छात्रवास भवनलाई ‘सेल्टर’ रुपमा प्रयोग गरेको ठहर गर्दै त्यसलाई तत्कालको लागि बन्द गर्ने निर्णयमा क्याम्पस प्रशासन पुग्यो । क्याम्पस प्रशासनको प्रयासमा सर्वपक्षीय सहमतिले तत्कालीन अवस्थामा सोे छात्रवास बन्द गरिएको थियो ।
क्याम्पस प्रशासन, विद्यार्थी संगठनहरु तथा राजनीतिक दलहरुले अन्य सवालमा पहल गरेको भएपनि छात्रवास भवन सुचारु गराउन खासै वास्ता नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । ‘हामी मौखिक रुपमा कैयौंं पटक ताकेता गर्यौंं,’ सामुदायिक सेवा केन्द्रका सचिव धिरेन्द्र साहले भन्नुभयो, ‘आफ््ना स्वार्थबाहेक अन्य कुरालाई बेवास्ता गरे झैं हाम्रा कुरालाई पनि गरिँदै आएको छ ।’ उहाँ सिरहाका राजनीतिक दलहरुले छात्रवास सुचारु गराउन जोडदार पहल गर्नुपर्ने बताउनुहुन्छ ।

छात्रवास हुँदा टाढा र ग्रामीण भेगका न्यूनस्तरका विद्यार्थीहरुको पढाइका लागि सिरहा क्याम्पसप्रतिको आकर्षण बढेको थियो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु पनि सहजै रुपले छात्रवासमा बसेर पढ्न पाउँथे । ‘त्यो बेलाको पाँच सय रुपैयाँको अहिले मूल्याड्ढनमा पचास हजारबराबर हुन्छ,’ कृष्णपुर ७ का धर्मदेव साफीले भन्नुभयो, ‘छात्रवासमै बसेर बीएड उत्तीर्ण गरेको छु ।’ उनका अनुसार छात्रवास नभएको भए आर्थिक कारणले पढाइ नै चौपट हुने स्थिति थियो ।

छात्रवास बन्द भएपछि विद्यार्थीहरु तत्कालीन अवस्थामा केही वर्ष कोठा भाडा लिएर बसेको स्थानीयहरु बताउँछन् । केही वर्ष अघि कोठा भाडा लिएर बस्नेहरु धेरै थिए तर पछिल्ला वर्षहरुको खासै विद्यार्थी नआउने गरेको सिरहा नगरपालिका–७ की आशादेवी यादवले बताइन् । उनका अनुसार क्याम्पसमा छात्रवास सुचारु रहँदा त्यसमा नअटाउने विद्यार्थीहरु बजारका अन्य व्यक्तिहरुकहाँ कोठा भाडा लिने गरेका थिए ।
स्थानीय युवा कुमार विवेकका अनुसार छात्रवासको प्रभावले मिश्रित समुदायको विद्यार्थीहरुको क्याम्पसमा उपस्थिति हुन्थ्यो । उनले मिश्रित विद्यार्थीको उपस्थितिले यहाँको पठन–पाठन स्तरीय र नियमित रहने गरेको छ । छात्रवास बन्द भएपछि पहिलेको जस्तो पठनपाठनको स्तर तथा पढाइमा आपसी प्रतिस्पर्धा नरहेको उनको भनाइ छ ।

आयस्रोत अभावकै कारण क्याम्पस हाताभित्रको छात्रवास मर्मत गराउन नसकिएको क्याम्पस प्रमुख रामहित यादवले बताउनुभयो । अहिले स्रोतको खोजी भइरहेको उहाँको भनाइ छ । ‘छात्रवास अभावका कारण बाहिरको विद्यार्थी आउनै छाडे्,’ यादवले भन्नुभयो, ‘छात्रवास नै शुरु गर्नु आवश्यक छ तर के गर्ने ? तत्कालीन अवस्थाकै ४ लाख रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।’ उहाँका अनुसार समान्य मर्मत गरेर सुचारु गर्न १०/१२ लाख रुपैयाँ खर्च लाग्छ ।

Facebook Comments

आजबाट एसएलसीको सट्टा एसईई परीक्षा शुरु

Previous article

दिदी परीक्षामा, भाई किरियामा

Next article