प्रमुख समाचारफिचर

विद्यालयको स्मार्ट बोर्डमा मौरी पालन !


विद्यालयमा विज्ञान प्रयोगशाला नभएको होइन । तर, दोलखाको कालिञ्चोक माविका विज्ञान विषय शिक्षक चन्द्रप्रसाद घिमिरे बायोलोजी विज्ञान पढाउन विद्यालयभित्रको ल्याबले मात्र पर्याप्त नहुने सुनाउँछन् । भन्छन्, ‘जस्तै मौरी पालन र यसबारे प्रत्यक्ष बुझाउन क्यामेष्ट्री, फिजिक्स वा विद्यालयभित्रको बायो ल्याबबाट सम्भव छैन । हामीकहाँ मौरीबारे स्मार्टबोर्डमा पढाउनु परेको छ । त्यसैले, कि मौरीको घार नै बनाएर मौरी पनि पाल्नुपर्ने हुन्छ कि त घार भएतिर विद्यार्थीलाई लैजानु पर्छ ।’

सामुदायिक विद्यालयमा विज्ञान विषयलाई कसरी सिकाइएको छ भन्ने प्रत्यक्ष उदाहरण हो यो । ‘विज्ञानलाई तथ्यमा आधारित प्रत्यक्ष प्रयोगात्मक तरिकाले सिकाउनुपर्नेमा मौरी पालनबारे स्मार्टबोर्डमा देखाएको भरमा र काउली खेती हरितबोर्डमा फलाएर के होला र ?’ शिक्षकहरु आफैँलाई प्रतिप्रश्न गर्ने गर्छन् ।

तर यति भनेर विद्यालय प्रशासन र शिक्षक चूप लाग्ने स्थितिमा भने देखिँदैनन् । कालिञ्चोक माविले विज्ञान विषयका लागि ‘विद्यालय विकास योजना’लाई अन्तिम रुप दिइसकेको छ । प्रधानाध्यापक शम्भु गौतम भन्छन्, ‘यो योजना लागू भएपछि विज्ञानमा नयाँ–नयाँ खोजी गर्न सक्ने विद्यार्थीको प्रतिभा पहिचान गरिनेछ । अनि विज्ञान प्रदर्शनीहरु आयोजना गरिनेछन् ।’

विद्यालयमा शिक्षकहरुको अनुभव छ, विद्यार्थीलाई ल्याबमा प्रयोग गर्न लगायो भने खुरु–खुरु काम गर्न सक्छन् । तिनै विद्यार्थीलाई सोही प्रयोगबारे लेख्न लगायो भने लेख्न सक्दैननन् । ल्याबमा देखाउँदा विद्यार्थीले एक प्रकारले बुझ्छन् तर लेखेरै देखाउनुपर्यो भने अफ्ठ्यारो पर्ने गरेको उनीहरु बताउँछन् ।

ल्याब भएका विद्यालयमा पनि शिक्षकहरुले पर्याप्त समय दिन सकेका छैनन् । विज्ञानको सिद्धान्त पढाउन किताब नै मोटो भएकाले ल्याबमा जाने समय नै नभएको उनीहरुको भनाइ छ । ‘मैले जहिल्यै जहाँपनि एउटा प्रश्न गर्ने गरेको छु कि विज्ञानको किताब किन यति बाक्लो बनाएको होला ?’ सुर्के मावि खरिढुङ्गाका विज्ञान शिक्षक शम्भु सुवेदीको प्रश्न छ, ‘विज्ञानको सिद्धान्त र व्यवहार सँगसँगै सिकाउनुपर्ने होइन र ? किन सिद्धान्त भर्सेस व्यवहार बनाइएको छ ? यसमा पाठ्यक्रम बनाउने र पाठ्यपुस्तक लेख्नेहरुले विचार गर्नुपर्ने होइन र ?’

उनले किताब मात्र भएर नहुने र अहिले दिइएको तालिमले पनि पर्याप्त नहुने बताए । उनी थप्छन्, ‘विज्ञानलाई साँच्चै प्रभावकारी तरिकाले सिकाउने हो भने हामीलाई अद्यावधिक गराइरहने तालिम दिइनु पर्छ । कन्सेप्ट नै बदल्ने प्रकारको अभिमुखीकरण चाहिन्छ ।’

 

 

Facebook Comments

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मनायाे २२ वर्ष

Previous article

शिक्षकले नै चलाउँछन् स्कूल बस

Next article