विद्यार्थी १ : उपचारात्मक कक्षा लिनाले पढ्ने बानीको विकास भएको छ । विद्यालय नियमित आउँछु ।
विद्यार्थी २ : अंग्रेजी शब्दहरु राम्ररी उच्चारण गर्न सकेको छु ।
विद्यार्थी ३ : रिमिडियल कक्षाले गणित, विज्ञान र अंग्रेजी विषयमा सहयोग पुगेको छ ।
विद्यार्थी ४ : प्यासेज पढ्न सक्ने भएको छु । मेरो ह्याण्डराइटिङ सुध्रियो ।
भावना जाजरकोट जिल्लाको शिवालय गाउँपालिका, स्यापीस्थित नेपाल राष्ट्रिय माविमा कक्षा ८ मा पढ्छिन् । उनीलगायत अन्य विद्यार्थीहरु रिमिडियल क्लास अर्थात् उपचारात्मक कक्षा पढ्नु अघिसम्म परीक्षामा निकै कमजोर थिए । कोभिड–१९ ले पारेको प्रभाव, गरिबीका कारण विद्यालयमा अनियमित उपस्थिति र पढ्ने पर्याप्त वातावरण नपाएको स्थितिमा उनीहरू थिए । यी विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था नगरी सुधार हुने नदेखिएपछि उनीहरुका लागि विद्यालयले रिमिडियल (उपचारात्मक) कक्षा सञ्चालन गर्ने निधो गर्यो । यस विद्याालयमा कक्षा ९ र १० का यस्ता ५० जना विद्यार्थीलाई अहिले रिमिडियल कक्षा दिइएको छ । यिनको पढाइ सुधार भए/नभएको मूल्याङ्कन गर्न विद्यालयले साप्ताहिक जाँच लिने गरेको प्रधानाध्यापक गोपालबहादुर पुन बताउँछन् ।
कतै क्याचअप क्लास त कतै रिमिडियल प्लस, कतै लर्निङ क्याप्सुलका नाममा थप कक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ बढाउनका निम्ति सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश र मधेश प्रदेशका पालिकाहरूमा यी कार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट र सुर्खेत, सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशको बाँके र मधेश प्रदेशका सप्तरी, सिरहा, रौतहट र महोत्तरीमा यस प्रकारका कार्यक्रम गरिएका छन् ।
जाजरकोटको शिवालय र कुशे गाउँपालिका र भेरी नगरपालिकामा सेभ द चिल्ड्रेनबाट उपचारात्मक कक्षामा पढाउने शिक्षकले पारिश्रमिक र विद्यार्थीले कपि–कलम पाउनेगरी विद्यालयलाई वार्षिक ६० हजार रुपैयाँभन्दा बढी सहयोग हुँदै आएको छ । यस्तै, सोती पालिकाका १६ विद्यालयका माध्यमिक तहका कक्षा ९ र १० का अति विपन्न १६० जना विद्यार्थीलाई वार्षिक रुपमा जनही १४ हजार ३७७ रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।
रिमिडियल कक्षा बढीमा दुई घण्टाको हुने गर्छ । विद्यालयहरूले प्रायः स्कूल समय सकिएपछि यो कक्षा सञ्चालन गर्ने गरेका छन् । त्यसो त, कक्षाभित्रै रिमिडियल क्लास दिने गरिएको छ । विद्यार्थीको जीवनोपयोगी सीपसँगै लेखाइ, सुनाइ र वर्णविन्यासका आधारमा पढ्ने तरिका सिकाइन्छ ।
विद्यार्थीको स्तर, क्षमता र रुचिका आधारमा सिकाउने गरिन्छ । रिमिडियल क्लासका निम्ति विषयगत शिक्षकलाई चार दिनको सिकाइ सहजीकरण तालिमसमेत सेझ द चिल्ड्रेनले उपलब्ध गराएको छ ।
विद्यालयमा विद्यार्थीको संख्या सन्तोषजनक रहेपनि सिकाइ उपलब्धि बढाउनुपर्ने आवश्यकता शिक्षक–अभिभावकले ठानेका छन् । अंग्रेजी व्याकरण र विज्ञानका सामान्य ज्ञान पनि नजान्ने विद्यार्थी हुनुले रिमिडियल कक्षा आवश्यक रहेको उनीहरूको ठम्याई थियो । यसका निम्ति कमजोर विद्यार्थी पहिचान गरी तिनलाई उपचारात्मक कक्षा दिन शुरु गरिएको हो । विद्यालयले त्रैमासिक परीक्षा लिन्छ । परीक्षाबाट अनुत्तीर्ण विद्यार्थीलाई छानेर रिमिडियल कक्षा दिने गरिएको छ ।
रिमिडियल कक्षाको प्रभावकारिताका सम्बन्धमा गुराँस गाउँपालिका दैलेखमा शैक्षणिक स्रोतव्यक्ति पूर्णबहादुर महतरा भन्छन्, ‘उपचारात्मक कक्षा भन्नाले कमजोर सिकाइ भएका विद्यार्थीलाई थप पढाएर सहयोग गर्नु हो । शिक्षकले हरेक विद्यार्थीलाई उपचारात्मक सहयोगका लागि योजना बनाउनु पर्छ । पाठ्यक्रमले तोकेको ३ र ४ लेभलमा पुर्याउनै पर्छ ।’
कक्षा १–३ को एकीकृत पाठ्यक्रमअनुसार मूल्याङ्कनका लागि १ देखि ४ स्तर रेटिङ गरी विषयक्षेत्रअनुसार सिकाइ उपलब्धिमा अभिलेखीकरण गर्ने गरिन्छ । जसमा १ भन्नाले कमजोर, २ ले सामान्य, ३ ले राम्रो र ४ ले उच्च उपलब्धि हासिल गरेको भन्ने जनाउँछ । १ रेटिङमा पर्ने विद्यार्थी मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको अवस्थामा हुन्छ । उसलाई सबैजसो सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक पर्छ । यस्तै, २ रेटिङमा पर्ने विद्यार्थीले मुख्य सिकाइ उपलब्धि आंशिक रुपमा हासिल गरेका हुन्छन् । तर, उनीहरुलाई सुधारात्मक सिकाइसुधार आवश्यक रहन्छ । ३ रेटिङका विद्यार्थीले मुख्य सिकाइ उपलब्धि धेरैजसो हासिल गरेका हुन्छन् ।
उनीहरुलाई सुधारात्मक सिकाइ भने आवश्यक रहेको हुन्छ । ४ रेटिङमा रहेका विद्यार्थी मुख्य सिकाइ उपलब्धि हासिल गरेको अवस्था हुन्छन् । तिनीहरुको सिकाइ उपलब्धि माथिल्लो तहमा हुन्छ ।
शिक्षकले विद्यार्थीको वैयक्तिक विवरण (प्रोफाइल) तयार पार्नुपर्ने र के कारण त्यस्तो पढाइ कमजोर भयो भनेर पत्ता लगाउनुपर्ने हुन्छ । यस्तो विवरणलाई ‘उपचारात्मक कक्षा विद्यार्थी प्रोफाइल’ नाम दिइएको छ । जसमा विद्यार्थीको नाम, थर, उमेर, लिङ्ग, पढिरहेको विद्यालय, कक्षा, अघिल्लो परीक्षाको प्राप्ताङ्क, वर्तमान सिकाइ अवस्था, नेपाली अंग्रेजी र गणितमा १५/१५ दिनको प्राप्ताङ्क रेकर्ड, मासिक उपस्थिति समावेश गरिएको हुन्छ । यस्तै, गृहकार्य कक्षाकार्य तथा सिर्जनात्मक कार्यको रेकर्ड पनि प्रोफाइलमा समाविष्ट गरिन्छन् । साथै, शिक्षक तथा अभिभावकसँग विद्यार्थीबारे छलफल र विद्यालयलाई विद्यार्थीबारे दिइएको सुझाबको रेकर्ड पनि यसमा राख्ने गरिन्छ । वास्तवमा, प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइलहरू बन्नुपर्ने र कमजोर सिकाइ उपलब्धि भएका १ र २ लेवलमा रहेका विद्यार्थीलाई उपचारात्मक कक्षामार्फत् सघाउनुपर्ने स्रोतव्यक्ति महतराको भनाइ छ ।
रिमिडियल क्लासका लागि दूरीका आधारमा शारीरिक, पारिवारिक, आर्थिक र सिकाइमा पछाडि परेका विद्यार्थीलाई छानिने गरिएको छ । यी कारण ‘सिकाइमा संघर्ष गरिरहेका बालबालिका’लाई मद्दत गर्नु रिमिडियल प्लस कक्षाको उद्देश्य हो । विद्यार्थी छनौटका लागि विद्यालयले परीक्षालाई आधार बनाउने गर्छ । यो प्रक्रियामा विज्ञसम्मिलित समूहले निश्चित प्रश्नावली तयार पार्दछ । ती प्रश्नावलीमा शुरुमा विद्यार्थीहरूको ‘टेष्ट’ लिइन्छ । सोही टेष्टमा जो कमजोर देखिन्छन्, तिनलाई छानी उपचारात्मक कक्षा दिने निर्णय गरिन्छ । रिमिडियल कक्षा पढेपछि अन्तिममा फेरि जाँच लिइन्छ । त्यसमा विद्यार्थीमा के कति सुधार आयो भनी निष्कर्ष निकाली रिमिडियल कक्षा थप्नुपर्ने/नपर्ने निर्क्यौल निकालिन्छ ।
दैलेख जिल्लाको गुराँस गाउँपालिका चिसापानीस्थित बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम बिसि रिमिडियल क्लासले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन निकै मद्दत पुगेको सुनाउँछन् । रिमिडियल प्लस, लर्निङ क्याप्सुल र क्याच अप क्लास शुरु हुनुअघि सिकाइ उपलब्धि निकै तल थियो । बालकल्याण आधारभूत विद्यालयकै रिमिडियल कक्षा शिक्षक नरबहादुर रावत भन्छन्, ‘कमजोर विद्यार्थीको सिकाइ उपलब्धि शुरुमा शून्य नै थियो । अहिले त्यसबाट बढेर २५ प्रतिशतसम्म उपलब्धि पुगेको छ ।’
रिमिडियल क्लासमा शिक्षण सिकाइ गर्ने शिक्षकहरूलाई मासिक १० हजार रुपैयाँसम्म दिने गरिएको छ । उनीहरूलाई ४ दिन तालिमसमेत दिइएको छ ।
‘सिकाइमा संघर्ष गरिरहेका विद्यार्थीलाई विशेष कक्षा दिन सकिन्छ कि भनेर रिमिडियल क्लास दिन थालिएको हो । विशेषगरी, कक्षा २–३ का नानीबाबुहरूलाई उनीहरूको सिकाइको सीमितताका आधारमा छनौट गर्छाैं,’ बालकल्याण आधारभूत विद्यालय गुराँसका प्रधानाध्यापक बिसि भन्छन्, ‘सिकाइमा पछि परेका भौगोलिक रुपमा विद्यालयदेखि टाढा रहेका, शारीरिक, पारिवारिक र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई रिमिडियल क्लासका लागि छान्ने विधि अपनाएका छौं ।’ उहाँको थप भनाइ छ, ‘हुन त, सिकाइमा संघर्ष गरिरहेका विद्यार्थीलाई परियोजना शुरु हुनुभन्दा अगाडि पनि हामीले खाली पिरियडमा सघाउने गर्थ्यौं। तर, परियोजना सञ्चालन हुन थालेपछि पाठ्यक्रमले तोकेको सिकाइ सक्षमतालाई आधार बनाई विद्यार्थी पहिचान गर्ने काम गर्न थालियो । साप्ताहिक रुपमा लिने गरिएको परीक्षामा लेखाइ, सुनाइ र उच्चारणमा सबभन्दा कमजोर विद्यार्थी को छ भनी पहिचान गर्यौं । सिकाइएको कुरा उनीहरूले कसरी लिन सक्छन् ? भनेर मूल्याङ्कन गर्ने गर्छाैं ।’
सेभ द चिल्ड्रेन/सोसेक नेपालले विद्यार्थी र शिक्षकलाई शैक्षिक सामग्री उपलब्ध गराइदिए । शिक्षकलाई ज्ञान र तालिम प्राप्त भयो । बीचमा ३ महिने सेसन चलाउनुपर्दा अलि ‘ग्याप’ देखिएको शिक्षकहरूको अनुभव छ । यसले गर्दा विद्यार्थीलाई सिकाउन थाल्दा जुन अवस्था थियो, अर्काे सेसन शुरु गर्नुपर्दा जस्ताको तस्तै देखिने अवस्था आयो । त्यसपछि समयको ‘ग्याप’ नराखी रिमिडियल कक्षा सञ्चालनमा महिनैपच्छिे निरन्तरता दिनुपर्ने आग्रह शिक्षकहरूले गरे । सो आग्रह मान्दै रिमिडियल क्लासलाई दुई महिना नियमित गर्न थालेपछि विद्यार्थीको सिकाइमा पनि उपलब्धि देखिन थाल्यो ।
रिमिडियल क्लास एकदमै प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जाजरकोटका छेडागाड नगरपालिका, कुशे र शिवालय गाउँपालिका तथा दैलेखका गुराँस गाउँपालिकाका विद्यालयहरूको माग छ ।
‘केही अघिसम्म साझेदार संस्थाको सहयोगमा रिमिडियल कक्षा सञ्चालन छहुँदै थिए, अब गाउँपालिकाले यो कार्य गर्नु पर्छ । यसको दीगोपनाका लागि अझै पनि गाउँपालिकाले समन्वय गरिदिएर अरु स्रोत जुटाइदिए हुन्थ्यो,’ बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक जिसिले सुनाए, ‘रिमिडियल क्लासलाई निरन्तरता दिन अहिले पढाइरहेकालाई नै पुनरावृत्ति गरिदिए पुग्थ्यो । अभिभावकसँग सल्लाह गरेर भएपनि पालिकाले यसलाई अघि बढाओस् । अब आर्थिक सहयोग गरिदिनका लागि गाउँपालिकालाई सहयोग गर्न हामी विद्यालयका तर्फबाट अनुरोध गर्छाैं ।’
सुधारात्मक कक्षा सञ्चालन पछि बालबालिकाको सिकाइमा सुधार भएको देखिन्छ । सेभ द चिल्ड्रेनले बाँके, सुर्खेत, दैलेख तथा अछाममा सञ्चालित पावर परियोजनाअन्तर्गत कार्य गर्ने २८ वटा विद्यालयका कक्षा ९ र १० का सिकाइमा कमजोर बालबालिकाको लागि सुधारात्मक कक्षा सञ्चालन गरेको थियो । कक्षा सञ्चालन गर्नु अघि र पछि परीक्षा लिनैपर्ने व्यवस्था गरिएको छ । दुबै परीक्षामा एउटै परीक्षा साधन प्रयोग गरिन्छ । परीक्षाको नतिजाअनुसार प्रि–टेस्टभन्दा पोस्ट–टेस्टको प्राप्ताङ्क २५.४ अङ्कले बढेको देखिन्छ । कक्षा ९ र १० को अंग्रेजी, गणित र विज्ञान विषयको प्रि–टेस्टको औषत प्राप्ताङ्क ३२.८% बाट पोस्ट–टेस्टमा ५८.२% पुगेको हो जहाँ ५४८ जना विद्यार्थीहरू दुबै परीक्षामा संलग्न थिए । आधारभूत सर्वेक्षणमा न्यूनतम अङ्क प्राप्त गर्ने विद्यार्थीको संख्या क्रमशः न्यून हुँदै अधिकतम अङ्क प्राप्त गर्नेको संख्या उल्लेख्य रुपमा बढेको पाइन्छ । जुन तलको तालिकामा उल्लेख गरिएको छ ।
सेभ द चिल्ड्रेनले सन् २०२३ मा मात्र मधेशमा ८ हजार ३ सय ११ र कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा ३ हजार ४ सय ९ गरी कक्षा २ देखि १० सम्मका ११ हजार ७ सय २० जना विद्यार्थीलाई सुधारात्मक कक्षामार्फत् सिकाइमा सुधार गर्ने अवसर प्रदान गरेको छ ।
यस्तो पनि…
लामो विदा हुँदा जस्तै वर्खा र दशैं–तिहारको विदाका समयमा गुराँस गाउँपालिकाका विद्यालयहरूले घरमै पढ्नका लागि रुटिन बनाइदिने गर्छन् । शिक्षकहरूले सो रुटिन अभिभावकलाई भेटेर दिने गरेका छन् । अभिभावकहरूको कोठामा टाँस्न लगाई रुटिनबारे बुझाउने गरिन्छ । जसले गर्दा बालबालिकाहरू घरमा पनि पढाइमा व्यस्त हुने गर्छन् । विदाका कारण उनीहरूमा पढाइ ग्याप हुने नगरेको शिक्षकहरू बताउँछन् ।
औषत सिकाइ प्राप्ताङ्कमा ३१.१ प्रतिशत वृद्धि
स्रोत : सेभ द चिल्ड्रेन, २०२३
युएसएआइडीसँगको सहकार्यमा सेभ द चिल्ड्रेनले मधेश प्रदेशमा रौतहटका चार र महोत्तरीका पाँचवटा पालिकाहरूमा रिमिडियल प्लस कार्यक्रम लागू गरेरिएको थियो । यसमा कक्षा ६–८ सम्मका विद्यार्थीलाई नेपाली, गणित, विज्ञान र अंग्रेजी सिकाइमा सुधार ल्याउने उद्देश्य राखिएको थियो ।
यो परियोजनाअन्तर्गत रिमिडियल क्लास, शैक्षिक तथा वर्षरी सपोर्ट (Bursary Support), जीवनोपयोगी सीप, मनोसामाजिक परामर्श र अभिभावक शिक्षा/घरमै विद्यालय जस्ता कार्यक्रमहरू हुँदै आएका छन् ।
सन् २०२१ फेब्रुअरीदेखि २०२२ मेसम्म महोत्तरीमा ४८ र रौतहटमा ३५ विद्यालयका ७ हजार ८०० बालबालिका यस रिमिडियल प्लस कार्यक्रमबाट लाभान्वित भएका छन् । उनीहरूमा चारवटै विषयमा उल्लेखनीय सुधार भएको पाइएको छ । आधार सर्वेक्षणमा विद्यार्थीको १९.८ प्रतिशत औषत प्राप्ताङ्क थियो भने अन्तिम मूल्याङ्कन सर्वेक्षणमा ५०.९ प्रतिशत पुगेको थियो ।
लर्निङ क्याप्सुलले निको पारेको सिकाइ समस्या !
विद्यार्थीलाई लर्निङ क्याप्सुल अर्थात् ‘सिकाइ घुँटी’ मधेशमा प्रभावकारी देखिएको छ । कोभिड, बाढी वा कुनै राजनीतिक कारण विद्यालय बन्द हुन गई सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीहरूलाई लर्निङ क्याप्सुल क्लास दिइन्छ । सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहकार्यमा यो कार्यक्रमअन्तर्गत ९० दिनसम्म कक्षा सञ्चालन हुँदै आएको छ ।
कोभिड–१९ का कारण विद्यालयहरू लामो समय बन्द भए । यसले सिकाइ क्षति धेरै नै भयो । खासगरी, आधारभूत तहका तीन कक्षासम्म गरिने विद्यार्थीहरूको उदार कक्षोन्नतिका कारण छात्रछात्राको कक्षागत सिकाइ उपलब्धि निकै न्यून देखियो । एकातिर न्यून उपलब्धिसहित कक्षोन्नति हुने अर्कातिर पढिरहेको कक्षाको क्याचअप गर्न नसक्ने समस्याले सिकाइमै अरुचि हुने र विद्यालयमा नियमितता नहुने समस्यामा बालबालिका थिए । विद्यार्थीलाई यो समस्याबाट पार लगाउन ‘लर्निंङ क्याप्सुल’को अवधारणा लागू गरियो ।
यसका लागि मधेशका दुई पालिकाहरू छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाका ३५ विद्यालयमा परियोजनाले काम गरेको थियो । जसमा १०६ शिक्षकलाई तालिम दिई जम्मा १,५१० विद्यार्थीलाई प्रतिविषय ३० सेसनको दरले ९० सेसन कार्यक्रममा समावेश गरियो । यसखाले कक्षामा अंग्रेजी, नेपाली र गणित तीनवटा विषय समेटिएका छन् । विद्यार्थीहरूलाई अक्षरमा, शब्दमा र वाक्यमा बुझ्नेगरी तीन वर्गमा वर्गीकरण गरिन्छ । २ घण्टाको शत्र विद्यालयको ‘अफ–आवर’मा सञ्चालन गरिँदै आएको छ । जसमा विद्यार्थीकेन्द्रित गतिविधिहरूमा मुख्य ध्यान केन्द्रित गर्ने गरिन्छ ।
यी दुई पालिका, छिन्नमस्ता र विष्णुपुरमा विद्यालयका लागि मुख्य चुनौती भनेकै विद्यार्थीको अनुपस्थिति थियो । उपस्थित भएपनि अनियमित हुने समस्या थियो । परियोजना लागू भएपछि परिवर्तन देखियो । समुदायको चेतना बढाई अभिभावकसँग नियमित भेटघाट गरी विद्यार्थीलाई म्याजिक ब्याग वितरण गर्ने, उनीहरूको नियमितताका लागि अभिभावक छलफल तथा उपहार दिने जस्ता विभिन्न रणनीतिक कार्यक्रम ल्याइएकाले यो समस्या कम हुँदै गयो । विद्यार्थी विद्यालय नियमित जान थाले । पहिले १५–२० जना मात्रै विद्यार्थी नियमित जाने गर्थे । अहिले ५०–५५ जना उपस्थित हुने गर्छन् । कक्षा २ मा ५६ जना विद्यार्थी छन् र तीमध्ये करिव ५० जना नियमित आउँछन् । विद्यालय निरन्तर जानाले विद्यार्थीमा पढ्ने बानी विकास भएको छ । परियोजनामार्फत्, विद्यार्थीहरूको सिकाइस्तर बढ्यो । जसले नियमित कक्षाको ‘क्याचअप’का लागि पनि सहयोग पुर्यायो । विद्यार्थीहरू जिज्ञासासाथ कक्षामा पनि शिक्षकहरूलाई गृहकार्य/असाइनमेन्ट दिनोस् भन्ने गर्छन् । जनता मावि इटहरी विष्णुपुर सप्तरीका विद्यार्थीहरूले आफूलाई लर्निङ क्याप्सुल सिकाइले निकै मद्दत पुगेको बताए ।
कक्षा २ का विद्यार्थी समीर भन्छन्, ‘मैले लर्निङ क्याप्सुल कक्षा थाल्नुअघि नबुझेको अआइई, ककाकिकी अहिले राम्ररी सिक्न सकेको छु । हामीलाई सिक्न सजिलो भएको छ । किनकि सर/म्यामहरूले कक्षामा सिकाइ सामग्रीहरू देखाएर पढाउने गर्नुहुन्छ ।’ कक्षा ३ का सुमरण अनुभव सुनाउँछन्, ‘मैले अङ्क त चिन्थेँ तर हिसाब गर्न आउँदैनथ्यो । लर्निङ क्याप्सुलले गर्दा मैले जोड, घटाऊ, गुणन र भाग पनि गर्न सिकेँ ।’
कक्षा ३ कै अर्की विद्यार्थी प्रियंका भन्छिन्, ‘मैले अहिले नेपाली पढ्न सिकेँ । लर्निङ क्याप्सुल कक्षा लिनुभन्दा अघिसम्म अक्षरहरू राम्ररी पनि चिन्दिनथेँ । अहिले मैले १२ सम्मको गुणन तालिका पनि सिकेकी छु । अहिले त जोड, घटाऊ, गुणन र भागसमेत गर्न सक्छु ।’
सोही विद्यालयकी शिक्षक परमेश्वरी साह तहगत क्षमता हासिल गर्न जे सिक्नुपर्ने थियो त्यो सिकाउन नसकिएको तर लर्निङ क्याप्सुल कक्षाले ठूलो परिवर्तन आएको बताउँछिन् । सामान्य कक्षा ४५ मिनेटको हुने गरेको छ । लर्निङ क्याप्सुल शत्र भने २ घण्टाको हुन्छ । कक्षामा प्रभावकारी शिक्षण सिकाइ र क्रियाकलापका लागि यो पर्याप्त समय हो । शाह भन्छिन्, ‘वर्ड कार्डहरू र चित्र कार्डहरू बनाएर देखाउँदा विद्यार्थीको बुझाइ पनि राम्रो भयो ।’
परियोजना शुरु हुनुअघि विद्यार्थी प्रायः अनियमित हुने गर्थे । त्यसबेला प्रभावकारी शिक्षणका लागि कुनै शिक्षण सामग्री थिएनन् । तर, अहिले शिक्षण–सिकाइ सामग्री पनि उपलब्ध गराइएको छ । बालबालिकाको सिकाइका विषयमा नियमित रूपमा अभिभावक भेला हुने गर्छ । छोराछोरी विद्यालयमा नियमित भएमा कपि, पेन्सिल, कलर, कटर, कथाका पुस्तकलगायत पढ्ने सामग्रीसहितको झोला मात्र नभई उपहार नै पाइन्छ भन्ने अभिभावकलाई राम्ररी थाहा छ ।
‘राष्ट्रिय आधारभूत विद्यालय मझौउ विष्णुपुर सप्तरीका शिक्षक रमणकुमार मण्डल ग्रेडको स्तर पूरा गर्न र सिकाइस्तरलाई कायम राख्न लर्निङ क्याप्सुल अचुक समाधान नै भएको बताउँछन् ।‘यो परियोजनाले छोटो अवधिमा पनि अभिभावकहरूलाई मिहिनेतका साथ सक्रिय बनाएको छ । घरमा सिकाइ वातावरण नबन्नाले कक्षाकार्यले मात्र पर्याप्त हुने रहेनछ,’ उनी भन्छन्, ‘सेभ द सप्तरीको फिल्ड भ्रमणसँगै उनीहरूले अभिभावकसँग भेटघाट र अन्तर्क्रिया गरे । यसले गर्दा अभिभावकहरू धेरै सक्रिय भए । उनीहरूले आफ्ना बालबालिकाको सिकाइ र पढाइलेखाइमा चासो दिन थाले ।’
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको बरही वीरपुरस्थित आधारभूत विद्यालयको सेवाक्षेत्रमा विपन्न तथा दलित समुदाय बस्ने गर्छन् । विद्यार्थी विद्यालयबाट फर्किएपछि घरमा पढाइको वातावरण छैन ।
सोही विद्यालयका शिक्षक चुनचुन यादव भन्छन्, ‘मूल कुरा सिकाइ वातावरण व्यवस्थापनका लागि अभिभावकमा चेतना नहुनु नै यसको मुख्य कारण हो ।’ घरमा पढ्ने वातावरण नभएको अवस्थामा लर्निङ क्याप्सुलले विद्यार्थीको सिकाइ समस्यालाई साँच्चै निको पारेको उनको भनाइ छ ।
परियोजनामार्फत् कक्षा २–३ का विद्यार्थीहरूलाई उपचारात्मक कक्षा उपलब्ध गराउँदै आएकाले १, ४ र ५ का छात्रछात्राका लागि पनि अभिभावकहरूले यसको माग गरेका छन् । यो विषयमा विद्यालयले विद्यालय व्यवस्थापन समितिव्यस, वडा अध्यक्ष तथा पालिकाको शिक्षा शाखा प्रमुखसँग भेट गरेको थियो । वडा अध्यक्षले ती कक्षाका लागि बजेट विनियोजन गर्ने वचन दिएका छन् । यादवको बुझाइमा लर्निङ क्याप्सुल परियोजनालाई अझै केही वर्ष निरन्तरता दिने हो भने यसले मधेशको शिक्षा प्रणालीमा निकै सकारात्मक प्रभाव पार्नेछ ।
(प्रस्तुत रिपोर्ट सेभ द चिल्ड्रेनको सहयोगमा कर्णाली तथा मधेश प्रदेशमा शिक्षाका लागि गरिएका असल अभ्यासको दस्तावेजीकरण एवं वितरणसम्बन्धी हालै सम्पन्न अध्ययनका क्रममा प्राप्त तथ्य र प्रत्यक्ष रिपोर्टिङका आधारमा तयार पारिएको हो । –सं.)