समाचार

‘शिक्षक अस्पताल बनाउने तयारी’


काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षकहरुको लागि छुट्टै ‘शिक्षक अस्पताल’ बनाउने तयारी शुरु गरेको छ । यस अघि सेना, प्रहरी र निजामती कर्मचारीको छुट्टै अस्पताल भएपनि शिक्षकको भने थिएन । नेपाल शिक्षक महासंघले निरन्तर शिक्षक अस्पताल बनाउन दबाब दिँदै आएको थियो ।

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बनाउनेबारेमा ‘तयारी भइरहेको’ बताउनुभयो । निजामति अस्पताललाई नै शिक्षकको पनि अस्पताल बनाउने कि छुट्टै शिक्षकको लागि मात्रै अस्पताल बनाउने भन्नेमा मन्त्रालयले छलफल गरिरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले चितवन जुटपानीमा रहेको पूर्व माओवादी लडाकुको शिविरलाई शिक्षक अस्पताल बनाउन सकिने भन्नेमा छलफल चलिरहेको तर निर्णय भइनसकेको बताउनुभयो ।

उहाँले निजामती कर्मचारी र प्रहरी, सेनाको अस्पताल भएकाले शिक्षकको पनि अस्पताल माग गरिनु जायज भएकाले कस्तो बनाउने कहाँ बनाउने, कसले स्वामित्व लिने आदिका बारेमा छलफल भइरहेको छ भन्नुभयो ।

शिक्षक अस्पताल बनाउनेबारे आफूले प्रधानमन्त्री, अर्थमन्त्री, स्थानीय विकासमन्त्री र स्वास्थ्यमन्त्रीसँग छलफल गरिरहेको समेत मन्त्री पौडेलले जानकारी दिनुभयो । ’शिक्षक अस्पताल बनाउने भन्नेमा मन्त्रालय सकारात्मक छ र तयारी पनि गर्दैछ,’ उहाँले भन्नुभयो, ‘हामी कस्तो मोडलको बनाउने, कहाँ बनाउने भन्नेबारे छलफल गर्दैछौं ।’

शिक्षक अस्पतालको काम छिटो टुंग्याउनसमेत मन्त्रालय लागिरहेको मन्त्री पौडेलले दाबी गर्नुभयो । ‘अन्य अस्पतालसँग सहकार्य गरेर जानपनि सकिन्छ, छुट्टै बनाउन पनि सकिन्छ,’ उहाँले भन्नुभयो, ‘कहाँ–कहाँ बनाउने रे एउटै बनाउने कि धेरै भन्नेमा छलफल भइरहेको छ ।’

Facebook Comments

कक्षा ११ र १२ को परीक्षा सर्ने

Previous article

युएण्टोले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने

Next article