अञ्जन यादवलार्ई टोल–टोल पुग्न निकै हतारो हुने गर्छ । उहाँको हातमा एउटा डायरी कहिल्यै छुट्दैन । त्यसभित्र बालबालिकालाई सिकाउन टिपिएका टिपोट छन् । उहाँ बालबालिकालाई ‘घर भेट’ गर्न टोलमै पुग्नुहुन्छ अनि उनीहरुलाई स्कूलले दिएको गृहकार्यमा परेका अफ्ठ्यारोमा सघाउनुहुन्छ । ‘विद्यालयले गृहकार्य दिएको छ/छैन त्यो हेर्छु,’ अञ्जनले आफ्नो कामको फेहरिस्त लगाउनुभयो ।
धनुषाको चारनाथ गणेशमान नगरपालिकास्थित महरा टोलमा अञ्जन एक वर्ष यता यसरी नै सक्रिय हुनुहुन्छ । यो दलित बस्ती हो । ‘निक शिक्षा दिअ’ परियोजनाबाट उहाँलाई यसरी खट्ने अवसर मिलेको हो । यो परियोजना शिक्षा पत्रकार समूह, आसमान नेपाल र प्याक नेपालले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् ।
टोलमा अञ्जनको नाम नै ‘होमवर्क मिस’ले परिचित छ । अञ्जनले कक्षा २, ३ र ४ का २० जना बालबालिकालाई सिकाउने गर्नुहुन्छ । खासगरी, अंग्रेजी, नेपाली र गणित विषयमा उहाँको सहयोग हुने गर्छ । ‘बालबच्चामा साँच्चै सुधार आएको छ,’ अञ्जनाले गृहकार्य सहजीकरणको परिणाम सुनाउनुभयो । हुन पनि, गृहकार्यमा सघाइएका बालबालिकाको सिकाइ उपलब्धि विद्यालयमा अब्बल रहेको उहाँको दाबी छ ।
बस्तीमा गएर बालबालिकाको गृहकार्यमा सघाउनु त छँदैछ, उहाँले अर्काे महत्वपूर्ण काम पनि गर्नुभएको रहेछ । त्यो हो–दलित बस्तीका बालबालिकालाई विद्यालयमा भित्र्याउनु । ‘मैले मात्र २२ जना बालबालिकालाई विद्यालय पठाउन सकेकी छु,’ अञ्जनले भन्नुभयो । यस टोलका बालबालिका नजिकै रहेको मावि बरमझियामा पढ्न जान्छन् ।
यसरी बालबालिकालाई सिकाउन टोल–टोलमा जाँदा शुरु–शुरुमा गाउँलेहरु राम्रो मान्दैनथिए । उहाँको अनुभव छ, ‘पहिला हाम्रो घरमा किन आउने भनेर मलाई प्रश्न गरिन्थ्यो । झर्काे–फर्काे हुन्थ्यो तर अहिले त सबैले बुझेका छन् ।’
गृहकार्यमा सहजकर्ता भएबापत् अञ्जनलाई पारिश्रमिकस्वरुप मासिक तीन हजार रुपैयाँ दिइने गरिएको छ । यति रकम कम भएन र ? भन्ने प्रश्नमा उहाँ मात्र मुस्कुराउनुभयो । पुनः सोद्धाचाहिँ भन्नुभयो, ‘निश्चय नै यो रकम कम नै हो, ५–६ हजार भइदिए हुन्थ्यो तर मैले स्वयंसेवी काम पनि गरिरहेकी छु भन्ने लाग्छ ।’