प्रमुख समाचारसमाचार

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा २१ गतेदेखि गर्नेगरी सारियो


राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्दै २१ गतेलाई सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पाएपछि बोर्डको बैठक बसी अहिले साँझ परीक्षा सार्ने निर्णय गरिएको हो ।

बोर्डले तुरुन्तै सूचना जारी गरी परीक्षासम्बन्धी नयाँ तालिका सार्वजनिक गर्ने बताएको छ ।

आज दिउँसो बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रधानमन्त्रीलाई भेटी परीक्षा सञ्चालनका लागि तयारीबारे ब्रिफिङ गरेका थिए । आन्दोलनरत शिक्षकहरुले परीक्षालाई सघाउनुको सट्टा अवज्ञा गर्ने चेतावनी दिइरहेका बेला बोर्डको आज बिहान बसेको बैठकले परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको थियो । यद्यपि, राजधानीकेन्द्रित आन्दोलन शुरु गरेको आज एक्काइसौं दिन पनि जुलुसमा भेला भएका शिक्षकहरुले आफूहरुको सहयोगविना परीक्षा गरेर देखाउन बोर्डलाई चुनौती दिएका थिए ।

प्रधानमन्त्री ओलीले जटिल परिस्थिति भएका कारण केही दिनलाई परीक्षा सार्न बोर्डका अध्यक्ष डा. शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई निर्देशन दिएका थिए ।

शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने विषयमा प्रधानमन्त्रीको असहयोगका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।

Facebook Comments

कक्षा १२ को परीक्षालाई सघाउन बोर्डले शिक्षकहरुलाई पुनः आह्वान गर्ने

Previous article

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

Next article