कुनै पनि विषयको गुणस्तर समय, सन्दर्भ र परिवेशले निर्धारण गर्दछ । शिक्षामा गुणस्तर सुनिश्चित गर्नु भनेको गुणस्तरीय परिवेश, गुणस्तरीय प्रक्रिया र गुणस्तरीय उपलब्धि, परिणाम तथा समग्र समाजमा त्यसबाट सिर्जित सकारात्मक प्रभाव भन्ने बुझिन्छ । व्यवहारिक दृष्टिकोणबाट हेर्दा गुणस्तरीय शिक्षाले मानवीय व्यवहारमा सकारात्मक परिवर्तन गराई व्यवहारिक समस्या हल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील, समाजमा योगदान दिन सक्षम नागरिक तयार गर्दछ ।
शिक्षालाई अन्धकारबाट उज्यालोतर्फ डोर्याई आत्मबोध, आत्मानुभूति गराउने माध्यम र व्यक्ति, परिवार तथा समुदाय परिवर्तनको संबाहकको रुपमा लिने गरिएको छ । शिक्षालाई सामाजिक–आर्थिक विकासको पूर्वाधार, सभ्य समाजको निर्माता तथा समग्रमा मानव जीवनमा सार्थकता ल्याउने अवयवको रुपमा हेरिएको हुन्छ ।
शिक्षाले व्यक्तिको अन्तर्निहित क्षमता जागृत गराई कुनै पनि विषयको गुणस्तर समय, सन्दर्भ र परिवेशले निर्धारण गर्दछ । शिक्षामा गुणस्तर सुनिश्चित गर्नु भनेको गुणस्तरीय परिवेश, गुणस्तरीय प्रक्रिया र गुणस्तरीय उपलब्धि, परिणाम तथा समग्र समाजमा त्यसबाट सिर्जित सकारात्मक प्रभाव भन्ने बुझिन्छ । व्यवहारिक दृष्टिकोणबाट हेर्दा गुणस्तरीय शिक्षाले मानवीय व्यवहारमा सकारात्मक परिवर्तन गराई व्यवहारिक समस्या हल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील, समाजमा योगदान दिन सक्षम नागरिक तयार गर्दछ ।
शिक्षालाई अन्धकारबाट उज्यालोतर्फ डोर्याई आत्मबोध, आत्मानुभूति गराउने माध्यम र व्यक्ति, परिवार तथा समुदाय परिवर्तनको संबाहकको रुपमा लिने गरिएको छ । शिक्षालाई सामाजिक–आर्थिक विकासको पूर्वाधार, सभ्य समाजको निर्माता तथा समग्रमा मानव जीवनमा सार्थकता ल्याउने अवयवको रुपमा हेरिएको हुन्छ । शिक्षाले व्यक्तिको अन्तर्निहित क्षमता जागृत गराई विनम्रता, योग्यता र सक्षमता वृद्धि गर्दै श्रमबजारसँग जोड्ने र उत्पादन तथा सेवा प्रवाहमा सरिक गराई व्यक्तिगत सुखका साथै समाज र राष्ट्रलाई समृद्धितर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको हुन्छ । गुणस्तरीय शिक्षाको अभावमा अपेक्षित उद्देश्यहरु पूरा गर्न सम्भव न हुने भएकाले व्यक्तिगत तथा सामुहिक विकासका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ ।
शिक्षाको माध्यमबाट सिकारुमा सम्वन्धित विषयको ज्ञान, सीप, क्षमता अभिवृद्धि भई व्यवहारमा सकारात्मक परिवर्तन हुन सकिएमा मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएको मान्नु पर्दछ ।
शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्त गर्नका लागि राज्यले तय गरेको शिक्षा नीति, अन्तर्राष्ट्रिय मञ्चहरुमा गरिएका प्रतिबद्धताहरु, निर्मित पाठ्यक्रम, पाठ्यसामग्री, सिकाइ वातावरण, विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेशाप्रतिको जवाफदेहीता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरीवेक्षण, मूल्याङ्कन प्रणाली गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्व हुन् ।
प्राविधिक शिक्षामा गुणस्तर मापन गर्न शिक्षण संस्थाको सु–शासन तथा स्रोत व्यवस्थापन, भौतिक पुर्वाधार तथा सुविधाहरु, प्रशिक्षक, शिक्षक तथा मानव स्रोत, प्रशिक्षण तथा सिकाइ उपलब्धि, सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्य, अध्ययन, अनुसन्धान एवं तथ्याङ्क व्यवस्थापन जस्ता मापदण्डहरुलाई आधार मान्ने गरिएको छ । गुणस्तर सुनिश्चितताका लागि तय गरिएका मापदण्डहरुमा अधिकतम् व्यवस्थापन गरी शिक्षण–सिकाइका कार्यक्रमहरु कार्यान्वयन गरिएको अवस्थामा मात्र शिक्षाले खोजेको उद्देश्य पूरा गर्न सक्छ । युरोपियन युनियनले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका विशेषताहरुलाई यस प्रकार उल्लेख गरेको छः
१.प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमहरु व्यक्ति, समुदाय र श्रमबजारको आवश्यकतालाई ठिकसँग सम्बोधन हुनेगरी कार्यान्वयनमा रहेका छन् भने त्यसलाई गुणस्तरीय शिक्षा मान्न सकिन्छ ।
२.इच्छुक सबैको पहुँच तथा सहभागिता सुनिश्चित गरिएको छ र सञ्चालित शैक्षिक कार्यक्रमहरुमा युवा आकर्षण रहेको छ भने त्यसलाई गुणस्तरीय शिक्षा मान्न सकिन्छ ।
३.गुणस्तरीय शिक्षामा सिकाइको योग्यताको राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रमबजार तथा स्तरमा मान्यता तथा प्रमाणीकरण रहेको, सिकाइ तथा वृत्ति विकासको ठाडो र तेर्सो मार्ग प्रशस्त गरिएको हुनु पर्दछ ।
४.शिक्षा तथा तालिमका स्नातकहरुले औपचारिक तथा अनौपचारिक कार्यक्षेत्रमा मार्यादित, दिगो र सम्मानित रुपमा काम गर्ने वातावरण प्राप्त गरेका र रोजगारदाताहरुले स्नातकहरुको कामबाट सन्तुष्टि प्राप्त गरेको हुनु पर्दछ ।
५.गुणस्तरीय शिक्षाको लागि क्षमता अभिवृद्धि तथा निरन्तर सिकाइका अवसरको उपलब्धता र वृत्तिमार्गको सुनिश्चितता रहेको हुनु पर्दछ ।
स्तरीय शिक्षण संस्था र गुणस्तरीय शिक्षा सबै क्षेत्रको विकासको आधारभूत स्तम्भ हो । नेपालको शिक्षा तथा शैक्षिक संस्थाहरुप्रति विश्वास घट्दै गइरहेको अवस्थामा शिक्षण संस्थाहरुले सेवामा गुणस्तर सुनिश्चित गर्दै युवाहरुको विश्वास जित्नुपर्ने आवश्यकता छ । सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रदान गर्दै समावेशी, न्यायोचित र गुणात्मक शिक्षाको सुनिश्चितता गर्न सकिएमा मात्र शिक्षाको उद्देश्य पुरा हुन सक्छ ।
राज्यको शैक्षिक नीति, श्रमवजारमा आधारित पाठ्यक्रम तथा सिकाइका विषयवस्तुहरु, भौंतिक तथा मानवीय स्रोतसाधनहरुको उपलब्धता, जागरुक नेतृत्व, औद्योगिक क्षेत्रसँगको समन्वयमा सञ्चालित व्यवहारिक सिकाइ तथा विश्वसनीय शैक्षिक वातावरण निर्माण गर्न सकिएमा मात्र हाल प्राविधिक शिक्षामा देखिएका समस्याहरु सामाधान गर्न सकिन्छ ।
सरोकारवालाहरुसँंग राय, सल्लाह, सुझाब एवं विचारहरु आदानप्रदान गरी आजको समाज, समय र भोलिको पुस्ताको आवश्यकताको आधारमा गुणस्तरीय शिक्षाका मापदण्डहरु तय गरिनु पर्दछ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको गुणस्तर सुधार गरी शिक्षामा युवा आकर्षण बढाउन, श्रम बजारको मागलाई सम्बोधन गर्न र रोजगारदाताहरुसँग समन्वय र सहाकार्य गरी घरेलु श्रम बजारमा दिगो तथा सम्मानित रोजगारीको वातावरण सिर्जना गरिनु पर्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा राज्यको प्राथमिकतामा परेको विषय भए पनि श्रम बजारको माग सम्बोधन गर्न सक्ने गुणस्तरीय शिक्षाको अभावमा युवा आकर्षण घट्दो छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको गुणस्तर सुधार गरी शिक्षामा युवा आकर्षण बढाउन, श्रम बजारको मागलाई सम्बोधन गर्न र रोजगारदाताहरुसँग समन्वय र सहाकार्य गरी घरेलु श्रम बजारमा दिगो तथा सम्मानित रोजगारीको वातावरण सिर्जना गर्न शिक्षामा गरिनुपर्ने सुधारका केही विषयवस्तुहरुको यहाँ चर्चा गरिएको छ।
माथि उल्लेखित विशेषताहरु सहित शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न “स्तरीय शिक्षण संस्था र गुणस्तरीय शिक्षा” प्रणाली कार्यान्वयन गर्न निम्न कुराहरुमा सचेत हुनु जरुरी छ ।
१.सु–शासन तथा व्यवस्थापन
कुनै पनि संस्थाको विश्वसनियता र दिगोपना संस्थाको सु–शासनमा निर्भर हुन्छ । शिक्षण संस्थाको शैक्षिक, भौंतिक तथा आर्थिक पक्षहरु चुस्तदुरुस्त र पारदर्शी हुनुपर्दछ । शिक्षणसंस्था सुधारका लागि प्रत्येक शैक्षिक सत्रको अन्तमा स्व–मूल्याङ्कन गर्ने र सुधार गर्नुपर्ने विषयहरुलाई सरोकारवालाहरुसँगको समन्वयमा रणनैतिक तथा वार्षिक योजना निर्माण गरी कार्यान्वयन गराउनुपर्ने हुन्छ ।
गुणस्तरीय शिक्षाका लागि आवश्यक संस्थाका नीति, रणनितिहरु, समावेशिता, सहभागिता, निर्णय प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता आदिमा पारदर्शीता रहेको हुनुपर्दछ । सम्पन्न गरिएको कार्यको सामाजिक तथा आर्थिक परीक्षण गराउने र सम्पूर्ण प्रक्रिया सहाभागितात्मक रुपमा (मुख्यतःव्यवस्थापन समिति र शिक्षक अभिभावक संघ र शिक्षण संस्था परिवार) गर्न सकिएमा मात्र शिक्षण संस्थाप्रति सवैको अपनत्व जिम्मेवारी, जवाफदेहिता र उत्तरदायीत्व प्राप्त गर्न सकिन्छ ।
२.व्यवहारिक सिकाइको सुनिश्चितता
कुनै पनि प्राविधिक बिषय तथा व्यवसायको एउटै भौगोलिक तथा सामाजिक क्षेत्रमा लामो समय सम्म बजारमाग रही रहने सम्भावना हुँदैन । यसकारण अन्य क्षेत्रको परिवर्तन सँगै शिक्षाका कार्यक्रमहरुलाई परिमार्जन गर्न सकिएको अवस्थामा मात्र शिक्षण संस्थाको दिगोपना निर्भर रहन्छ ।
वयस्क सिकाइका विषयवस्तुहरुलाई व्यवहारिक र तत्काल नतिजा दिनेगरी कार्यान्वयन गराउन सकेमा मात्र यसले श्रमबजारको आवश्यकता पूरा गर्ने र परनिर्भरता कम गर्न मद्दत गर्दछ । यसका लागि आवधिक रुपमा आवश्यकता पहिचान, श्रमजार विश्लेषण, प्रभाव मूल्याङ्कन, अध्ययन तथा अनुसन्धानहरु गरिनु पर्दछ ।
३.शैक्षिक नेतृत्व तथा मानवस्रोतको व्यवस्थापन
शिक्षाको गुणस्तर सुधारमा नेतृत्व साथै प्रशिक्षक–शिक्षकहरुको सवैभन्दा अहम् भूमिका रहने भएकाले योग्य, सक्षम, जाँगरिला, समर्पित, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिको व्यवस्थापन गरिनु पर्दछ ।
त्यस्तै, गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि औद्योगिक अनुभव प्राप्त, क्रिएटिभ, लगनशील प्रशिक्षकहरु सबैभन्दा महत्वपूर्ण कारक हुन् । समय–समयमा दिइने पुनर्ताजगी तालिम तथा कार्यक्रमहरुले प्रशिक्षकहरुको क्षमता अभिवृद्धि हुनुको साथै पेशाप्रतिको उत्प्रेरणा बनाइराख्न मद्दत पुग्दछ । गुणस्तरीय शिक्षाको लागि शिक्षण संस्थाको नेतृत्व तथा प्रशिक्षकहरु निवेशको रुपमा रहेका हुन्छन् ।
प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छनोट गरेर जिम्मेवारी दिन सकेमा मात्र शैक्षिक सुधार हुन सक्दछ । भनसुन, नातागोता, अनिच्छुक, बलपूर्वक जिम्मेवारी दिइएको नेतृत्वबाट गुणस्तर सुनिश्चितताको अपेक्षा गर्न सकिन्न । शैक्षिक गुणस्तर सुधारको लागि योग्य, क्षमतावान, दृढ इच्छाशक्ति र दूरदृष्टि भएका व्यक्तिलाई नेतृत्व दिइनुपर्दछ ।
सम्भावित प्रशिक्षक–शिक्षकहरुलाई शिक्षण संस्था व्यवस्थापनसम्बन्धी तालिम दिने प्रावधानहरु राख्नु पर्दछ ताकि नेतृत्व लिन चाहने व्यक्तिले उक्त तालिम प्राप्त गरी आफूलाई सक्षम बनाएर नेतृत्व बहन गर्न सकोस् ।
४.इच्छुक तथा आवश्यकता भएको समूहको पहुँच सुनिश्चितता
सीप नक्साङ्कन गरी श्रमबजारको आवस्यकतामा आधारित भई शिक्षण संस्था तथा शैक्षिक कार्यक्रमहरु बिस्तार गरिनु पर्दछ । कार्यक्रमहरुलाई निःशुल्क वा न्यूनशुल्कमा अध्ययन गर्ने व्यवस्था हुन सकिएमा गुणस्तर सुनिश्चितता गर्न सकिन्छ ।
राज्यले शिक्षण संस्थाहरुको विस्तार र शिक्षामा समावेशीमूलक पहुँच सुनिश्चितता गर्ने नीतिगत व्यवस्था गर्न सकेमा मात्र इच्छुक सबैले शिक्षा लिने वातावरण बन्दछ । प्राविधिक शिक्षा तर्फ हाल बिस्तार गरिएका शिक्षण संस्थाहरु तथा सञ्चालित कार्यक्रमहरुको आवश्यकता, उपयुक्त पूर्वाधारको तयारी, मानवस्रोत आदि हेरेर कार्यक्रमहरुमा परिमार्जन तथा स्थगन गर्नु आवश्यक देखिएको छ ।
५.गुणस्तरिय भौतिक तथा मानवीय पूर्वाधार
गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरल रुपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरु सिकारुको रुची र चाहनाअनुकूल सान्दर्भिक, रुचिकर, समयसापेक्ष, रचनात्मक र प्रविधिमैत्री हुनुपर्दछ । सिकाइलाई व्यावहारिक बनाउन रोजगारबजारको माग सम्बोधन हुने गरी पाठ्यक्रम निर्माण तथा समयानुकूल परिमार्जन गरिनु पर्दछ ।
पाठ्यक्रम र पाठ्यवस्तुले निर्देशित गरेअनुसार प्रभावकारी सिकाइ गर्न शिक्षण संस्थाको भौतिक पूर्वाधारहरु; कक्षाकोठा, प्रयोगशाला, कार्यशाला, फर्निचर, खेलमैदान स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त व्यवस्थित, सुरक्षित कम्पाउण्ड घेरबार, शैक्षिक वातावरण, पुस्तकालय, मसिन, औजार, उपकरण तथा डिजिटल सामग्री चमेना गृह, आवासको व्यवस्थाको गुणस्तर सुधार गर्न सकिएमा सिकाइलाई व्यवहारिक बनाउन सकिन्छ ।
६.सिकाइस्रोत तथा परीक्षा प्रणालीमा सुधार
सीप र सिकाइलाई प्रत्यक्षरुपमा श्रम बजारसँग जोड्न सकिएमा मात्र प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुनिश्चित गरिएको मान्न सकिन्छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यवहारिक बनाउन प्रयोगात्मक सिकाइका बल गर्नुका साथै त्यसको परीक्षण पनि सिकाइका उपलब्धिहरु मापन हुनेगरी गरिनु पर्दछ ।
हालको परीक्षा प्रणालीमा परिमार्जन गरी निरन्तर मूल्याङ्कनको ढाँचामा प्रयोगात्मक सिकाइ गर्ने र थोरै भार मात्र अन्तिम लिखित परीक्षालाई दिइनु पर्दछ । जसले पढाइ तथा बुझाइभन्दा पनि सिकाइ र त्यसको कार्यस्थलमा प्रयोग गर्ने अभ्यास र बानी विकास गराउन सहयोग पुग्दछ ।
७.प्रभावकारी प्रशिक्षण तथा सिकाइ
प्रशिक्षण तथा सिकाइ गुणस्तरीय शिक्षाको सबै भन्दा महत्वपूर्ण भाग हो । सिकारुलाई सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक रुपमा तयार गरी भय र चिन्तारहित वातावरणमा सिकाउने व्यवस्था गरिएको र सिक्नका लागि सदैव तत्पर रहेको सुनिश्चित गरिनु पर्दछ ।
सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित हुनुपर्दछ ।
शैक्षिक गतिविधिको समयानुसार सञ्चालन गर्ने, नियमित अनुगमन तथा सुपरीवेक्षण गर्न सकेमात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । शिक्षकको एकल प्रयास गुणस्तर सुधारमा सार्थक बन्न सक्दैन । सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ । शिक्षण संस्थाको लक्षित क्षेत्रमा रहेका उद्योग ब्यवसाय तथा प्रतिष्ठानहरुसँग नजिकिँदै समन्वय र सहकार्य बिस्तार गरी औद्योगिक प्रशिक्षण, कार्यगत तालिम तथा रोजगार पदस्थापना गर्न सकिन्छ ।
८.प्रशिक्षार्थी (वृत्तिपरामर्श, पथप्रदर्शन तथा पदस्थापन) सेवा
गुणस्तरीय शिक्षा भनेको व्यक्तिको रुचि र क्षमतालाई बुझेर जीविकोपार्जनमा प्रमुख भूमिका खेल्न सहयोग पुग्ने, प्रमाणपत्र पनि भएको र सामाजिक परिवेशप्रति सचेत तथा उत्तरदायी गराउन सक्षम शिक्षा भन्ने बुझिनु पर्दछ । शिक्षण संस्थाले विषयसँग सम्बन्धित ज्ञान र सीपका साथ साथै सिकारुलाई दिइने जीवनोपयोगी सीपहरु, परामर्श, वृत्ति मार्ग निर्देशन तथा सुझावहरुले व्यक्तिलाई सुयोग्य र दक्ष बनाउन मद्दत गर्दछ ।
विद्यालयमा दिइने शिक्षा व्यक्तिको सर्वाङ्गीण विकास, बौद्धिकताहरूको उजागर मात्र होइन, परम्पराको वैज्ञानिकीकरण, प्रवद्र्धन र व्यावसायीकरण उन्मुख हुनुपर्छ । एकातर्फ विद्यालयमा बारम्बार फेल हुने, विद्यालयबाट निकालिएकाहरू व्यावहारिक जीवनमा सफल भएका तर औपचारिक शिक्षाको प्रमाणपत्र नभएका कारण आफूमै हीनताबोध पालिरहेकाहरू व्यक्तिहरु भेटिन्छन् भने अर्कोतर्फ शैक्षिक योग्यताका प्रमाणपत्र भएका तर तदनुरुपको कौशल व्यवहारिक र जीवनोपयोगी सीप नभएका कारण बेरोजगार भएकाहरू पनि पाइन्छन् ।
९.अध्ययन, अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन
प्रत्येक शिक्षण संस्थाका सम्पूर्ण गतिविधिहरुका सूचना तथा तथ्याङ्कहरुको अभिलेखीकरण गरी अद्यावधिक गर्ने कार्य गरिएको हुनुपर्दछ । शिक्षाका सरोकारवालाहरु धेरै हुने भएकाले सवैखाले तथ्याङ्कहरु जुनसुकै बेला पनि आवश्यक पर्न सक्छन् ।
शिक्षण संस्थासँग प्रत्येक शैक्षिक सत्रमा कार्यक्रमहरुमा आवेदकको संख्या, अध्ययनका लागि भर्ना भएको संख्या, बीचैमा अध्ययन छोडेको संख्या, उत्तीर्ण हुने दर, रोजगारीको दर, आयआर्जनको अवस्था समग्रमा कार्यक्रमको प्रभाव आदिको जानकारी हुने गरि अध्ययन विश्लेषण गर्ने गरिएको हुनु पर्दछ ।
यसबाट कार्यक्रममा सुधार गर्नुपर्ने पक्षहरुको लेखाजोखा राख्न, योजना तर्जुमा गर्न र कार्यक्रमहरुमा सुधार गर्न सहयोग पुग्दछ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमा पाठ्यक्रम, पाठ्यपुस्तक, भौंतिक तथा मानवस्रोत विकास र व्यवस्थापन, शिक्षण–सिकाइ विधिलगायतका क्षेत्रमा समयसापेक्ष संशोधन, परिमार्जन र परिवर्तन गर्दै शिक्षालाई गुणस्तरीय, व्यवहारिक, जीवन उपयोगी, रोजगारमैत्री एव अनुसन्धानमूलक बनाउन जरुरी छ ।
हाम्रा शिक्षण संस्थाहरुमा गुणस्तरीय शिक्षण सिकाइको स्तर खस्कदैं गएको, सिकाइमा व्यवहारिकता घट्दै गएको परम्परागत अध्यापनशैलीबाट आधुनिक शिक्षण कलामा रुपान्तरित हुन नसकेका जस्ता जन गुनासा छन् ।
शिक्षण पेशा एक प्राविधिक कार्य भएकाले यसको सम्पन्नताका लागि निश्चित सीप र दक्षताको आवश्यकता पर्दछ । शिक्षण पेशामा संलग्न प्रशिक्षकहरुले आधुनिक शिक्षण सिकाइमा आवश्यक पर्ने सैद्धान्तिक, मनोवैज्ञानिक, व्यवहारिक एवं प्राविधिक ज्ञान तथा सीपलाई प्रशिक्षणको अनिवार्य प्राज्ञिक शर्त मानी तदनुरुप शिक्षण सिकाइ गर्न सकिएमा मात्र शिक्षाको उद्देश्य प्राप्त गर्न सम्भव छ । अन्यथा यसका दूरगामी असरहरु देखिन थालिसकेका छन् र बढ्दै जानेछन् ।