काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघको आसन्न चौंथो महाधिवेशनमा जगत तिमल्सिनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, तिमल्सिना समुहबाट राजेन्द्र गौतमले महासचिवमा उम्मेदवारी दिने भएका छन् । अन्य पदहरुमा भने छलफल गरेर उम्मेदवारी टुंग्याइने जनाईएको छ । संघको महाधिवेशन आगामी फागुन २० र २१ मा हुँदैछ ।
०७२ पौष १३ भित्रै हुनुपर्ने महाधिवेशन आन्तरिक विवाद र दलका नेताहरुको हस्तक्षेपका कारण यसअघि दुईपटक मिति घोषणा भएपनि हुन सकेको थिएन । तेस्रो पटकको तयारीपछि महाधिवेशन हुनलागेको हो । फागुन २० गते उद्घाटन र बन्द सत्र हुने साथै २१ गते नेतृत्वका लागि निर्वाचन हुने जनाइएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्ण सिटौला, दिलेन्द्र बडु लगायतको उपस्थिती रहने जनाईको छ ।
अध्यक्ष पदमा तिमल्सिना र प्रकाशसिंह प्रधानबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आफु अध्यक्ष बने प्राध्यापकसंघमा राजनीति भन्दा प्राज्ञिक र अनुसन्धानलाई अगाडी बढाउने तिमल्सिनाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आंगिक र अन्य सामुदायिक तथा निजी क्याम्पसहरुमा कार्यरत प्रध्यापकहरुबीचको विभेद अन्त्य गर्दै दलका नेताहरुको ढोका ढक्ढकाउने भन्दा प्रज्ञिक बहसमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले समयसापेक्ष विषयलाई विश्वविवद्यालयहरुमा प्रवेश गरएर विद्यार्थी संख्या बढाउन पहल गर्ने, गुणस्तरीय शिक्षासँगै अस्थायी र करार प्रकृतिका प्रध्यापकहरुको संरक्षण गर्ने, प्राज्ञिक बहस, छलफल, सेमिनारहरु गर्दै अनुसन्धानमुखी कार्यहरु अघि बढाउने, प्राध्यापकहरुको रोष्टर तयार पारेर हाम्रा भन्दा राम्रा प्राध्यापकहरुलाई अवसर दिन वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो ।
महासचिवका उम्मेदवार गौतमले प्राध्यापकसंघलाई राजनीतिक भन्दा पनि शुद्ध प्राज्ञिक थलोको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । २०६३ सालमा गठन भएको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाली कांग्रेसको सुभेच्छुक संगठन हो । संघको महाधिवेशनमा देशभरका विभिन्न विश्वद्यिालयका आंगिक, सम्बन्धन र निजी क्याम्पसहरुबाट १२४० प्रतिनिधिहरुको सहभागिता रहने छ । महाधिेशनले १४ पदाधिकारी सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।