सम्पादकीय

‘अक्षम’को ठाउँमा अयोग्य !


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटि पछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीको जिम्मेवारी खोसेर कार्बाहीस्वरुप मन्त्रालय तान्नुभयो । परीक्षा व्यवस्थापनमा ‘अक्षम’ भनी रेग्मीलाई मन्त्रालय तानेपनि मन्त्री पोखरेलले रेग्मीको जिम्मेवारी आफ्नो जिम्मेवारी पूरा गर्न चुकेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई दिनुभएको छ । किनभने काप्री पनि पाठ्यक्रम प्रारुप निर्माण गरेर यसै वर्ष पाठ्यक्रम लागू गर्छु भनेर लागेका थिए । तर, असफल भए । यसै वर्ष पाठ्यक्रम बनाई नयाँ पाठ्यपुस्तक लागू गर्छु भनेर लोकलाई चकित पार्ने र पछि लुसुक्क हट्ने उनै काप्रीलाई शिक्षामन्त्री पोखरेलले पनिकाको जिम्मेवारी दिनुभएको हो ।

नतिजामा त्रुटि पछि गठित छानबिन समितिले एसइइ परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटि हुँदा विद्यार्थीको ग्रेडसिटमा परिवर्तन आएकोे ठहर गरेको अवस्था छ । अङ्कलाई ग्रेडमा बदल्दा त्रुटि भएको प्रतिवेदनमा जनाइएको बताइन्छ । ६ दिन लगाएर नतिजा प्रकाशनको प्रक्रिया केलाइएको प्रतिवेदनमा ‘मानवीय लापर्बाही नभई प्राविधिक कारणबाट त्रुटि हुन पुगेको’ जनाइएको छ । एउटा विषयमा ०.४ देखि ०.०५ सम्म ग्रेड फरक परेको छ । त्रुटिको प्रकृति ग्रेडसिटअनुसार छुट्टाछुट्टै खालको देखिन्छ । कुनै विद्यार्थीको एउटै विषयमा ०.४ ग्रेड अन्तर देखिन्छ भने कुनै विद्यार्थीको ८ वटै विषयमा ०.०५ का दरले ०.४ जीपीए फरक परेको छ । अधिकांश त्रुटि एउटै प्रकृतिको रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

छानबिन समितिले प्रतिवेदन बुझाउनासाथ शिक्षामन्त्री पोखरेलले रेग्मीलाई कार्बाही गरेर मन्त्रालय तान्नुभयो । तर, अन्य दोषीका बारेमा कार्बाही प्रक्रिया अगाडि बढेको छैन । परीक्षाजस्तो संवेदनशील विषयमा भएको लापार्बाहीको सत्यतथ्य छानबिन र कार्बाही हुन आवश्यक छ । एउटा कर्मचारीलाई मन्त्रालय सरुवा गर्दैमा कार्बाही भएको मान्न सकिँदैन । यसमा माथिल्ला निकायका कर्मचारीको पनि कमजोरी देखिन्छ । त्यसैले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै दोषीलाई कार्बाही गर्नु पर्छ । ताकि यस्ता कमजोरीहरु फेरि नदोहोरिउन् । शिक्षामन्त्री पोखरेलले पनिकामा अक्षम भनी रेग्मीलाई सरुवा गरेपछि त्यहाँको जिम्मेवारी पाठ्यक्रम मुद्दामा अक्षम घोषित भएका काप्रीलाई दिइएको छ ।

वास्तवमा परीक्षा जत्तिकै संवेदनशील विषय हो पाठ्यक्रम । प्रारुप बनाएर पाठ्यक्रम बनाई यसै वर्ष विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउने काप्रीको दाबी एकाएक मत्थर भयो । तर, एक महिनाभित्र पाठ्यक्रम र पुस्तक विद्यार्थीको हातमा पु¥याउने दाबी काप्रीको थियो, कतै अन्तै तयारी अवस्थामा राखिसकिएको पो थियो कि ? नत्र कसरी एक महिनाभित्र छाप्न सकिन्थ्यो र ! भन्ने प्रश्न पनि सरोकार पक्षले उठाएकै हुन् । यस विषयमा पनि शिक्षा मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गर्न आवश्यक छ । किन एक महिनामा पाठ्यक्रम र पुस्तक तयार हुन्छ भनेको, सरकारले नरोकेको भए त्यो त ल्याउने तयारी नै रहेछ ! त्यसो भए अहिले कहाँ छन् ती पाठ्यक्रम र पाठ्यपुस्तक ? यस विषयमा सरोकार र सरकार दुबैले चासो दिन आवश्यक छ ।

Facebook Comments

डा. अतुल गवण्डेः शैक्षिक व्यक्तित्वका पर्याय

Previous article

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

Next article