समाचार

४० लाख विद्यार्थी जोखिमपूर्ण भवनमा


काठमाडौं–नेपालमा महाभूकम्प गएको २२ महिना बितेको छ । भूकम्पले सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, दोलखालगायत १४ जिल्लाका करिव सात हजार विद्यालय भवन ध्वस्त बनायो । ध्वस्त बनाएको ठाउँमा त भूकम्पप्रतिरोधी पुनर्निर्माणका योजना बनिरहेकै छ तर अरु जिल्लाहरुमा भूकम्पीय धक्काले जोखिमपूर्ण बनाएको र तिनै भवनहरुमै विद्यार्थी पढिरहेकोप्रति भने कसको कति ध्यान पुगेको होला ?

यिनै विषयमा चिन्ता व्यक्त गर्दै बुधबार ललितपुरमा ‘विद्यालयमा बाल सुरक्षा’का विषयमाथि नीतिगत छलफल भयो । जहाँ शिक्षा विभागका उपनिर्देशक एवं विपद् व्यवस्थापन शाखा प्रमुख शिवराज उप्रेतीले एउटा अध्ययनलाई आधार बनाउँदै तथ्य प्रस्तुत गर्नुभयो । त्यो हो– अझै पनि नेपालका ४० लाख विद्यार्थी जोखिमपूर्ण भवनमा पढन् वाध्य छन् । ‘भिसिए’को अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको थियो । लुनिभा चाइल्ड कन्सर्न ग्रुपद्वारा आयोजित सो छलफलमा उप्रेतीले विद्यालय क्षेत्र विकास कार्यक्रममा पनि सुरक्षित विद्यालयको विस्तृत अवधारणा उल्लेख भएको चर्चा गर्दै यसमा सबै सरोकार पक्ष एकीकृत ढङ्गले परामर्शमा सक्रिय हुनुपर्ने बताउनुभयो । ‘सुरक्षित विद्यालय भनेर बुझ्दा यसको भौतिक हार्डवेयर पक्षलाई मात्र बुझ्ने गरिएको छ । तर, सफ्टवेयर अर्थात् विपद्बाट बच्ने र बचाउने जनचेतनात्मक पक्ष अझ महत्वपूर्ण छ,’ उपनिर्देशक उप्रेतीले भन्नुभयो, ‘मुख्यतः अन्तर्राष्ट्रिय मापन अनुसार सुरक्षित विद्यालय हुन तीनवटा पक्षलाई ख्याल गर्नै पर्छ । एउटा संरचागत, दोस्रो विद्यालयले गर्नुपर्ने व्यवस्थापकीय पाटो र तेस्रोचाहिँ दीर्घकालीन शैक्षिक कार्यक्रम ।’

कार्यक्रममा सुरक्षित विद्यालयबारे तीनवटा कार्यपत्र प्रस्तुत गरिए । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरि लम्सालले सुरक्षित विद्यालयका विषयमा विद्यमान नीति, अवस्था र अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै, बालअधिकारकर्मी गौरी प्रधानले बालअधिकारका दृष्टिमा सुरक्षित विद्यालयको अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो । लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले विद्यालयमा बाल सुरक्षाको अवस्थाबारे तथ्यहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सुरक्षित विद्यालयका लागि प्राकृतिक विपत्तिबाट जोगाउनुका साथै सामाजिक रुपमा हुने भेदभाव, स्कूलभित्र हुने दण्ड–सजाय, बुलिङ्ग, दुव्र्यवहार आदिबाट पनि बालबालिका बचाउन राज्यको नीतिगत पक्ष स्पष्ट हुनुपर्नेमा जोड दिइएको थियो । त्यसका लागि विद्यार्थीलाई मनोसामाजिक उपचार र शिक्षकमा सचेतना दिन जरुरी भएको छलफलका सहभागीहरुले सुझाए ।

वक्ताहरु केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, फिन चर्च एडका राष्ट्रिय निर्देशक लिला बस्याललगायतले सुरक्षित विद्यालयका विषयमा सुझाव दिनुभएको थियो ।

Facebook Comments

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक

Previous article

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने

Next article