विचार/तर्क

केले पुर्याउँछ सिकाइमा अबरोध ?


एल.बि. चौधरी

सामान्यतया हामीले जहिले पनि बालबालिकाहरूको सिकाइ किन कमजोर हुन्छ भन्ने पक्षमा बहस वा छलफल गर्यौं भने कि शिक्षक कि त अभिभावकतर्फ कुरा पन्छाउँदै बहस वा छलफल टुङ्गयाउँछौं । विद्यार्थीको सिकाइ उपलब्धि न्यून हुनु वा खस्किनुमा विद्यालय तथा शिक्षकहरूलाई मात्र मुख्य पक्षका रूपमा हेर्ने गरिएतापनि निर्धारित सिकाइ उपलब्धि हासिल हुन नसक्नुमा सामाजिक, आर्थिक, संरचनागत, शारीरिक तथा मानसिक पक्षहरू, भाषिक, लैङ्गिक, विविधता, समावेशिता, सिकाइमैत्री वातावरण जस्ता यावत पक्षहरू प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।

नेपालमा हाल ३५ हजारभन्दा बढी विद्यालयहरूमा ७१ लाखभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । शिक्षामा पहुँच, समानता र विद्यालय चक्र पूरा गर्ने दरहरूमा सुधारका लागि नेपालले विगत दुई दशकमा महत्वपूर्ण प्रगति गरेको भएतापनि अझै पनि सिकाइ उपलब्धिमा सुधार गर्न र प्रणालीको सबलीकरण गर्न चुनौतीहरू दिनानुदिन बढिरहेको छ ।

विद्यालयहरूको गुणस्तर तथा व्यवस्थापकीय पक्षहमा हेर्ने हो भने भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भाषिक पक्षहरूले भूमिका खेलिरहेको तथ्याङ्कले देखाउँछ । विशेष रूपमा विद्यार्थीको सिकाइ परिणाम केन्द्रदेखि स्थानीय तह वा विद्यालय, समुदाय, घरपरिवार र व्यक्तिगत पक्षहरूसँग समेत जोडिएको हुनु पर्दछ । तर, त्यही तालमेल प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेका कारण पनि सिकाइको गुणस्तरमा अपेक्षाकृत प्रगति हासिल गर्न सकिरहेको देखिँदैन ।

नेपालमा विद्यालय तहको सिकाइ प्रक्रियामा विभिन्न प्रकारका बाधाहरू छन्, जसले विद्याथीको शैक्षिक प्रगति र पहुँचमा चुनौती दिएका छन् । पहिलो, नेपालको भौगोलिक विविधता र पहुँचको समस्याले विद्यार्थीलाई विद्यालय जान र नियमित कक्षामा सहभागी हुन कठिन छ । पहाडी र हिमाली क्षेत्रमा विद्यालयसम्मको पहुँच जटिल र कठिन हुँदा नियमित अध्ययनमा अबरोध आउँछ, जसले सिकाइ निरन्तरतालाई कमजोर बनाउँछ । यसैगरी, धेरै विद्यालयहरूमा आधारभूत शैक्षिक स्रोतसाधन र सामग्रीको अभाव देखिन्छ । सिकाइ सामग्री, सिकाइ क्षेत्र वा कुना, विविध पठन सामग्री, प्रयोगशाला तथा प्रविधिको व्यवस्थापन र पहुँच नहुँदा विद्यार्थीको व्यवहारिक ज्ञान एवं बुझाइमा कमी आउँछ । सिकाइ प्रक्रियामा शिक्षकहरूको भूमिका प्रमुख भएकाले उनीहरूको दक्षता एक महत्वपूर्ण पक्ष हो । ग्रामीण र दुर्गम क्षेत्रहरूमा प्रशिक्षित शिक्षकको अभाव छ । पर्याप्त तालिम नपाएका शिक्षकहरूले प्रभावकारी सिकाइ वातावरण निर्माण गर्न र समावेशी शिक्षण पद्धति अपनाउन कठिन अनुभव गर्छन् । साथै, तालिम प्राप्त भएतापनि कार्यान्वयन पक्षमा फितलो हुन जान्छ ।

हामीसँग भाषिक विविधता अत्यधिक छ । विभिन्न मातृभाषी विद्यार्थीहरूले विद्यालयमा सिकाइको क्रममा चुनौती सामना गरिरहेका छन् । शिक्षणको माध्यम भाषा र विद्यार्थीको मातृभाषामा अन्तर हुँदा उनीहरूको सिकाइमा थप कठिनाइ उत्पन्न भइरहेको छ । दिनभरी घर, समुदायमा एउटा भाषामा सिकाइ गरिरहेका बालबालिकाहरू विद्यालयमा एक्कासी दोस्रो भाषाको माध्यममा सिक्नुपर्दा अपेक्षा गरेअनुरूप सिक्न सक्दैनन् । आर्थिक कारणले पनि सिकाइमा बाधा पुर्याउँछ । विशेषगरी ग्रामीण वा शहरी क्षेत्रमा पनि परिवारहरूको आर्थिक अवस्था कमजोर हुँदा आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउन समस्या हुन्छ । यसले गर्दा विद्यार्थीहरू नियमित विद्यालय जान नसक्ने र नियमित सिकाइ कार्यबाट अलग हुने अवस्था आउँछ अनि सिकाइमा बाधा पुग्छ । नेपालका विद्यालयहरूमा समावेशी शिक्षाको पर्याप्त प्रबन्ध छैन । विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि पहुँचयोग्य पूर्वाधार, विशेष उपकरण र तालिम प्राप्त शिक्षकको कमीका कारण अपाङ्गता भएका विद्यार्थीलाई सिकाइमा अबरोध भइरहेको देखिन्छ ।

पाठ्यक्रम तथा पाठ्यपुस्तहरू पनि अपाङ्गता वा कठिनाइ नभएका जनसंख्यालाई लक्षित गरेर बनाइएकाले पनि विविध आवश्यकता भएका विद्यार्थीका लागि अनुकूलन गर्न निकै नै कठिन भइरहेको छ । यसैगरी, मूल्याङ्कन प्रणालीले विद्यार्थीको विभिन्न क्षमताहरू मापन गर्न नसक्दा उनीहरूको वास्तविक ज्ञान, सीप तथा प्रतिभा मापन गर्न कठिनाइ हुन्छ । यी सबै बाधाहरूलाई समावेशी र पहुँचयोग्य शिक्षा प्रणाली विकास गर्दै स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम, दक्ष शिक्षक र आधारभूत शैक्षिक स्रोतसाधनहरूको सुनिश्चितता गरेर मात्र सम्बोधन गर्न सकिन्छ भन्ने कुरा नकार्न मिल्दैन ।

विशेषगरी हाम्रो सन्दर्भमा शिक्षक, शिक्षण क्रियाकलापसँगै अझ फराकिलो भएर हेर्दा सिकाइमा बाधा वा अबरोध के–के ले गरिरहेका हुन्छन् त ?

सामाजिक, आर्थिक, सांस्कृतिक तथा संरचनागत पक्ष

बालबालिकाका लागि आधारभूत रूपमा आवश्यक पर्ने खाजा, खाना, ड्रेस, शैक्षिक सामग्रीहरूको उपलब्धतामा चासो नदिने, शिक्षण क्रियाकलाप भन्दापनि बाह्य सामाजिक विषयवस्तुमा वा कार्यहरूमा मात्र सक्रियता देखाउने, समाजमा हुने सामान्य कार्य वा गतिविधिका कारण पनि विद्यालय अनुपस्थित भइदिने प्रवृत्ति हुन्छ । यस्तै, सामाजिक क्रियाकलापहरूलाई विद्यालयको सिकाइ वा शिक्षण क्रियाकलापभन्दा अलग्गै राखेर हेर्ने, विद्यालयको दूरी, विकटता हुनु वा पहुँचयोग्य, मैत्रीपूर्ण नहुनु, घर तथा समुदायमा सिकामैत्री वातावरण बनाउन नसक्नु, अभिभावकले शिक्षालाई तत्कालको लाभसँग मात्र जोडेर हेर्नु वा चासो नदिनु जस्ता धेरै सामाजिक, आर्थिक तथा संरचनागत पक्षहरूले हरेक क्षण विद्यार्थीको सिकाइमा बाधा वा अबरोध पुर्याइरहेका हुन्छन् ।

अपाङ्गता तथा सिकाइ कठिनाइ

अपाङ्गता एउटा अवस्था हो । यसमा विविध पक्षहरूको उपयुक्त व्यवस्थापन र सम्बोधन गर्न नसक्दा वा नहुँदा सिकाइमा धेरै पक्षहरूले अबरोध पुर्याउन सक्छ । अपाङ्गतासँगै सिकाइमा विविध प्रकारका कठिनाइहरू रहेका हुन्छन् । कसैलाई पढ्न समस्या हुन सक्छ, कसैकसैलाई लेख्न समस्या हुन सक्छ । कसैलाई सम्झिन, ध्यान केन्द्रित गर्न जस्ता यावत् प्रकारका सिकाइका कठिनाइ हुने गर्छ । यसमा उपयुक्त रूपमा व्यवस्थापन र सम्बोधन हुन नसक्दा दैनिक रूपमा सिकाइका क्रियाकलापहरूमा बाधा र व्यवधानहरू उजागर गरिरहेका हुन्छन् । जस्तै, २० जना विद्यार्थीका बीचमा एकजना दृष्टि र अर्काे एकजना सुनाइसम्बन्धी अपाङ्गता भएका र एकजना सिकाइमा कठिनाइ भएका विद्यार्थीहरू एउटै कक्षाकोठामा छन् भने अब त्यहाँ विद्यार्थीहरूको बसाइ कसरी मिलाउने होला ? कक्षाकोठा कस्तो र कहाँ राख्दा उपयुक्त होला ? कस्तो खालको सिकाइ क्रियाकलाप गर्ने ? कुन–कुन तरिका अपनाउने भन्ने प्रश्न उठ्छ । साथै, के कस्ता र कुन–कुन सामग्री प्रयोग गर्ने ? निर्देशन के कसरी र कुन भाषामा गर्ने ? क–कसलाई थप समय दिने ? दोहर्याएर क्रियाकलाप गर्ने कि नगर्ने ? सिके कि सिकेनन् भनेर कुन–कुन विधि वा प्रक्रिया अपनाउने ? के प्रविधि प्रयोग गर्ने ? शिक्षक कुन–कुन पक्षमा जानकार हुनुपर्ने ? जस्ता पक्षहरू जोडिन्छन् । यसलाई सम्बोधन गर्न सकिएन भने धेरै प्रकारका सिकाइका अबरोधहरू उत्पन्न हुन सक्छन् र विद्यार्थीहरूलाई सिकाइमा बाधा पुग्छ ।

विविध सिकाइ शैलीको सम्बोधन

हामी हरेक व्यक्तिहरूमा सिक्ने शैलीहरू फरक–फरक हुन सक्छन् । कसैले पढेर प्रभावकारी रूपमा सिक्न सक्छन् । कोही हेरेर, कोही सुनेर, कसैले गरेर सिक्छन् । कोहीचाहिँ छोएर वा चलाएर सिक्छन् भने कसैले सुनेर र देखेर बढी प्रभावकारी रूपमा सिक्न सक्छन् । कोही गरेर वा अनुभव लिएर प्रभावकारी रूपमा सिक्ने हुन्छन् । त्यसैले, एउटै कक्षाकोठामा पनि फरक–फरक सिकाइ शैलीहरू भएका विद्यार्थी हुन सक्छन् । ती हरेक बालबालिकाको प्रभावकारी रूपमा सिक्ने शैली के कस्ता छन् ? क–कसलाई कुन–कुन विधि बढी उपयुक्त हुन्छ भनेर पहिचान गर्दै सोही अनुरूप क्रियाकलाप गर्न सक्नु पर्छ । यसो गर्न सकिएन भने कुनै न कुनै तबरले सिकाइमा बाधा पुग्छ नै । सिक्नका लागि न सामग्री छ, न त प्रविधि नै । विविध खालको सिकाइ शैली सम्बोधन गर्ने उपाय गरिएन भने बालबालिकाहरूको सिकाइ शैलीको सम्बोधन नहुने र ती विविध सिकाइ शैलीयुक्त बालबालिकाहरू हरेक क्षण सिकाइमा अबरोधहरू भोगिरहन बाध्य हुन्छन् ।

भाषिक पक्ष

भाषा सञ्चारसँगै सिकाइका लागि एक अभिन्न पक्ष हो । हाम्रो जस्तो विविधताले भरिपूर्ण रहेको देशमा यहाँ विविध भाषाभाषीका बालबालिकाहरू एउटै कक्षाकोठामा हुन्छन् । बालबालिकाले घर, परिवार र समुदायमा एउटा भाषामा सिकिरहेका हुन्छन्, जब विद्यालय प्रवेश गर्छन्, त्यहाँ दोस्रो भाषाबाट सिक्नैपर्ने बाध्यता सिर्जना गरिन्छ र सिक्नका लागि बाध्य बनाइन्छ । यसले सिकाइमा कतिसम्मको अबरोध पुर्याउँछ होला ? त्यसैले, भाषिक रूपमा विविधता भएको अवस्थामा हामीले विद्यार्थीको पहिलो भाषामा पर्याप्त निर्देशन दिन सकिएन भने समग्र सिकाइ प्रक्रियामा न ऊ रमाउन सक्दछ न त उसले प्रभावकारी रूपमा भनेको वा सिकाएको विषयवस्तु सिक्न सक्छ । तसर्थ, उपयुक्त भाषाको प्रयोग नभएको खण्डमा वा पर्याप्त निर्देशन नपाएको अवस्थामा भाषिक पक्षले विद्यार्थीको सिकाइको सिङ्गो प्रक्रियामा प्रभाव पारिरहेको हुन्छ ।

विभेद तथा दुर्व्यवहार

बालबालिकामाथि विभेद वा दुर्व्यवहार कुनैपनि स्थानमा वा अवस्थामा हरेक तबरले हुन सक्छ । यसबाट सिकाइमा मुख्य बाधा र व्यवधान हुन जान्छ । चाहे त्यो छोरा र छोरी वा लैङ्गिक रूपमा गरिने विभेद होस् वा अन्य सामाजिक, आर्थिक, सांस्कृतिक, वर्गीय, विकटता, अपाङ्गता, अभिभावकबिहीनता, दीर्घरोग वा अवस्था जस्ता पक्षहरूमा गरिने कुनैपनि नकारात्मक व्यवहार, बोलीचाली, सोंच, दृष्टिकोण, अभ्यास वा गरिने नकारात्मक विभेद तथा कार्यहरूले बालबालिकाहरूको सिकाइमा नकारात्मक प्रभाव मात्र नभएर सिक्ने सिकाउने प्रक्रियामा नै अबरोध गरिरहेको हुन्छ । त्यसैगरी, विद्यार्थीलाई शारीरिक रूपमा दिइने दण्ड–सजाय, शारीरिक, मानसिक तथा यौनजन्य दुव्र्यवहार, दिइने तनाव वा यातना, वेवास्ता, अपहेलना, डर, त्रास, चिन्ता जस्ता दुव्र्यवहारका पक्षहरूले दैनिक रूपमा सिक्ने सिकाउने क्रियाकलापमा अबरोधहरू पुर्याउन सक्छन् ।

सिकाइमैत्री वातावरण

प्रभावकारी सिकाइका लागि सिकाइ वातावरण निकै नै महत्वपूर्ण पक्ष हो । सहज र पहुँचयुक्त कक्षाकोठा, शान्त वातावरण, फराकिलो स्थान, उपयुक्त र पर्याप्त सामग्रीहरूको व्यवस्थापन नहुनु तथा मैत्रीपूर्ण व्यवहार नगर्नु अनि जोखिमयुक्त सामग्री वा अवस्था हुनुले बालबालिकाको सिकाइमा अबरोध पुगिरहेको हुन्छ । साथै, बालबालिकालाई उपयुक्त शब्दहरूको प्रयोग नगर्नु, दुर्गन्धित वातावरण हुनु, धेरै चिसो वा गर्मीका लागि उपयुक्त व्यवस्थापन नहुनु, विद्यालय र समुदायको सहकार्य, शिक्षक र अभिभावक बीचको सहकार्य, शिक्षक–शिक्षक तथा विद्यार्थी–विद्यार्थी वा शिक्षक–विद्यार्थी सम्बन्ध नराम्रो हुनु पनि सिकाइ अबरोधका कारक हुन सक्छन् । यस्तै, समय–समयमा विना कारण विद्यालय बन्द हुनु, अराजक र असान्दर्भिक रूपमा राजनैतिक गतिविधिले स्थान पाउनु जस्ता धेरै पक्षहरूले दैनिक सिकाइ क्रियाकलापको वातावरणमा बाधा र अबरोध गरिरहेका हुन्छन् ।

समावेशी शिक्षण क्रियाकलाप तथा पाठ्यक्रम अनुकूलन

सबै बालबालिकाहरूको सम्मानसहितको शैक्षणिक क्रियाकलापहरूमा समान सहभागिता, प्रस्तुति तथा अभिव्यक्तिका क्रियाकलापहरूको सुनिश्चितता नगरिनु, सिकाइको अवस्था वा विविधतामा विभेद गर्नु, पर्याप्त समय तथा थप अभ्यासहरूको अवसर नहुनु सिकाइ बाधाका अर्काे प्रमुख कारण हुन् । आवश्यक्ता र अवस्था अनुरूप उपयुक्त क्रियाकलाप तथा सामग्रीहरूको व्यवस्थापन र प्रयोग नहुनु, एकै प्रकारका क्रियाकलाप वा विधि तथा प्रक्रियाहरू केन्द्रित रहेहर शिक्षण क्रियाकलाप गरिनु जस्ता यावत पक्षहरूले सिकाइमा बाधा पुर्याइरहेका हुन्छन् । साथै पाठले भनेका वा निर्धारित गरेका सिकाइ उपलब्धि हासिलका लागि पाठ्यक्रम तथा पाठ्यवस्तुहरू विद्यार्थी तथा समुदायको अवस्था अनुरूप अनुकूलन नगरिनु पनि एउटा कारक हुन सक्छ सिकाइको बाधा–व्यवधानमा । यस्तै, उपयुक्त सामग्री तथा प्रविधिहरूको खोजी र प्रयोग गर्न नसक्नु, व्यक्तिगत आवश्यकता सम्बोधनका लागि वैयक्तिक शैक्षिक योजना निर्माण तथा कार्यान्वयन र सिकाइको विश्वव्यापि ढाँचाको प्रभावकारी कार्यान्वयन नहुनु पनि बालबालिकाको सिकाइ अबरोधका पक्षहरु हुन् । बहुविधियुक्त मूल्याङ्कन तथा विद्यार्थीको अपाङ्गता र आवश्यकता अनुरूप न्यूनतम सिकाइ सक्षमता निर्धारण नहुनुले पनि विद्यार्थीहरूको सिकाइमा बाधा वा अबरोधहरू उत्पन्न गरिरहेको हुन्छ ।

तसर्थ विद्यार्थीहरूको सिकाइ कमजोर हुनु वा सिकाइमा बाधा पुर्याउने विविध पक्षहरूको सम्बोधनका लागि शिक्षकसँगै समग्र विद्यालय, अभिभावक, समुदाय तथा सरोकारपक्षहरू सबैले ध्यान दिन जरूरी भइसकेको छ ।

(लेखक, काठमाडौं विश्वविद्यालयको समावेशी तथा विशेष शिक्षा संकायका विद्यार्थी हुन् ।)

Facebook Comments

कक्षा १२ सक्नेबित्तिकै विदेश जाने प्रवृत्ति नराेकिए देश टाट पल्टिने राष्ट्रपतिकाे चेतावनी

Previous article

विद्यालय शिक्षा ऐन मेराे प्रतिष्ठाकाे विषय भयाे, मेरै पालामा जारी हुन्छ: शिक्षामन्त्री

Next article