यहाँको ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् ।
डोल्पा फुलचिङ, खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेपछि बालबालिका बिचल्लीमा परेका हुन् ।
६ वर्षअघि डोल्पाको खदाङमा अज्ञात व्यक्तिले बाबुको हत्या गरेका थिए । एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७, चाउलेचौरमा बिहे गरेपछि ४ वर्षीय अनील, ६ वर्षीय रेखा, ८ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू ९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए । बुद्धिबहादुरको डोल्पा घर फर्कने क्रममा हत्या भएको थियो । बाबुको हत्या भएको ५ वर्षसम्म आमा रतनकलीले मजदूरी गरेरै छोराछोरीका लानपालन गरेको स्थानीय जगत मल्लले जानकारी दिनुुभयो ।
जग्गा जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले सुनाउनुभयो । ‘बाबुको मृत्यु भइसकेपछि डोल्पामा आफन्त छन् वा छैनन् । कसैले वास्ता गरेका छैनन्,’ उहाँले भने, ‘चारै भाईबहिनीलाई डोल्पा घर छ छैन भन्ने पनि थाहा छैन ।’ गास, बास र कपासकै समस्या भएको मल्लले बताउनुभयो । उनीहरू गाउँमा अर्काको गोठाला गरेर पेट पाल्न बाध्य छन् ।
गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेका ७० वर्षीय हजुरआमा देवी कामीले बताउनुभयो । ‘मागेर कसरी लालनपालन गर्ने ?’ उहाँले भन्नुभयो, ‘कमाइ गर्ने कोही नहँुदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था असाध्यै कमजोर रहेको छ ।