प्रमुख समाचारसबै समाचार

शिक्षक र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहीन,सहमतिको लगाम प्रधानमन्त्रीको हातमा


नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारीबीच आज भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।

छलफलमा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराई, सचिव दीपक काफ्लेलगायत थिए भने शिक्षक महासंघपट्टि वार्ता उपसमितिका संयोजक नानुमाया पराजुली तथा अन्य शिक्षक नेताहरु थिए । छलफलमा सहभागी एक शिक्षक नेताले भने, ‘हामी वार्ता गर्न गएका होइनौं, शिक्षामन्त्रीले आफ्ना कुरा राख्नुभयो, हामीले पनि वार्ता हुनका लागि बटमलाइन प्रस्तुत गर्यौं ।’

उनले थपे, ‘मुख्य कुरा विद्यालय शिक्षा ऐन ल्याउनु पर्यो भन्यौं । ऐनबाहेक अहिले सरकारले गर्न सक्ने कुराहरु पनि राख्यौं । ती कुरा पनि शिक्षामन्त्रीको काबुभन्दा बाहिर देखियो । मुख्य कुरा प्रधानमन्त्रीमा गएर अड्किएको देख्यौं ।’

निष्कर्षमा शिक्षक र शिक्षा मन्त्रालयबीचको छलफल विना निष्कर्ष टुंगिएकाले आन्दोलन अझ चर्किने शिक्षक नेताहरुले बताए । नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले आजको शिक्षासित भने, ‘सरकार साँच्चै गम्भीर देखिएन, आन्दोलन भोलिबाट झन् चर्किन्छ ।’ उनले शिक्षकका मागप्रति शिक्षामन्त्री भट्टराई सकारात्मक देखिएपनि प्रधानमन्त्रीले मान्नुपर्ने बताए ।

‘शिक्षकलाई मर्यादा सूचीमा राख्न माग, प्रधानमन्त्री मान्न तयार छैनन्’

शिक्षकहरुको मर्यादा क्रमको श्रेणी सरकारले तोक्नुपर्ने शिक्षक नेताहरुले आवाज उठाउँदै आएका छन् । यो विषयमा शिक्षामन्त्री सकारात्मक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको बताइन्छ । शिक्षकहरुले सरकारको सहसचिवसरह प्रथम श्रेणीको माध्यमिक शिक्षकलाई मान्यता दिनुपर्ने माग राख्दै आएका छन् ।  ‘बरु शिक्षकलाई मर्यादा क्रममा राख्नुको साटो तलब बढाइदिए हुन्छ,’ भन्ने बुझाईमा प्रधानमन्त्री ओली रहेको शिक्षक नेताहरु बताउँछन् ।

कांग्रेस–एमालेको अनौपचारिक संयन्त्र, प्रमसँग गृहमन्त्री रुष्ट !

शिक्षकको मागका सम्बन्धमा कांग्रेस–एमालेको छुट्टै अनौपचारिक संयन्त्र बनेको र छलफल चलिरहेको बुझिएको छ । जसमा एमालेतर्फ अर्थमन्त्री विष्णु पौडेल,  महासचिव शंकर पोखरेल र नेता एवं सांसद योगेश भट्टराई छन् भने कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, सहमहामन्त्री एवं सांसद जीवन परियार रहेका छन् ।

स्रोतका अनुसार सरकार र संसदबाट पूरा गर्न सकिने मागलाई वर्गीकरण गरी तत्काल सहमतिमा शिक्षकहरुलाई ल्याउनुपर्ने विषयमा छलफल हुने गरेको तर त्यसबारे प्रधानमन्त्री ओली सकारात्मक नबनेको बताइएको छ । ‘प्रधानमन्त्रीको रवैयाप्रति गृहमन्त्री लेखक पनि खुशी छैनन्,’ स्रोतले भन्यो ।

शिक्षकहरु यही २० चैतदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा छन् ।

 

 

 

Facebook Comments

शिक्षक महासंघले बनायो नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता उपसमिति

Previous article

शिक्षक महासंघलाई राष्ट्रिय परीक्षा बोर्डको अपीलः नतिजा प्रकाशन ढिलाइले विद्यार्थीको महत्वपूर्ण अवसर गुम्न सक्छ 

Next article