समाचार

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा


काठमाडौं–शिक्षा मन्त्रालयले गत ३० वैशाखदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको छ ।

मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले हालै जिल्लान्तर सरुवाको फुकुवा गरेको हो । मन्त्रालयको निर्णयसँगै शिक्षा विभागले पनि गत यही ८ फागुनमा सबै क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुमा जिल्लान्तर सरुवाको फुकुवा गरिएको जानकारी पठाइसकेको छ ।

शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण शिक्षकहरुको पदस्थापनाका लागि असर पर्ने भन्दै जिल्लान्तर सरुवा रोकिएको थियो । शिक्षकको पदस्थापनाको काम सकिएपछि जिल्लान्तर सरुवा फुकुवा गरिएको हो । शिक्षा विभागका निर्देशक अणप्रसाद न्यौपानेद्वारा पाँचै विकास क्षेत्र र जिल्ला शिक्षा कार्यालयहरुलाई पठाएको निर्देशन पत्रमा विभिन्न जिल्लाहरुले ऐन र नियमावली अनुसार शिक्षकहरुको जिल्लान्तर सरुवा गर्न सकिने÷नसकिने भन्नेबारे निर्देशन माग भएकाले मन्त्रालयबाट रोक्का जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाइएको छ ।

शिक्षा विभागले जिल्लान्तर सरुवा रोकेपछि धेरै शिक्षकहरु जिल्लान्तर सरुवा हुनबाट बञ्चित भएका थिए । अब भने उनीहरुलाई जिल्लान्तर सरुण्वाको बाटो खुलेको छ । ‘शिक्षक सेवा आयोगको विज्ञापनमा समावेश पदमा पदास्थापन कार्यलाई कुनै असर नपर्ने तथा निकट भविष्यमा गरिने दरबन्दी मिलान कार्यलाई प्रभावित नगर्नेगरी शिक्षा ऐन र नियमावलीले तोकेका तह, कक्षा र विषयगत शिक्षक विद्यार्थी अनुपातमा कुनै असर नपर्नेगरी विद्यालयमा रिक्त रहेका दरबन्दीमा शिक्षा ऐन र नियमावली अनुरुप जिल्लान्तर सरुवा गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ निर्देशन पत्रमा भनिएको छ ।

यो फुकुवा पछि शिक्षा ऐनको संशोधित प्रावधानअनुसार जिल्ला शिक्षा कार्यालयले आवश्यकता देखेमा देशका जुनसुकै ठाउँका विद्यालयमा पनि शिक्षक सरुवा गर्न पनि बाटो खुलेको छ ।

Facebook Comments

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने

Previous article

कक्षा ११ र १२ को परीक्षा सर्ने

Next article