सार्वजनिक शिक्षालाई गुणात्मक र न्यायपूर्ण बनाउने समावेशी शिक्षाको परिपाटी नै उत्तम उपाय हो ।
विद्यालयमा समावेशी शिक्षाको परिपाटि किन आवश्यक छ ?
हामीले दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर नेपालको संविधान २०७२ स्थापित गर्यौैं । यो संविधान विभिन्न विचार तथा मतको सम्झौताको दस्तावेज भएकाले यसले समावेशी राज्य र समृद्ध समावेशी नेपाली समाजको भावनालाई अङ्गिकार गरेको छ । समावेशी राज्य र समावेशी समाजलाई सुदृढ बनाउने धेरै आयामहरुमध्ये समावेशी विद्यालय एउटा महत्वपूर्ण आधारभूत आयाम हो । समावेशी विद्यालयको स्थापनाले समावेशी घरपरिवार र समावेशी समुदायको सुदृढीकरण गर्छ । आज विद्यालयमा अध्ययन गर्ने बालबालिकाले समावेशी मूल्य–मान्यताको अभ्यास गर्दा भोलि उनीहरुले आफ्नो जीवनशैलीमा समावशी आचारण र संस्कार विकास गर्दछन् ।
समावेशी आचारण र संस्कार भन्नाले सबैको कुरा सुन्ने, आफ्नो कुरा भन्ने र सामूहिक निर्णय गरी कार्यान्वयन गर्ने संस्कार हो । प्रजातन्त्र वा लोकतन्त्र वा समाजवादलाई बलियो बनाउने आधार नै समावेशी आचरण हो । आज विद्यालयमा सिकेको समावेशी व्यवहार निरन्तर आफ्नोे घर–परिवार र समाजमा रुपान्तरण हुँदै जान्छ । यसबाट परिवार सदस्यहरुको पनि विद्यालयप्रति उत्तिकै संलग्नता हुँदै जान्छ । विद्यालय समावेशी बनाउन समावेशी कक्षाकोठा चाहिन्छ । कक्षाकोठा व्यवस्थापन र कक्षाकोठाभित्र शिक्षण सिकाइ शैली समावेशी हुनुपर्छ । यस कार्यमा अभिभावकको सीप, क्षमताको पनि उपयोग गर्दै जानुपर्छ ।
समावेशीकरण के हो त ?
व्यक्ति वा समूहको आवश्यकताको आधारमा सम्बन्धित विषयमा संलग्न गराइनु वा हुनु नै समावेशीकरण हो । अर्थात् ‘म यो समूह वा संस्थाको सदस्य हुँ, मेरो खोजी हुन्छ र म मैले कुनै हिसाबले योगदान गरिरहेको छु’ भन्ने अनुभूति नै समावेशीकरण भएको अनुभव हो ।
समावेशी विद्यालय कस्तो हो ?
सबै किसिमका क्षमता भएका विद्यार्थीहरुले उनीहरुको आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने अवसर पाउने विद्यालय नै समावेशी विद्यालय हो । जसमा अभिभावकको सक्रिय सहभागिता हुन्छ । उनीहरु आफ्नो विद्यालयप्रति अपनत्वको अनुभव गर्छन् । सरोकार निकायहरुले त्यसलाई आवश्यक सहयोग गरिरहेका हुन्छन् ।
समावेशी कक्षाकोठा कस्तो हो त ?
विद्यार्थीको अवस्था, आवश्यकता र रुचिको पहिचानसहित उसको जन्मजात बौद्धिकताअनुसारको सहभागितात्मक सिकाइ अवसर प्रदान गर्ने कक्षाकोठा नै समावेशी कक्षाकोठा हो । जसमा अभिभावकहरु र सरोकारवालाहरुले समेत शिक्षण सिकाइलाई व्यवहारिक बनाउन सक्रिय रुपले संलग्न भइरहेका हुन्छन् ।
कोही पहेलोलाई सेतो देख्ने पनि हुन सक्छन् । कसैलाई रातो मन पर्छ त कसैलाई निलो । डिक्लेक्सिया भएको व्यक्तिमा सिकाइ कठिनाई हुन्छ । अक्षरबाट शब्द मिलाउन र बोलेको आवाज चिन्न पनि समस्या हुन्छ ।
कोही सार्वजनिक विद्यालयका कक्षाकोठा र त्यहाँको वातावरण अवलोकन गर्दा देखेसुनेका परिस्थितिहरु
१. ऊ टाउको निहुर्याएर बसेको छ । कक्षाकोठाको कुनामा एक्लै छ । अगाडिको बेञ्चमा ४ जना विद्यार्थी छन् । पुस्तकबाट बोर्डमा सारेको वाक्य पढ्दै शिक्षकले ‘बुझ्यौ’ भन्दा ‘बुझ्यौं’ सर भन्छन् । कक्षाका ‘सबभन्दा जान्ने’ विद्यार्थी अगाडिको बेञ्चमा बस्छन् । अरु सबै पछाडिको बेञ्चमा नबोली बसेका छन् । उनीहरुलाई सरले के पढाउनुभयो त्यति पत्तो छैन । कहिलेकाही अगाडिको बेञ्चमा बसेकाले ‘हो’ भन्दा ‘हो’ भनेर गीति लयमा ‘हो’ वा ‘होइन’, ‘बुझ्यौं’ वा ‘बुझेनौं’ भने पुग्छ । टाउको निहुर्याएर बसेको विद्यार्थी निकै डराएको छ । कतिखेर सरले नजानेको कुरा सोध्छन् भनेर आत्तिएको रहेछ । सोधेको कुरा जानिएन भने कुटाई खानुपर्ने रहेछ । उसको कक्षाका कति विद्यार्थीले कुटाइ खाएर नै स्कूल छाडेका रहेछन् । स्कूल चलेको धेरै दिन पछि ऊ बल्ल आज स्कूल आएको रहेछ । आज ऊ स्कूल ड्रेसमा छ । ड्रेस नभएसम्म स्कूल आउन नपाउने रहेछ ।
२. अगाडि बसेका विद्यार्थीले पनि बोर्डमा लेखेको कुरा पढ्न सक्छन् । तर, त्यसको अर्थ बुझेका छैनन् । कक्षा ४ मा फूल फुल्ने र नफुल्ने विरुवाको पाठ पढेका विद्यार्थीले आफ्नो वरपरका ५ वटा फूल नफूल्ने विरुवा चिन्दैनन् । ढाड भएका र नभएका जनावर पाठ पढेका विद्यार्थीले आफ्नो वरपर ढाड नभएका जनावर चिन्दैनन् । किताबमा लेखेका नाम घोकेका छन् । कक्षा ६ मा क्षेत्रफलको हिसाब पढेका विद्यार्थीले लम्बाई, चौडाई नाप्न जान्दैनन् । कक्षा ८ मा कथा पढेका विद्यार्थीले त्यो कक्षाबाट आफूले के शिक्षा पाइयो भन्न सक्दैनन् । मानौं त्यो कुरा पढ्नको लागि पढेको हो, सिकेर व्यवहार गर्न निम्ति पढेको होइन ।
३. पढाइका कुराहरु दैनिक जीवन, घरपरिवार, समाजसँग जोडिएका छैनन् । यसैले विद्यार्थीले ती विषयको वास्तविक अर्थ बुझ्दैनन् । लेखेका कुरा घोक्छन् । कण्ठ बनाउँछन् । त्यही घोकेको कुरा सम्झेर परीक्षामा जति लेख्न सक्यो त्यसैको आधारमा उसको सिकाइ मुल्याङ्कन हुन्छ ।
४. कक्षाकोठाका बेञ्चहरु फिक्स छन् । तिनीहरुलाई किल्ला ठोकेर यताउता चलाउन सजिलै नमिल्नेगरी राखिएको छ । भित्तामा एउटा लेख्ने सेतो बोर्ड छ । त्यसैमा लेखेर देखाइन्छ, विद्यार्थीले त्यसैलाई सार्छन् र घोक्छन् । यदि कुनै विद्यार्थीले सोधेको कुरा जानेन वा गृहकार्य गरेर आएन वा अन्य कुनै कुरा गरेको मिलेन भने दोष विद्यार्थी र उसका अभिभावकको हो भन्ने ठानिन्छ । उसैलाई होच्याइन्छ र झन् हेपिन्छ । विपन्न र ढिलो सिक्ने वा कमजोर विद्यार्थीलाई नै विद्यालयको समस्या मानिन्छ । शिक्षक त्यसै भन्छन्, विद्यालय व्यवस्थापन समिति सदस्यहरु त्यही स्वरमा स्वर मिलाउँछन् । अभिभावकलाई पनि उनीहरुले भनेको कुरा ठीकै होला कि जस्तो लाग्छ । एकचोटी विचार गरौं त । एउटा ढिलो सिक्ने विद्यार्थीलाई यस्ता वाणले सबैले घोचिरहँदा ऊ कस्तो होला ? ऊ त झन्–झन् छियाँ–छियाँ हुन्छ होइन त ? यसले तिरस्कार र अपहेलनाको स्थिति पैदा गर्दछ ।
यी त केही प्रतिनिधिमूलक अवस्था हुन् । सार्वजनिक विद्यालयका कक्षाकोठा र त्यहाँभित्रको गतिविधि अवलोकन गरौं त, अरु के–के देखिन्छ, सुनिन्छ ।
अब के गर्ने त ?
१. खोजी गरौं र संवाद चलाऔं।
- विद्यार्थीले पढेको कुरा अर्थ बुझ्नेगरी र त्यसलाई दैनिक जीवन तथा घर–परिवारमा जोड्दै रुपान्तरित हुने वातावरण बनाउने शिक्षकलाई कसरी उत्प्रेरित गर्ने ?
- शिक्षक–अभिभावक संघका सदस्यहरु के गर्दै हुनुहुन्छ ?
- व्यवस्थापन समितिका सदस्यहरु के काममा व्यस्त हुनुहुन्छ ?
- वडा, पालिकाका जनप्रतिनिधिहरुले के गर्दै हुनुहुन्छ ?
- नागरिक समुदायका सदस्यहरु के कुरामा केन्दि«त छन् ?
- अभिभावकहरुलाई आफ्नो जिम्मेवारी बहन गर्न सक्ने बनाउने कसरी सहयोग गर्ने ?
सबै पक्षको सामुहिक सहकार्यबाट विद्यालय शिक्षालाई गुणत्मक र समावेशी बनाउन सकिन्छ ।
विपन्न परिस्थितिका परिवार र विभिन्न क्षमता भएका विद्यार्थीहरुको हक, हित र कल्याणको निम्ति तिनको वरपर सहयोगीहरु स्थापित छन् । ती सहयोगीहरुको भूमिका, सक्रियता र परिचालनबाट सिकारु केन्द्रित समावेशी शिक्षाको जग बलियो बन्छ । विद्यार्थी र तिनका अभिभावकको असल जीवन कोर्न नै हामीलाई विद्यालय चाहिएको हो । शिक्षकहरु त्यसैको निम्ति नियुक्त गरिएका हुन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ पनि त्यही कामलाई व्यवस्थित गरी समावेश र गुणस्तरीय शिक्षा प्रदान गर्न गठन भएका हुन् । तिनै विद्यार्थी र अभिभावकको जीवनस्तरमा सुधार गर्न नै अन्य संरचनाहरु बनाइएका हुन् । अब विचार गरौं त, संघीय शिक्षा मन्त्रालयले यी सबै काम गर्न रकम कहाँबाट ल्याउँछ त ? तिनै विद्यार्थीका अभिभावकले तिरेको र नेपाली जनताको करबाट जम्मा भएको रकमको बाँडफाँड गर्दा संघीय मन्त्रालय हुँदै पालिकासम्म रकम आउने होइन र ? पालिकाहरुले पनि विभिन्न शीर्षकमा तिनै जनतासँग कर लगाएर रकम जम्मा गरेको होइन ? अब यी सबै संरचनाहरु करदाताप्रति उत्तरदायी हुनु पर्दैन ?
२. आफ्नो व्यवहारलाई फर्केर हेरौं र सच्याऔं
अनुभव, विचार, चेतना भएका अनुभूतिहरु सकारात्मक मानवविकास, मनोसामाजिक स्वस्थता, संवेगात्मक स्वास्थ्यका सूचकहरु हुन् । तिरस्कार, घृणा, हस्तक्षेप, लज्जित पार्नु जस्ता मानसिक र संवेगात्मक पीडा दिने व्यवहारले व्यक्तिलाई वहिष्करण गर्दछ । वर्ग, जात, धर्म, लिङ्ग, शिक्षा, दौलत, पदको आधारमा शक्ति र प्रभाव भएको ठान्ने व्यक्तिहरुले जानेर वा नजानेर अन्य व्यक्ति वा समुदायलाई वहिष्करण गरेका हुन सक्छन् ।
शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रवेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ, पढाएको बुझिन्छ, नबुझेको सोध्न मन हुन्छ, सिक्ने हौसला मिल्छ । किनकि, मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी, सुखी, सरलता, महानता एवं सम्पन्नताको पहिचान हो । र, तपाईँ हाम्रो एक मुस्कानले कयौं अनुहारमा खुशी ल्याइदिन सक्छ ।
विद्यार्थी कहिल्यै समस्या हुन सक्दैन । उचित शिक्षा पाउनु बालबालिकाको अधिकार हो । जीवन उपयोगी शिक्षा प्रदान गर्नु सरोकारवालाहरुको दायित्व हो । यसैले हामीले कस्तो संरचना तयार गर्यौैं र कस्तो परिपाटी बसाल्यौं ? त्यसको लेखाजोखा गर्नुपर्ने बेला भएको छ । बालबालिकाको शिक्षाको निम्ति स्थापित विद्यालयलाई राम्ररी सञ्चालन गर्न बनेका संरचना (शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, समुदाय, जनप्रतिनिधि, वडा, पालिकालगायतका संरचना नागरिक समुदाय) ले विद्यालय सञ्चालनको परिपाटी र संरचनाभित्र भूमिका तथा समस्याको खोजी गरी त्यसको समाधानमा ध्यान दिनुपर्ने हुन्छ ।
३. शिक्षकलाई विद्यार्थीको अवस्यकताको आधारमा शिक्षण गर्न सहजिकरण गरौं
कक्षामा रहेका विद्यार्थी सबै एकै किसिमका छैनन् । कोही छिटो सिक्छन् । कोही ढिलो सिक्छन् । कसैले सुनेर, हेरेर सिक्छन् । कसैले गरेर बढी सिक्छन् । कसैलाई वातावरण बनाइदिए आफैँ सक्रिय हुन्छन् । कोहीलाई हात समातेर नै सिकाउनुपर्छ । कसैसँग ठूलो परिवारमा बसेको अनुभव छ त कसैसँग भाईबहिनी हेरचाहको अनुभव छ । कोही खेलमा राम्रो छन्, कोही लेखाइपढाइमा राम्रो छन् । यसैले सबैलाई एउटै शिक्षण विधिले काम गर्दैन ।
कोही पहेलोलाई सेतो देख्ने पनि हुन सक्छन् । कसैलाई रातो मन पर्छ त कसैलाई निलो । डिक्लेक्सिया भएको व्यक्तिमा सिकाइ कठिनाई हुन्छ । अक्षरबाट शब्द मिलाउन र बोलेको आवाज चिन्न पनि समस्या हुन्छ । यो परिस्थिति वंशाणुगत हुन्छ जसले भाषा सिकाइमा कठिनाई उत्पन्न गर्छ । यसको उपचार छैन तर विभिन्न तरिकाले निरन्तर प्रयास गर्दा भाषामा सुधार गर्न सकिन्छ ।
अमेरिकाका पूर्व राष्ट्रपति वराक ओवामा र वैज्ञानिक अल्वर्ट आइस्टाइन जस्ता व्यक्तिलाई पनि डिक्लेक्सियाको अवस्था थियो । विश्व स्वास्थ्य संगठनले पाँचजनामा एक जना व्यक्तिलाई यस्तो स्थिति छ भनेको छ ।
प्रत्येकलाई उसको आवश्यकताको आधारमा व्यवहार गरे मात्र न्याय हुन्छ । कमजोर र गृहकार्य गर्न नसकेका विद्यार्थीहरुलाई शिक्षकले बढी समय दिएर सिकाउनुपर्छ । ‘तिमीलाई के कुरा गाह्रो भयो । म तिमीलाई कसरी सहयोग गर्न सक्छु’ को प्रवृत्तिको विकास गर्नु पर्छ ।
(लेखक, विकल्प तालिम केन्द्रका प्रमुख सहजकर्ता, चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष र हिंसाका विकल्प तथा शान्ति उपायका अन्तर्राष्ट्रिय सहजकर्ता हुनुहुन्छ ।)