विद्यालय शिक्षाको आधारभूत तहमा विद्यार्थीको भाषिक र गणितीय सीप निकै कमजोर रहेको र यसलाई बढाउन तीनवटै सरकार, शिक्षक तथा गैरसरकारी संस्थाहरु जवाफदेही भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा गत साता (वैशाख १२ गते) आयोजना गरेको ‘आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी सम्मेलन’मा यस्तो चिन्ता व्यक्त गरिएको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गराएको ‘नेसनल एसेस्मेन्ट फर रिडिङ एण्ड न्युमेरेसी’ (नार्रन २०२०) को प्रतिवेदन अनुसार कक्षा ३ का १०.२० प्रतिशत बालबालिकाले एकल शब्द पढ्न सक्दैनन् । पठनमा विद्यार्थीको औषत सिकाइ उपलब्धि ४३.५३ प्रतिशत रहेको छ । गणितमा औषत सिकाइ उपलब्धि ३७.२२ प्रतिशत मात्र रहेको छ । यस्तै, ८.४१ प्रतिशत विद्यार्थीले मात्र तहगत सक्षमता हासिल गर्न सकेका छन् ।
विद्यार्थीको राष्ट्रिय सिकाइ उपलब्धि (नासा) रिपोर्ट २०२० अनुसार कक्षा ८ का ३२.१ प्रतिशत गणितमा, ३७.७ प्रतिशत विज्ञानमा, ५८.८ प्रतिशत नेपालीमा र ५१.५ प्रतिशत अंग्रेजीमा उत्तीर्ण छन् । जसले आधारभूत सक्षमता तह मात्र पार गरेका छन् । जहाँ ६७.९ प्रतिशत गणित, ६२.३ विज्ञान, ४१.२ प्रतिशत नेपाली र ४८.५ अंग्रेजीमा आधारभूत सक्षमताको तहभन्दा तल रहेका छन् ।
आधारभूत तहका गणितमा ५९ प्रतिशत, विज्ञानमा ६३ प्रतिशत, नेपालीमा ३७ प्रतिशत र अंग्रेजीमा ५१ प्रतिशत विद्यार्थी आधारभूत सक्षमताभन्दा कमजोर छन् । थोरै संख्यामा मात्र विद्यार्थीले उच्चस्तरको सिकाइ उपलब्धि हासिल गरेको देखिन्छ ।
सम्मेलनमा तथ्याङ्क प्रस्तुतिपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘यो निकै चिन्ताजनक स्थिति हो । पहिलो त विद्यालयमा विद्यार्थीलाई टिकाउनु पर्नेछ । तर, टिकेका विद्यार्थीको सिकाइ बढाउनुपर्ने अर्काे चुनौती छ ।’ उनले थपे, ‘यहाँ त विडम्बना यो छ कि सिकाइ बढाउन तालिममा जाने शिक्षक नै तालिमभर टिक्दैनन् ।’ उनले सिकाइ सीपसम्बन्धी तालिम र कार्यक्रम गैरसरकारी संघ–संस्थाले गरुञ्जेल चर्चामा हुने तर परियोजना अन्त्यसँगै सकिने अवस्था हुन नहुने बताए । मन्त्री भण्डारीले प्रदेशको १० वर्षे शिक्षा योजना निर्माण अन्तिम चरणमा रहेको र त्यसमा विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप बढाउने कार्यक्रम पनि समावेश गर्ने बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले संघ सरकारबाट स्रोत विनियोजन गरेपनि स्पष्ट रिपोर्टिङ नहुने गरेको गुनासो गरे । उनले तीनै तहका सरकारबीच रिपोर्टिङ संयन्त्र बन्यो भने विद्यार्थीको सिकाइ उपलब्धिका लागि गरिएको लगानीको औचित्य थाहा हुने धारणा राखे ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जहारलाल हमालले संस्थाहरुले सिकाइसम्बन्धी परियोजना एक्लो तरिकाले सीमित ठाउँमा चलाउँदा समग्र प्रदेशमा उपलब्धि हासिल हुन नसक्ने औंल्याए ।
विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले भाषिक पक्षमा कुरा गर्दा विद्यालयहरुमा बढ्दो अंग्रेजी मोहका कारण बालबालिकाले गणितका अंकहरुलाई नेपाली भाषामा भन्न नसकिरहेको औंल्याए । उनले भने, ‘हाम्रा बालबालिकालाई सतासी, अठ्ठासी र उनासीमा कुन ठूलो भनेर सोधियो भने उनासी भन्ने उत्तर आउँछ, यो निकै चिन्ताजनक कुरा हो ।’ 
सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका अधिकृत नवीन खड्का र शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्राविधिक अधिकृत नरेन्द्रबहादुर बोगटीले विद्यार्थीको सिकाइ अवस्था तथा व्यवस्थाबारे प्रस्तुति गरेका थिए ।
आधारभूत भाषिक तथा गणितीय सीपका सम्बन्धमा बहस कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो बहस कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका कर्णाली प्रदेश अध्यक्ष निमबहादुर केसी, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्का र चौकुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्रबहादुर बुढा सहभागी थिए । उनीहरुले आधारभूत तहको भाषिक र गणितीय सीपलाई जीवनोपयोगी बनाउन आ–आफ्नो तहबाट प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्ट्रिट चाइल्ड अफ नेपालका कन्ट्रि डाइरेक्टर क्षितिज बस्नेतले विद्यार्थी सिकाइ उपलब्धि बढाउन सरकार र गैरसरकारी संस्थाबीच हातेमालो हुनुपर्ने बताए ।
सम्मेलनमा स्ट्रिट चाइल्ड अफ नेपाल, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल नेपालद्वारा शिक्षासम्बन्धी आ-आफ्ना परियोजनाका अभ्यासबारे प्रस्तुति गरिएका थिए । स्ट्रिट चाइल्ड अफ नेपालले ‘टिचिङ एट राइट लेभल (टार्ल)’, सेभ द चिल्ड्रेनले ‘गृह विद्यालय’ र प्लान इन्टरनेसनल नेपालले ‘अभिभावक शिक्षा र घर–घरमा पढाइ कुना’सम्बन्धी परियोजनाबारे प्रस्तुति गरेका थिए ।
सम्मेलनलाई स्ट्रिट चाइल्ड अफ नेपाल, आसमान नेपाल र हेम्पेल फाउण्डेसनले प्राविधिक सहयोग गरेका थिए भने सेभ द चिल्डेन र प्लान इन्टरनेसनको सहकार्य थियो ।










